विश्वकप २०१८: इंग्ल्याण्ड-बेल्जियमको खेल किन महत्त्वपूर्ण

  • 14 जुलाई 2018
इंग्ल्याण्ड र बेल्जियम तस्वीर कपीराइट AFP

रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिवार हुने प्रतियोगिता विभिन्न कारणले महत्त्वपूर्ण छ।

इङ्ग्ल्याण्ड र बेल्जियमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ।

'गोल्डेन बुट'को दौड

इंग्ल्याण्डका कप्तान ह्यारी केनले आफ्नो टोलीलाई सबैभन्दा धेरै गोलकर्ताले पाउने 'गोल्डेन बुट'को रुपमा सान्त्वना जित दिलाउन सक्ने सम्भावना जीवितै छ।

छ वटा खेलमा उनले छ गोल गरेका छन्।

उनको निकटतम प्रतिद्वन्द्वी बेल्जियमका रोमेलु लुकाकुले चार गोल गरेका छन्।

फ्रान्सका ग्रिजम्यान र एमबाप्पेले आइतवार हुने फाइनलमा कुनै अनौठो खेल देखाए भनेमात्रै केनलाई भेट्टाउन सक्छन्।

उनीहरू दुवै जनाले तीन/तीन गोल गरेका छन्।

राम्रो गर्ने मौका

सन् १९६६ मा उपाधि जित्नुबाहेक इंग्ल्याण्डले सबैभन्दा राम्रो प्रदर्शन गरेको विश्वकप भनेको सन् १९९० मा हो।

त्यतिबेला इंग्ल्याण्ड चौथो स्थानमा आएको थियो।

शनिवार हुने खेलबाट त्यो भन्दा उत्कृष्ट नतिजा ल्याउने मौका इंग्ल्याण्डले पाएको छ।

यस्तै बेल्जियमका लागि पनि इतिहास बनाउने मौका हो।

बेल्जियमको हालसम्मको उत्कृष्ट प्रदर्शन सन् १९८६ को विश्वकपमा थियो।

त्यतिबेला उसले चौथो स्थान हासिल गरेको थियो।

त्योभन्दा राम्रो गर्ने मौका पनि बेल्जियमलाई छ।

बदलाको मौका

समूह चरणमा बेल्जियम र इंग्ल्याण्डले खेलिसकेका छन्।

त्यतिबेला बेल्जियमले इंग्ल्याण्डलाई हराइसकेको छ।

बेल्जियमसँग बदला लिने र तेस्रो स्थानसँगै आफ्ना कप्तानलाई 'गोल्डेन बुट' दिलाउने मौका इंग्ल्याण्डलाई छ।