'सरकारी शर्तका कारण दोस्रो वार्ता पनि विफल'

  • 17 जुलाई 2018
डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै जुम्लामा प्रदर्शन गरिँदै
Image caption डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै जुम्लामा प्रदर्शन गरिँदै

सरकारले १८ दिनदेखि जुम्लामा अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई काठमाण्डू ल्याउनु पर्ने शर्त राखेपछि उनका प्रतिनिधि र सरकारी टोलीबीच मङ्गलवार भएको दोस्रो वार्ता पनि असफल भएको छ।

चिकित्साशिक्षाको क्षेत्रमा सुधारको माग राखेर डा केसी पन्ध्रौँ पटक अनशनमा बसेका छन्।

सरकारले शिक्षासचिव खगराज बरालको नेतृत्वमा गठन गरेको वार्ता टोलीले सोमवार साँझ पहिलो वार्ता गरेको थियो।

केसीका प्रतिनिधिहरूका अनुसार सरकारी टोलीले पहिले केसीलाई जुम्लाबाट काठमाण्डू ल्याउनु पर्ने अडान राखेपछि वार्ता अघि बढ्न सकेन।

केसीका तर्फबाट सरकारी टोलीसँग वार्तामा सहभागी एक सदस्य अभिषेकराज सिंहले भने, "उहाँहरूले केसीलाई पहिला काठमाण्डू ल्याउनुपर्छ भन्ने तर विधेयकचाहिँ संसद्‌मा अगाडि बढाउने कुरा आएकाले वार्ता अगाडि बढ्न सकेन।"

अडान

केसीलाई सत्याग्रहीका रूपमा नभई सामान्य बिरामीका रूपमा मात्र व्यवहार गरेकाले समस्या देखिएको उनको तर्फबाट वार्तामा सहभागीहरूले बताए।

मुख्य विषय चिकित्साशिक्षा विधेयक नै भएकाले त्यसलाई संसद्‌बाट फिर्ता नगरी केसी काठमाण्डू नआउने उनीहरूको अडान छ।

सरकारी वार्ता टोलीका एक सदस्यले भने डा केसीका तर्फबाट वार्तामा सहभागी भएकाहरूलाई केसीले आधिकारिक रूपमा पत्र नदिएको र विधेयक फिर्ता गरिहाल्नुपर्छ भन्ने केसीको अडानले अप्ठेरो पारेको बताए।

तर उनले अनौपचारिक रूपमा केसीका प्रतिनिधिहरूसँग छलफल भइरहेको दाबी गरे।

माग

चिकित्साशिक्षा क्षेत्रमा सुधार हुनुपर्ने माग राख्दै पटकपटक अनशन बसिसकेका केसीले यसअघिको सरकारले ल्याएको चिकित्साशिक्षाको अध्यादेशबमोजिम नै विधेयक ल्याउनु पर्ने माग राख्दै आएका छन्।

उक्त पुरानो अध्यादेशमा सरकारी शिक्षण संस्थामा न्यूनतम छात्रवृत्ति सङ्ख्या ७५ प्रतिशत पुर्‍याउने र पूर्ण रूपमा अस्पताल सञ्चालन भएको तीन वर्षपछि मात्र एमबीबीएस पढाउन पाइनेलगायतका प्रावधान राखिएको भएपनि हाल संसद्‌मा दर्ता विधेयकमा भने त्यसलाई हटाइएको विज्ञहरू बताउँछन्।

काठमाण्डू उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने भन्ने प्रावधानलाई समेत हालको विधेयकमा हटाइएकाले त्यसले गुणस्तरीय चिकित्सा शिक्षा प्राप्त नहुने केसीको तर्क छ।

यसैबीच जुम्लामा अनशनरत केसीको स्वास्थ्यमा जटिलता थपिँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
डाक्टर गोविन्द केसीसँग

सम्बन्धित सामग्री

सम्बन्धित समाचार