कांग्रेस आन्दोलनमा, सरकारलाई 'सच्याउने उद्देश्य’

  • 17 जुलाई 2018
कांग्रेस नेता तस्वीर कपीराइट .

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई सच्याउने उद्देश्यले देशव्यापी सडक आन्दोलन घोषणा गरेको जनाएको छ।

कानुनी शासनको खिल्ली उडाउँदै केन्द्र र प्रदेश सरकार मनोमानी ढङ्गले अघि बढेको उसको आरोप छ।

कांग्रेस महामन्त्री डा शशांक कोइरालाको नाममा जारी विज्ञप्तिमा 'केन्द्र एवम् प्रदेश सरकारको अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध जिल्ला सदरमुकाममा प्रर्दशन गर्ने' उल्लेख छ।

कांग्रेसले सरकारमाथि आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारका निर्णय उल्ट्याएको र राज्यका विभिन्न अङ्गमा हस्तक्षेप गरेको भन्दै त्यसलाई आन्दोलनको आधारको रूपमा प्रस्तुत गरेको छ।

'लामो होइन'

संसद्‍ अवरोधमा समेत उत्रिएको कांग्रेसले चुनावअघि दुई वामपन्थी दलबीच एकीकरणको सहमति भएदेखि नै अधिनायकवादको खतरा औँल्याउँदै आएको थियो।

प्रधानमन्त्री केपी ओलीले छोटो समयभित्र सरकारविरुद्ध चौतर्फी आक्रमण सुरु भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

चुनावबाट सानो आकारको प्रमुख प्रतिपक्षमा खुम्चिएको कांग्रेसले करिब पाँच महिनाअघि गठन भएको दुईतिहाइ बहुमतको सरकारविरुद्ध सडकमा उत्रिने घोषणा गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, "कांग्रेस विधिवत् रूपमा राष्ट्रव्यापी लामो आन्दोलनमा जान लागेको होइन। तर घोषित आन्दोलनलाई ध्यानमा राख्दै सरकार सच्चिने भन्ने आशा छ।"

उसले आफ्ना भातृसङ्गठनलाई यसअघि नै सडक आन्दोलनमा उतारिसकेको छ।

तस्वीर कपीराइट RSS

दोहोरो असन्तुष्टि

कांग्रेस सभापति शेरबहादुर देउवाका अनुसार मङ्गलवार नै उनले प्रधानमन्त्री केपी ओलीलाई भेटेर 'आफ्नो सरकारले जारी गरेको चिकित्साशिक्षा अध्यादेशअनुरूप विधेयक नल्याए कांग्रेसको विरोधको सामना गर्नु पर्ने' चेतावनी दिएका छन्।

तर पार्टी कार्यकर्ताहरूसँगको कार्यक्रममा प्रधानमन्त्री ओलीले दोहोरो असन्तुष्टि प्रकट गर्दै भने, "हामीविरुद्ध सब एकजुट भएर जो जहाँ छन्, त्यहीँबाट आक्रमण सुरु भएको छ। तर यत्रो परिवर्तन र मत ल्याउन सक्ने पङ्क्तिमा कोही लेख्न सक्ने र बोल्न सक्ने मान्छे छ जस्तो नै लाग्दैन।"

सरकारका काम कारबाहीविरुद्ध भन्दै अन्य कतिपय दल र पेसागत समूहको विरोध प्रदर्शनतर्फ प्रधानमन्त्रीको सङ्केत थियो।

एक थरीका भनाइमा अपूर्व अवसर प्राप्त सरकारमा देखिएको दुईतिहाइ बहुमतको मातले नै विरोध निम्त्याएको हो।

तर अर्का थरीले त्यसलाई लामो राजनीतिक अस्थिरता अन्त्य गर्ने सम्भावना बोकेको सरकारलाई विफल तुल्याउने प्रयास ठान्ने गरेका छन्।