ब्रिटिश गोर्खा: नेपाली महिला भर्तीबारे बढ्दो चासो
ब्रिटिश गोर्खामा महिला?
नेपाली महिलाहरूलार्इ ब्रिटिश सेना भर्ना लिने खबर सार्वजनिक भएसँगै कतिपय युवतीहरूले त्यसप्रति चासो देखाउन थालेका छन्।
एघार वर्षअघि बेलायती सेनामा भर्ना लिने चर्चा चलेपछि धरान १५ की टिम्पल लिम्बूले भर्ना हुनका लागि तयारी तालिम गरिन्।
तालिमपछि उनी र उनका श्रीमान्ले धरानमा पुरुषहरूका लागि ब्रिटिश सेनामा भर्ती हुनका लागि तयारी शारीरिक अभ्यास तालिम केन्द्र खोलेका छन्।
महिलालार्इ भर्ती लिने खबर थाहा पाएका टिम्पलका चिनजानका युवतीहरूले फोन गरेर तालिमका लागि जानकारी लिइरहेका छन्।
सहभागी
आगामी सन् २०२० देखि महिलाहरू पनि ब्रिटिश सेनामा भर्ना हुन पाउने खबर सुनेर टिम्पललाई खुसी लागेको छ।
उनले भनिन्, "मेरो त उमेर गयो। यस्तो खालको अवसर छोरालार्इ मात्र दिने चलन छ। यो हटाउनु पर्छ। छोरीहरूले पनि यो अवसर पाएमा परिवारका लागि केही गर्ने मौका पाउँछन्।"
ब्रिटिश सेनामा महिलाहरूलार्इ पनि भर्ती लिने खबर ११ वर्षअघि पनि चलेको थियो।
यो खबरसँगै बेलायती सेनामा भर्नाका लागि शारीरिक अभ्यास तालिम प्रदेश एक अन्तर्गत पूर्वी पहाडी जिल्लाबाट करिब एक सय ५० भन्दा बढी महिलाहरूले एकै साथ धरानमा तालिम लिएको तालिममा सहभागी टिम्पल लिम्बूले बताइन्।
उनले भनिन्, "हामी महिलालार्इ पनि सेनामा भर्ती हुने अवसर आयो भन्दा खुसी लाग्यो। गर्दै गरेको नोकरी पनि छोडेर तालिम लिन आएँ। कमार्इ राम्रो हुने परिवार र आफ्नो भविष्य पनि सुरक्षित हुने आशाले सेना जाने निर्णय गरेको थिए।"
गाह्रो
तालिमका क्रममा महिलाहरूले सिट-अप, पुश-अप, दौडसँगै सैनिक शिक्षाको अभ्यास गरेको लिम्बूले बताइन्।
शारीरिक अभ्यास तालिम निकै कठिन भयो।
त्यसमध्ये पनि टिम्पललार्इ हीभिङ गर्न भने निकै गाह्रो भयो।
यस्तो कठिनाइ भोग्दा बेलायती गोर्खा सैनिकमा भर्ना हुनका लागि पुर्खाहरूले र केटाहरूले कति धेरै दु:ख गरेका रहेछन् भन्ने महसुस भएको टिम्पलले बताइन्।
यसरी शारीरिक अभ्यास गरिरहँदा उनीहरूलार्इ हेर्ने मानिसको भिड लाग्थ्यो।
टिम्पलले भनिन्,"केटीहरू पनि कुदेको हेर। ल, बुहारीहरू सबै लाहुरे हुने भए छोराहरूले को ल्याउने भन्दै बूढापाकाहरूले हामीहरूलार्इ जिस्क्याउँथे।"
छनोट
महिलाहरूले ब्रिटिश सेनामा भर्ना हुने चर्चा चलेसँगै तयारी पनि गरे।
तर उनीहरूलार्इ छनोट प्रक्रियामा समावेश गराइएन।
भर्ना नलिएपछि आफूसँगै तालिममा सहभागी सबै साथीहरू निराश भएको टिम्पलले बताइन्।
उनले भनिन्, "अभिभावकले छोरीहरूलार्इ बाहिर निस्कन हुँदैन। यस्तो तालिमहरू लिनुहुँदैन भन्ने चलन छ। त्यत्रो खर्च गरेर गएका थियौँ। कति दु:ख गरियो। पसिना धेरै बगाइयो तर पछि नलाने भनेको सुनेपछि धेरै रोएका थियौँ। त्यो सम्झँदा अझै पनि नराम्रो लाग्छ। रुन आउँछ।"
ब्रिटिश सेनामा भर्ती हुनका लागि धरानमा करिब ३० वटाभन्दा बढी पूर्वतयारी तालिमकेन्द्रहरू सञ्चालनमा छन्।
प्रदेश १ र पश्चिम नेपालका युवाहरू धरानमा तालिम लिन आउने तालिम केन्द्रहरूले जानकारी दिएका छन्।