जुम्ला: डा. गोविन्द केसीको अनशनस्थल वरपर तनाव

  • 19 जुलाई 2018
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

डाक्टर गोविन्द केसीको मागका विषयमा वार्ता गर्न बिहीवार जुम्ला पुगेको सरकारी टोली अस्पताल प्रवेश गर्ने क्रममा भएको झडपमा कैयौँ व्यक्ति घाइते भएको अधिकारीहरूले बताएका छन्।

सरकारी टोलीमा स्वास्थ्य सचिव खगराज बराल, स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनी, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही, आन्तरिक मामिला मन्त्री नरेश भण्डारीलगायतको टोली बिहान पौने १० बजे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको थियो।

बीस दिनदेखि अनशनरत डा. केसीसँग वार्ता गर्न उक्त टोली अस्पताल परिसर प्रवेश गर्ने क्रममा डाक्टर केसीका समर्थक र अन्य स्वास्थ्यकर्मीहरूले विरोध गरेका थिए।

वार्ताटोली जुम्ला पुगे पनि स्वास्थ्यकर्मी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र नागरिक समाजका अगुवाहरूले डाक्टर केसीलाई भेट्न दिएका थिएनन् ।

तनावपूर्ण

टोलीलाई बल प्रयोग गर्ने क्रममा सुरक्षाकर्मी र उनीहरूबीच झडप हुँदा विद्यार्थी र चिकित्सकहरू घाइते भएको बताइएको छ।

डाक्टर केसीको उपचारमा संलग्न रहेका एक चिकित्सक पनि घाइते भएर आकस्मिक कक्षमा भर्ना भएको बताइएको छ।

"अहिले पुरै अस्पतालको आकस्मिक कक्ष 'लाठीचार्ज'का क्रममा घाइते भएका बिरामीले भरिएको छ," जुम्लास्थित सम्वाददाता कृष्णमाया उपाध्यायले भनिन्, "अस्पतालभित्रै अश्रुग्यास प्रहार गरिएको छ। यहाँको मूलद्वार फुटेको छ।"

अस्पताल हाता तनावग्रस्त रहेको र बाहिर स्थानीयबासिन्दाद्वारा प्रदर्शन जारी रहेको पनि उनले बताइन्।

वार्ताका लागि गएको टोली भने तनावग्रस्त अवस्थाका माझ अस्पतालभित्र प्रवेश गरेको बताइएको छ।

स्थानीय प्रशासनले ठाउँ-ठाउँमा सुरक्षाकर्मी खटाएको छ।

यसैबीच डाक्टर केसीले अस्पतालमा क्षति पुगेको र समर्थकहरू घाइते भएको भन्दै दु:ख व्यक्त गरेका छन्।

चिकित्साशिक्षाको क्षेत्रमा सुधार र पहिले गरिएका सम्झौता कार्यान्वयन गरिनुपर्ने माग राख्दै केसी पन्ध्रौँ चोटि अनशनमा बसेका छन्।

उनले सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका प्रावधान नफेरी विधेयक ल्याउनुपर्ने लगायतका माग राखेका छन्।

सम्बन्धित सामग्री