लाठीचार्जपछि के भने डाक्टर केसीले?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

डा. गोविन्द केसी: म जान्छु तर सत्याग्रह जारी रहन्छ

  • 19 जुलाई 2018

बीस दिनदेखि अनशन बसेका डाक्टर गोविन्द केसीले सरकारले आफ्ना माग पूरा गर्नुको साटो आफूलाई अपहरण गरेर काठमाण्डू लैजान लागेको आरोप लगाएका छन्।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको क्षेत्रमा केसीका समर्थक र प्रहरीबीच झडप भएपछि तनाव बढेको थियो।

सात घण्टाको तनावपछि अस्पताल परिसरमा कर्फ्यु लगाएर डा. केसीलाई सेनाको ब्यारेकमा लगिएको थियो। त्यहाँबाट हेलिकप्टरमा राखेर उनलाई सुर्खेत हुँदै काठमाण्डूतर्फ लगिएको बताइएको छ।

त्यसअघि अस्पतालमा भएको उक्त घटनाबारे बीबीसीसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमाथि प्रहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

उनले आफू जुम्लामै बसिराखे थप अशान्ति हुने भन्दै भनेका थिए, "मैले जाने निर्णय गरेको छु। कसरी जाने, त्यो म आफैँ निर्णय गर्छु।"

आफू जाने तर आफ्नो सत्याग्रह भने माग पूरा नभएसम्म जारी रहने उनको भनाइ छ।

को आएका थिए उनलाई लैजान?

डाक्टर केसीले आफै काठमाण्डू जाने बताएका थिए।

तर अपराह्ण पौने चार बजेतिर उनको स्वास्थ्य अवस्था बुझ्न भनेर वार्ताटोलीका संयोजक शिक्षा सचिव खगराज बराल, स्वास्थ्य विभागका महानिर्देशक डाक्टर गुणराज लोहनी र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी सहितको स्थानीय प्रशासनको टोली गयो।

उनीहरूले नै डाक्टर केसीलाई बलपू्र्वक लगेका उनका पक्षधरले जनाएका छन्।

जिल्ला प्रशासन कार्यालयले भने डाक्टर केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर थप उपचारको लागि पठाइएको बताएको छ।

सात घण्टा तनाव

सो टोली बिहान पौने १० बजे हेलिकप्टर जुम्लामा आएको थियो।

तर झन्डै सात घण्टासम्म स्वास्थ्यकर्मी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी, नागरिक समाजका अगुवा र डाक्टर केसीको समर्थनमा आन्दोलित भएकाहरूले टोलीलाई अनशनमा बसेका केसीलाई भेट्न दिएका थिएनन्।

दिउँसो भएको झडपमा १० जना स्वास्थ्यकर्मीहरू घाइते भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ। प्रहरीका अनुसार एक प्रहरी जवान पनि गम्भीर घाइते भएका छन्।

डाक्टर केसी जुम्लाबाट गइसकेपछि शान्तिसुरक्षाको अवस्था सामान्य बन्दै गएको प्रहरी नायब उपरीक्षक तपन कुमार दाहालले जानकारी दिए।

सम्बन्धित सामग्री