नेपाल फर्केकी महिला भन्छिन्, 'साउदीमा १० वर्ष बन्धकजस्तै'

  • 20 जुलाई 2018
महिला तस्वीर कपीराइट Getty Images
Image caption प्रतीकात्मक तस्बिर

धेरै कमाउने आकाङ्क्षा लिएर मध्यनेपालकी फूलमाया (परिवर्तित नाम) १० वर्षअघि भारतको बाटो हुँदै साउदी अरब पुगिन्।

घरेलु कामदारको 'आकर्षक रोजगारी' का लागि ३३ वर्षको उमेरमा त्यहाँ पुगेकी फूलमाया नेपाल नफर्किएसम्म आफूले बन्धकको जस्तो कष्टपूर्ण जीवन बिताउनुपरेको बताउँछिन्।

वैदेशिक रोजगारीको नाममा महिलाहरू बेचिएका आधुनिक दासताका कथाहरू बारम्बार सार्वजनिक हुँदै आएका छन्।

वैदेशिक रोजगारीमा हुँदा चर्को श्रमशोषण र मानसिक उत्पीडन भोगेकी एउटी प्रतिनिधिपात्र फूलमायासँग बीबीसी सम्वाददाता शक्तिमाया तामाङले गरेको कुराकानीको सम्पादित अंश।

तपाईँ साउदीमा के काम गर्नुहुन्थ्यो?

काम त मैले लुगा धुने, खाना पकाउने, घर सफा गर्नेजस्ता थुप्रै गर्थेँ। नेपालबाट लैजाने बेलामा त्यति धेरै काम गर्नुपर्छ पनि भनिएको थिएन। तर त्यहाँ एक छिन पनि बस्न पाइँदैनथ्यो। तँलाई हामीले किनेको भन्थे। अर्काको देशमा जति काम गरेपनि जस पाइँदैनथ्यो।

जति गरे पनि रोएर बस्थेँ। नेपाल कहिले जाने होला भन्ने सोचेर बस्थेँ। त्यहाँ कुनै नेपाली दाजुभाइ, दिदीबहिनी पनि भेटिन्नथ्यो।

तपाईँ १० वर्षसम्म त्यहाँ बस्दा यहाँ घरपरिवार र आफन्तसँग कति सम्पर्कमा रहनुहुन्थ्यो?

मैले फोन गर्न पाउँदिनथेँ। उनीहरूलाई फोन गरिदेऊ भन्दा पनि नम्बर बिगारेर डायल गरिदिन्थे। चिठी लेखेर पठाउन खोज्दा पनि च्यातेर फ्याँकिदिन्थे। बुवा बित्दा पनि चिठी लेख्नका लागि मैले थुप्रै रोइकराइ गरेँ, तर दिएनन्।

उनीहरूले तपाईंलाई त्यहीं मात्र किन राखेका रहेछन्?

मलाई पाँच सय (रियाल) तलबमा काम लगाउन पाइने। अर्कोलाई ल्याउँदा धेरै अर्थात् झन्डै १५०० तिर्नुपर्ने, कम्पनीलाई छुट्टै तिर्नुपर्ने थियो। त्यही भएर मलाई नै काममा लदाए।

तपाईँ विदेशमै हुँदा नेपालमा भूकम्प समेत गएको थियो त्यो बेला तपाईंलाई कस्तो लागेको थियो?

'मेरो बच्चा त्यहाँ छ, त्यहाँ के भइसक्यो होला' भनेर मलाई पठाइदेऊ भन्दा पनि सुनेको नसुन्यै गरे। म रातदिन यति धेरै रोएँ कि घर आउँदा त दुब्ली भइसकेकी थिएँ।

तस्वीर कपीराइट Reuters

त्यहाँ कस्तो खालको खानेकुरा खानुहुन्थ्यो ?

बिहान र साँझ रोटी दिन्थे । दिउँसो एक बजेतिर खाना दिन्थे। कहिलेकाहीँ त्यसको पनि भर हुँदैनथ्यो। गाली मात्र गर्थे। अरूले बिगारेको कामको दोष समेत मलाई नै लगाउँथे।

तपाईँ त्यत्रो वर्ष विदेशमा बस्नुभयो नेपालमा परिवार, इष्टमित्र, चाडपर्वको सम्झना हुन्थ्यो होला। त्यसबेला के गर्नुहुन्थ्यो?

कति सम्झिइन्थ्यो नि आमाबुवा छोराछोरीलाई। फोन पनि गर्न नपाएपछि त देश फर्किन पाइयोस् भन्ने सोचेँ। त्यहाँ त दुखेसो सुनाउने मान्छे पनि भेटिनँ।

भाग्न खोज्नु भएन?

त्यस्तो नसोचेको त होइन। तर उनीहरू बाहिर जाँदा समेत ढोकामा ताला लगाएर जान्थे। म त बन्धक जस्ती भएँ।

नेपाल चाहिँ कसरी फर्किनुभयो?

मेरो पासपोर्टको म्याद सकिएपछि राजदूतावास आउनुपर्‍यो। त्यतिखेर मैले त्यहाँ रहेका नेपाली दाजुभाइहरूलाई पासपोर्ट बनाएर फर्केपछि म फेरि पनि देश फर्किन पाउँदिन भनेर बिन्ती गरेँ। उहाँहरूकै सहयोगले म नेपाल आउन पाएँ।

विदेशमा निकै दु:ख पाएर फर्किनुपर्‍यो। अब के गर्ने सोच्नुभएको छ?

केही तालिम लिएर आफ्नै पसल राखेर जीवन चलाउन पाए हुन्थ्यो भन्ने छ।

अझै पनि थुप्रै दिदीबहिनीहरू विदेश जान खोजिरहनु भएको छ के सल्लाह दिनुहुन्छ?

कम्पनीबारे सबैभन्दा बढी राम्ररी बुझेर जानुहोस्। नत्र यहाँबाट एउटा काम भनेर र त्यहाँ पुगेपछि अर्कोमा लगिदिन्छन्। घरको काममा लगाइदिए भने त सबैभन्दा गाह्रो हुन्छ।