लाठीचार्जपछि के भने डाक्टर केसीले?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जुम्लाबाट ल्याइएका डा. गोविन्द केसी शिक्षण अस्पतालमा

  • 19 जुलाई 2018

बीस दिनदेखि जुम्लामा अनशन बसेका डाक्टर गोविन्द केसीलाई सेनाको हेलिकप्टर प्रयोग गरी सुर्खेत हुँदै बिहीवार साँझ काठमाण्डू ल्याइएको छ।

उनलाई जुम्लाबाट ल्याउन सरकारी वार्ताटोली र कर्णाली प्रदेशका मुख्यमन्त्री सहितको टोली बिहान हेलिकप्टर लिएर जुम्ला पुगेको थियो।

उनको इच्छानुसार डाक्टर केसीलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ।

डाक्टर केसीलाई बलपूर्वक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लग्न खोजिएको भन्दै विद्यार्थी, स्थानीय बासिन्दा र उनका समर्थकहरूले विरोध गरेपछि तनाव बढेको थियो।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा दुवै पक्षबाट केही व्यक्तिहरू घाइते भएका थिए।

तनाव बढेपछि अस्पताल भएको क्षेत्रमा निषेधाज्ञा जारी गर्दै केसीलाई एम्बुलेन्समा राखेर बाहिर निकालिएको थियो।

'सत्याग्रह जारी रहन्छ'

आफूलाई अपहरणको शैलीमा लैजान लागिएको भन्दै डाक्टर केसीले जुम्लाबाट गए पनि आफ्नो 'सत्याग्रह' जारी रहने बताएका छन्।

तस्वीर कपीराइट RSS

अनशनका कारण उनको स्वास्थ्य अवस्था कमजोर भएको थियो। तर उनले उपचार गर्न मानेका थिएनन्।

डाक्टर केसीको स्वास्थ्य बिग्रेको विवरण प्राप्त भएकाले सरकारले अभिभावकको भूमिका निर्वाह गर्दै उनलाई जुम्लाबाट काठमाण्डू ल्याएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले दाबी गरेका छन्।

काठमाण्डू लगिनुअघि उनले अस्पतालमा भएको घटनाबारे टिप्पणी गर्दै शान्तिपूर्ण आन्दोलनमाथि प्रहार भएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए।

उनले आफू जुम्लामै बसिराखे थप अशान्ति हुने भन्दै भनेका थिए, "मैले जाने निर्णय गरेको छु। कसरी जाने, त्यो म आफैँ निर्णय गर्छु।"

आफू जाने तर आफ्नो सत्याग्रह भने माग पूरा नभएसम्म जारी रहने उनको भनाइ छ।

को आएका थिए उनलाई लैजान?

डाक्टर केसीले आफै काठमाण्डू जाने बताएका थिए।

तर अपराह्ण पौने चार बजेतिर उनको स्वास्थ्य अवस्था बुझ्न भनेर वार्ताटोलीका संयोजक शिक्षा सचिव खगराज बराल, स्वास्थ्य विभागका महानिर्देशक डाक्टर गुणराज लोहनी र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी सहितको स्थानीय प्रशासनको टोली गयो।

उनीहरूले नै डाक्टर केसीलाई लगिएको बताइन्छ।

जिल्ला प्रशासन कार्यालयले भने डाक्टर केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर थप उपचारको लागि पठाइएको बताएको छ।

सात घण्टा तनाव

सो टोली बिहान पौने १० बजे हेलिकप्टर जुम्लामा आएको थियो।

तर झन्डै सात घण्टासम्म स्वास्थ्यकर्मी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी, नागरिक समाजका अगुवा र डाक्टर केसीको समर्थनमा आन्दोलित भएकाहरूले टोलीलाई अनशनमा बसेका केसीलाई भेट्न दिएका थिएनन्।

दिउँसो भएको झडपमा १० जना स्वास्थ्यकर्मीहरू घाइते भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ। प्रहरीका अनुसार एक प्रहरी जवान पनि गम्भीर घाइते भएका छन्।

डाक्टर केसी जुम्लाबाट गइसकेपछि शान्तिसुरक्षाको अवस्था सामान्य बन्दै गएको प्रहरी नायब उपरीक्षक तपन कुमार दाहालले जानकारी दिए।

सम्बन्धित सामग्री