यसरी चीन र कोरियामा बेचिन्छन् 'नेपाली दुलही'

  • 20 जुलाई 2018
महिला तस्वीर कपीराइट PA
Image caption प्रतीकात्मक तस्बिर

पूर्वी नेपालबाट जागिर खोज्न काठमाण्डू आएका बेला उनलाई साथीहरूले 'पेपर म्यारिज' अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए।

जागिर नपाइरहेका बेला उनलाई पनि साथीहरूको सल्लाह ठिकै लाग्यो।

मध्यस्थकर्ताले आकर्षक जागिर र कमाइ हुने लोभ देखाएपछि र सँगै बस्नु नपर्ने आश्वासन दिएपछि उनी छ लाख रूपैयाँ तिर्न तयार भइन्।

आफूभन्दा १० वर्ष जेठो कोरियाली नागरिकसँग कागजी विवाह गरी त्यसकै आधारमा 'पारिवारिक भिसा' मा उनी कोरिया पुगिन्।

तर त्यहाँ न उनले स्वतन्त्र रूपमा काम गर्न पाइन् न त कागजपत्रका लागि मात्र भनेर बनाइएका श्रीमान्‌बाट छुटकारा नै।

लोभ

दलालले उनलाई विवाह बहाना मात्र भएको र कोरिया पुगेपछि आफ्नै हिसाबले काम गर्न सकिने लोभ देखाएका थिए।

तर ती पुरुषले पटकपटक बलात्कार गर्ने र घरमै बन्दी बनाउने प्रयास गरेपछि कोरियास्थित नेपाली दूतावास र केही मानवाधिकारवादी संस्थाको पहलमा नेपाल फर्केको उनी बताउँछिन्।

उनले भनिन्, "तिमीलाई मैले कानुनी रूपमै बिहे गरेर ल्याएकाले मसँग बस्नैपर्छ भन्दै (उनले) प्रहरी बोलाएर मलाई पक्राए। मैले सम्बन्धविच्छेद मागेँ र मानव अधिकारवादीलाई गुहारेँ।"

उनी त एउटी प्रतिनिधिपात्र मात्र हुन्।

लुकीचोरी

प्रत्येक वर्ष विवाहको बहानामा कोरिया जाने र त्यहाँ पुगेर समस्यामा पर्ने महिलाहरूको सङ्ख्या धेरै रहेको तिनको उद्धारमा संलग्न भएका व्यक्तिहरू बताउँछन्।

केही वर्षअघि काठमाण्डूमा सञ्चालित 'म्यारिज ब्युरो' भनिने विवाह गराइदिने कम्पनीका सञ्चालकलाई यस्तै कार्यमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ समेत गरेको थियो।

तर त्यसपछि पनि लुकीचोरी यस्तो काम भने भइरहेको बताइन्छ।

यसरी कोरिया जाने नेपाली महिलाले शारिरिक र मानसिक यातना पाउने गरेको कोरियामै बसोबास गर्दै आएकी र पीडितको उद्धारमा समेत संलग्न रहेकी लक्ष्मी गुरुङ बताउँछिन्।

अधबैँसेको रोजाइमा युवती

उनका अनुसार २०-२२ वर्षका नेपाली युवतीहरू ५० वर्ष माथिका कोरियाली पुरुषको रोजाइमा पर्ने गरेका छन्।

कोरियाली पुरुषले नेपाली युवतीसँग विवाह गर्न दलाललाई ठूलो रकम तिर्ने गरेकाले नेपाली युवतीलाई सजिलै छुटकारा नदिने बताइन्छ।

केही वर्षअघि एक नेपाली युवतीलाई कोरियाली श्रीमान् आफैले बेचेको फेला पारिएपछि नेपाल पठाइएको उनले बताइन्।

कतिपयलाई भने नेपाली महिलाहरूले नै चलाएका आश्रयगृहमा राखेर नेपाल फर्काइएको गुरुङले जानकारी दिइन्।

नयाँ रूपमा मानव बेचबिखन

नेपाल प्रहरीका अधिकारीहरूका अनुसार पनि केही वर्षयता मानव बेचबिखनको प्रकृति परिवर्तन भएको छ।

विवाहका बहानामा महिलालाई कोरिया र चीन पठाउने कार्यले पनि मानव बेचबिखनको रूप लिएको उनीहरू बताउँछन्।

यस्तो कार्यमा संलग्नलाई कारबाही अघि बढाएपछि त्यसमा केही कमी आएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक कृष्णहरि शर्माको दाबी छ।

उनले भने, "पहिले म्यारिज नै गर्ने भनेर बकाइदा विज्ञापन गरिएको थियो, त्यसरी लगिएको पनि भेटियो। हामीले पठाउने मान्छेहरूलाई मुद्दा चलायौँ, त्यसपछि केही कम भएको छ।"

तर सबै घटना प्रहरीसम्म पुग्दैनन्।

के भन्छन् दूतावासका अधिकारी?

कोरिया र चीनस्थित नेपाली दूतावासका अधिकारीहरूले पनि विवाहको बहानामा नेपाली महिलाहरू त्यतातर्फ पठाइने गरेको पुष्टि गरेका छन्।

उनीहरूले यसरी विवाह गरेर जानेमध्ये कतिपय महिला समस्यामा समेत परेको बताएका छन्।

धेरै नेपाली महिला समस्यामा परेको गुनासो आएपछि दूतावासले नेपाली नागरिकसँग विवाह गर्ने प्रक्रियामा कडाइ गरेको कोरियास्थित नेपाली दूतावासका नियोग उपप्रमुख किरण शाक्यले बताए।

उनले भने, "कागजातहरूमा कडिकडाउ गरेका छौँ। सबै कागजातहरू नेपाल पठाएर प्रमाणित गर्ने गरेका छौँ।"

ङ्ख्या

शाक्यका अनुसार नेपालबाट हालसम्म एक हजारभन्दा बढी नेपाली महिलाहरूले कोरियाली नागरिकसँग विवाह गरिसकेका छन्।

यसैगरी करिब दुई सय पुरुषहरूले समेत कोरियाली महिलासँग विवाह गरेको उनले बताए।

कोरियालीसँग विवाह गर्नेहरू सबै समस्यामा नै पर्छण् भन्ने नरहेको उनी बताउँछन्।

नेपाल प्रहरीका अनुसार गएको पाँच वर्षमा नक्कली विवाहमार्फत् मानव बेचबिखन भएका ४५ वटा घटनामा मुद्दा चलाइएको छ।

तर, अधिकांश यस्ता घटना मुद्दाको तहसम्म नपुग्ने प्रहरी अधिकारीहरू बताउँछन्।

क्रम रोकिएको छैन

कागजपत्रमा कडाइ गरिएपनि अझै नेपालबाट विवाहको बहानामा चीन र कोरियामा महिलालाई पठाउने क्रम नरोकिएको स्वयम् सरकारी अधिकारीहरू नै स्वीकार्छन्।

कोरिया र चीनमा नेपालसहित भियतनाम, क्याम्बोडिया, फिलिपिन्सजस्ता देशहरूबाट समेत विवाहका बहानामा महिलालाई लगेर दासको जस्तो व्यवहार गर्ने गरिएको विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाका प्रतिवेदनहरूले समेत औँल्याउने गरेका छन्।

विवाहको बहानामा यसरी महिलालाई विदेश पठाउने प्रवृत्तिलाई मानव बेचबिखनकै अर्को स्वरूपका रूपमा हेरिनुपर्ने सरकारी अधिकारी र अधिकारवादीहरूको भनाइ छ।

सम्बन्धित समाचार