'डा. गोविन्द केसीद्वारा उपचार गर्न अस्वीकार'

  • 20 जुलाई 2018
Image caption पहिले-पहिले अनशन बस्ने गरेको शिक्षण अस्पतालमा अनशनलाई निरन्तरता दिएका केसीले उपचार लिन भने मानेका छैनन्

सरकारले जुम्लामा आमरण अनशन बसेका डाक्टर गोविन्द केसीलाई उपचारका लागी भन्दै बिहीवार काठमाण्डू ल्याए पनि उनले उपचार गर्न अस्वीकार गरेको उनका समर्थकहरुले जनाएका छन्।

काठमाण्डू ल्याउन जुम्लामा दमन गरिएको भन्दै उनले उपचार नलिने अडान लिएको बताइएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
लाठीचार्जपछि के भने डाक्टर केसीले?

'सरकारी शर्तका कारण दोस्रो वार्ता पनि विफल'

अनशन २१ औं दिन पुग्दा पनि सरकारसँग वार्ता अगाडि बढ्न नसकेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका नेताले केसीलाई भेटेर अनशनमा ऐक्यबद्धता जनाएका छन्।

अनशनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र जुम्लामा उपचार हुन नसक्ने अवस्था आएको भन्दै बल प्रयोग गरेर उनलाई काठमान्डू ल्याइएको थियो।

पहिले-पहिले अनशन बस्ने गरेको शिक्षण अस्पतालमा अनशनलाई निरन्तरता दिएका केसीले उपचार लिन भने मानेका छैनन्।

यसबारे केसीको तर्फबाट वार्ताको नेतृत्व गरिरहेका डाक्टर अभिषेकराज सिंहले भने, "मलाई उपचारका निम्ति जुम्लाका आम नागरिकमाथि दमन गरिएको छ र उपचारको बहानामा मलाई काठमान्डू ल्याचएको छ। त्यो दमनले गर्दा मेरो मन चुँडिएको छ र म केही पनि उपचार लिन्न भन्ने अडान डाक्टर केसीले राखिरहुन भएको छ। "

वार्ता

डाक्टर केसीलाई काठमान्डू ल्याउदा उनको उपचार र वार्ता दुबैका लागि सहज हुने ठानिए पनि काठमान्डू ल्याएको दोस्रो दिन पनि सरकारी वार्ता टोली र केसीको वार्ता टोलीबीच सम्वाद पनि हुन सकेन।

सरकारी पक्षबाट वार्ताको पहल नभएको र डाक्टर केसी अधिकार सम्पन्न वार्ता टोली बन्नु पर्ने अडानमा रहेकाले वार्ता हुन नसकेको बताइएको छ।

वार्ता अगाडि नबढनुका कारणबारे सरकारी वार्ता टोलीका कुनै पनि सदस्यले प्रतिक्रिया दिन मानेनन्।

केसीका माग पुरा गराउन दबाब स्वरुप स्वास्थ्य संस्थामा समेत हडताल हुँदासम्म पनि मौन रहेको भन्दै आलोचना खेपेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बीबीसीसँग कुरा गर्दे आफुहरु समाधान खोज्न लागिरहेको बताए।

उनले भने, "समस्या समाधान गर्ने प्रयासमा हामी लागीरहेका छौं। त्यो प्रयासमा हामी छौं। त्यो भन्दा बढी आरोप प्रत्यारोप नगरौं ताकि भोलि गएर समस्या सुल्झिनुको सट्टा झनै नबल्झियोस्। "

समर्थन

डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्न र उनका मागका ऐक्यबद्धता जनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्यहरुत्रि वि शिक्षण अस्पताल पुगेका थिए।

केसीका सामु सभापति देउवाले उनको मागमा समर्थन जनाउँदै भने "सुशील कोइराला प्रधानमन्त्री हुँदा एमाले पनि सहभागी भएको सरकारले बनाएको माथेमा आयोगको प्रतिवेदनलाई आधार मानेर उहाँसँग सहमति गरेर मेरो नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई जस्ताको त्यस्तै पारित गर्नु पर्छ। सरकारले डाक्टर केसीको माग पुरा गरेर उहाँको जीवनरक्षा गर्नुपर्छ।"

चिकित्सा शिक्षा विधेयक फिर्ता लिइ आफ्नो माग अनुरुप जारी गरिएको अध्यादेश अनुरुपको विधेयक संसदमा प्रस्तुत गर्नु पर्ने केसीको माग छ।

तर सरकार चाहिं विधेयक फिर्ता नलिने र संसदको प्रकृया अनुसार नै अगाडि बढाउने अडानमा देखिन्छ।