कानुनमन्त्री भन्छन्: चोटप्रति क्षमा चाहन्छु
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कानुनमन्त्री भन्छन्: चोटप्रति क्षमा चाहन्छु

  • 22 जुलाई 2018

शुक्रवार एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बांग्लादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्राहरूले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य रहेको आशयको टिप्पणी गरेपछि उनीविरुद्ध खासगरि सामाजिक सञ्जालमा निकै आलोचना भएका छन्।

विपक्षी दलका साथै सत्ता पक्षकै कतिपय नेताले समेत त्यस्तो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

तर आइतवार कानुनमन्त्री तामाङले आफूले नेपाली विद्यार्थीहरूले विदेशमा गई पढ्नुपर्ने बाध्यता हटाउन नेपालमा नै ती पढाई सहज हुनुपर्ने धारणा राखेको बताएका छन्।

विज्ञप्ति

"बांग्लादेशमा हाल दुई हजार भन्दा बढी नेपाली छात्राहरू चिकित्सा शिक्षामा अध्ययनरत रहेको अवस्था छ। ती विद्यार्थीहरूले भोग्नु परेका केही समस्यालाई मैले उजागर गरेको हो। नेपाली छात्राले अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरू उजुरीका रूपमा समेत रहेका छन्," उनको प्रेस विज्ञप्तिमा उल्लेख छ।

उनले क्षमा माग्दै लेखेका छन्, "मेरो उक्त दिनको भनाइले बांग्लादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरूलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु।"

डा. गोविन्द केसीको जारी अनशनमा उनले माग गरेको चिकित्सा शिक्षामा सुधार अन्तर्गत खासगरी राजधानीमा जथाभावी मेडिकल कलेज खोल्न नहुने मुद्दा पनि परेको छ।

सरकारी पक्षले भने चिकित्सा शिक्षामा अध्ययन गर्न चाहनेका निम्ति देशभित्रै पर्याप्त संस्था हुनुपर्ने भन्दै केसीको माग त्यसमा बाधक बन्ने धारणा राख्ने गरेको पाइन्छ।

त्यही सन्दर्भमा कानुनमन्त्रीले सो विषयमा टिप्पणी गरेका हुन्।