सिरिया: ‘ह्वाइट हेल्मेट्स’ का चार सय सदस्यको इजरेलद्वारा उद्धार

  • 22 जुलाई 2018
सिरिया तस्वीर कपीराइट EPA

सिरियाको द्वन्द्वग्रस्त इलाकाहरूमा सक्रिय स्वयंसेवकहरूको समूह 'ह्वाइट हेल्मेट्स' का सयौं सदस्य र तिनका परिवारलाई इजरेलले उद्धार गरि युद्धग्रस्त भूभागबाट जोर्डन पुर्‍याएको छ।

अमेरिका तथा युरोपेली मुलुकहरूको आग्रहमा तिनलाई उद्धार गरिएको इजरेलले जनाएको छ।

सिरियाको दक्षिण पश्चिमस्थित युद्धग्रस्त क्षेत्रबाट ती नागरिक सुरक्षा समूहका सदस्यलाई उद्धार गरिएको इजरेलले बताएको छ।

पुनर्वास

करिब ४२२ स्वयंसेवक तथा तिनका परिवारका सदस्यलाई इजरेल अधीनस्थ गोलान हाइट्स हुँदै राति नै जोर्डन पुर्‍याइएको छ।

उक्त कारबाहीका निम्ति आग्रह गर्नेमध्येको मुलुक ब्रिटेनले इजरेली मद्दतको स्वागत गरेको छ। उसले उद्धार गरिएकाहरूको पुनर्वासका लागि सहयोग गर्ने बताएको छ।

ह्वाइट हेल्मेट्सले आफूलाई स्वयंसेवी समूह बताउने गरेको छ जसले सिरियाका युद्धग्रस्त क्षेत्रमा मानिसहरूको रक्षा गर्ने गर्छ।

तर सिरियाली राष्ट्रपति बशर अल असद तथा उनका रुसी समर्थकहरूले ह्वाइट हेल्मेट्सले विद्रोहीहरूलाई सघाउने गरेको र तिनको जिहादी समूहसँग सम्बन्ध रहेको बताउने गरेका छन्।

हालै सिरियाली सेनाले आक्रामक कारबाही अघि बढाएपछि गोलान हाइट्स नजिकैको क्षेत्रमा ह्वाइट हेल्मेट्सका सदस्यहरू फसेका थिए।

खासमा ह्वाइट हेल्मेट्सका आठ सयजना सदस्यहरूको उद्धार गर्नु इजरेलको योजना थियो तर केवल ४२२ जनालाई मात्र उद्धार गर्न सकिएको बताइएको छ।

बीबीसीका मार्क लोवेन भन्छन्, अन्य सदस्य भने इस्लामवादी फौज आइएस अघि बढिरहेकाले मार्ग अवरुद्ध हुँदा गोलान हाइट्स नजिकैको सुरक्षित उद्धार गरिने स्थलसम्म पुग्न सकेनन्।