केसीको मुद्दामा सरकार काँग्रेसमाथि खनियो

  • 23 जुलाई 2018
प्रचण्ड र ओली तस्वीर कपीराइट RSS

चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसीले बसेको अनशनको मुद्दालाई लिएर सोमवार सत्ताधारी पार्टीका दुई अध्यक्ष प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमाथि खनिएका छन्।

वामपन्थी नेता पुष्पलालको स्मृति कार्यक्रममा राजधानीमा बोल्दै प्रधानमन्त्री केपी ओलीले डाक्टर गोविन्द केसीलाई उनको अनशनको आडमा अन्यले राजनीति गरेको भन्दै उनलाई शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि तर्कपूर्ण बहसका निम्ति आह्वान गरेका छन्।

दाउपेच

तर साथसाथै अनशनको खोलमा अन्य दाउपेच भइरहेको भन्दै उनले चेतावनी समेत दिएका छन्।

"म डाक्टर केसीलाई भन्न चाहन्छु। वहाँको जीवनलाई कतिपय मानिसले आफ्नो राजनीतिक स्वार्थको रोटी सेकेर खेलवाड गरिराखेका छन्। वहाँ त्यसमा सचेत हुनु पर्छ। म डाक्टर केसीलाई भन्न चाहन्छु स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ तर्कपूर्ण बहस गरौं। ल तपाईँ नै जिम्मा लिनोस्। के के गर्नुपर्छ? आयोग चाहियो भन्नुहुन्छ भने तपाईँ नै बन्नुस् न त अध्यक्ष," प्रधानमन्त्रीले भने।

उनीभन्दा अगाडि बोलेका नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले डाक्टर केसीको आन्दोलनलाई उपयोग गर्न खोजेको आरोप अझै चर्को रूपमा लगाएका थिए।

"वहाँको जीवनरक्षाप्रति हामी सम्वेदनशील छौँ। तर नेपाली काँग्रेसले चाहिँ खोजेको के हो? के नेपाली काँग्रेस अब आफ्नो राजनीति गोविन्द केसीमार्फत गराउनु पर्ने अवस्थामा पुगेको हो?" प्रचण्डले प्रश्न गरेका थिए।

डाक्टर केसी पक्षधर तथा सरकारबीच वार्ताको गम्भीर प्रयास समेत हुन नसकिरहेका बेला सोमवार सत्ताधारी दलका दुबै अध्यक्षले एकै स्वरले अनशनले प्रणाली विगारेको आरोप पनि लगाए।

प्रधानमन्त्री ओलीले अनशन बसेर आफैँलाई प्रताडित गर्नु सत्याग्रह हुन नसक्ने बताए भने प्रचण्डले चाहिँ अनशनले संसदको अधिकार खोसेको आरोप लगाए।

"एउटा कुनै व्यक्तिको मागलाई मानिदिनु नै पर्ने अरू कुनै उपाय नै नहुने हो भने यो संसद किन चाहियो? चुनाव किन गर्नु पर्‍यो? यो प्रदेश सभा किन चाहियो? बीचबीचमा एक दुई जनालाई अनशन बस्न लगाइदिउँ अनि उसले जे भन्यो त्यही गरे भइहाल्यो नि," प्रचण्डले भने।

नेपाली काँग्रेसले नेकपाका नेताहरूको भनाइलाई गैरजिम्मेवारपूर्ण भनेको छ।

"समस्याको समाधान चाहने हो भने प्रधानमन्त्रीले दम्भ त्याग्नु पर्छ। नेपाली काँग्रेसविरुद्ध आफ्ना अहंकारलाई प्रस्तुत गरेर हुँदैन," काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने।

केसीको अवस्था नाजुक

१५ औं पटक अनशनमा रहेका डाक्टर केसीले यसपाली अनशन बसेको सोमवार २४ दिन पुगेको छ।

डाक्टर केसीको यो भन्दा अगाडि सबभन्दा लामो अवधिको अनशन २३ दिनसम्म चलेको थियो।

यसपालि २४ दिनसम्म आइपुग्दा दुई पक्षबीचको खाडल साँघुरिनुको साटो बढ्दो देखिन् ।

डाक्टर केसीको स्वास्थ्य अवस्था गिर्दो रहेको चिकित्सकहरूले बताएका छन्।

सम्बन्धित सामग्री