कानुनमन्त्रीको राजीनामाको पाठ के?

  • 24 जुलाई 2018
कानुनमन्त्री राजीनामा तस्वीर कपीराइट RSS
Image caption पछिल्ला केही वर्षयता महिलाको विषयमा असंवेदनशील भनिएका टिप्पणी अथवा व्यवहार गरेका कारण पद गुमाउने शेरबहादुर तामाङ दोस्रो मन्त्री बन्न पुगेका छन्

केही दिनअघि उनले चिकित्साशास्त्र अध्ययन गर्न बांग्लादेश गएका नेपाली छात्राहरूले अध्ययनपछि प्रमाणपत्र पाउन अस्मिता बेच्न बाध्य हुने गरेको भन्ने आशयसहितको टिप्पणी गरेपछि त्यसको व्यापक आलोचना मात्र भएन उनले मंगलवार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको पदबाट राजीनामा नै दिनु पर्‍यो।

पछिल्ला केही वर्षयता महिलाको विषयमा असंवेदनशील भनिएका टिप्पणी अथवा व्यवहार गरेका कारण पद गुमाउने शेरबहादुर तामाङ दोस्रो मन्त्री बन्न पुगेका छन्।

आफ्नो सार्वजनिक अभिव्यक्तिको व्यापक आलोचना भएपछि मन्त्री तामाङ्ले आइतवार क्षमायाचना गरेका थिए।

तर उनको टिप्पणी बारेका आलोचना नरोकिएपछि मंगलवार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूले बोलेको कुरालाई अतिरञ्जित पारी प्रचार भएको भने।

"त्यो कुरा मैले बोलेकै हो। मैले बोलेको विषयलाई लिएर बोलेका पूर्ण पृष्ठलाई टाउको र खुट्टा काटेर बीचको भागमात्रै पोस्ट गर्दै, अझ बढाइचढाई र अतिरञ्जित पार्दै मेरा बारेमा गलत र षड्यन्त्रमूलक समाचारहरू आएको पाउँदा म अतिदु:खित छु। सामाजिक रुपमा यति कुरा उठीसकेपछि प्रधानमन्त्री र सरकारलाई सफल बनाउन नैतिकताको आधारमा प्रधानमन्त्री समक्ष राजीनामा पेश गर्न गइरहेको छु।"

किन दिए राजीनामा कानुनमन्त्रीले?

यसकारण कानुनमन्त्रीको टिप्पणी 'आपत्तिजनक'

अपमानजनक

करिब तीन वर्षअघि तत्कालीन कृषिमन्त्री हरि पराजुलीले धान रोपाइँको कार्यक्रममा महिलाप्रति दुर्व्यवहार गरेको भनी तस्वीर र भिडिओ सामाजिक सञ्जालमा व्यापक भएका थिए।

त्यसपछि उनले पनि मन्त्री पद गुमाउन पुगेका थिए।

उच्च ओहोदामा पुगेका नेताहरूबाट बेलाबाखत महिलाहरूको अपमान हुने खालका अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको केही महिला राजनीतिकर्मीहरूले बताएका छन्।

राजनीतिमा पुरुषको मात्रै हालिमुहाली कायम रहँदासम्म यस्ता आपत्तिजनक अभिव्यक्ति आउने क्रम नरोकिने नेपाली काँग्रसकी एक नेतृ तथा साँसद पुष्पा भुषालले बताइन्।

उनले भनिन्, "समाज, दल र सरकार जहाँ पनि पुरुषहरूकै प्रभुत्व छ। त्यही भएर महिलाका विषयमा अपमानजनक कुराहरू आउँछन्। जस्तै केही समय अघि प्रधानमन्त्रीले आफ्नै दलका नेतृहरूलाई धेरै ट्याइँ ट्याइँ नगर्नु भन्नु भएको थियो।"

"कानुनमन्त्रीको टिप्पणी महिलाको अस्मितासँग जोडिएको छ। त्यसैले राजीनामा मात्र होइन गाली बेइज्जती कानुनै लाग्छ।"

उपाय

पछिल्लो घटनाले राजनीतिक दल र नेताहरू सबैलाई महिलाप्रतिको दृष्टिकोण परिवर्तन गराउने खालका सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको महिला अधिकारकर्मीहरू बताउँछन्।

अधिवक्ता मिरा ढुङगानाले भनिन्, "कतिपय टिप्पणी कानुनको उल्लंघन हुने खालको आएका छन्। त्यसैले राजनीतिक दलहरूले एउटा नीति नै बनाउनु पर्छ।"

सार्वजनिक रूपमा के-के बोल्ने, के नगर्ने भन्ने बारे एउटा लैङ्गिक निर्देशिकानै जारी गर्नु उपयुक्त हुने ढुङगानाले बताइन्।

वचनले पनि महिला विरुद्ध दुर्व्यवहार हुनसक्छ भन्ने चेत नेपाली समाजमा अझैसम्म फैलन नसकेको उनको भनाइ थियो।

सरकार र समाजका महत्त्वपूर्ण अङ्गमा धेरै भन्दा धेरै महिला नेतृत्वदायी भूमिकामा नपुग्दा सम्म जिम्मेवार पदमा बसेका व्यक्तिबाट महिलाबारे हुने अपमानजनक टिकाटिप्पणीको सिलसिला चलिरहने उनीहरू बताउँछन्।

सम्बन्धित सामग्री