लाओस: जलविद्युत् परियोजनाको बाँध भत्किँदा सयौँ बेपत्ता

  • 24 जुलाई 2018
लाओस डुबान तस्वीर कपीराइट EPA

लाओसको दक्षिणी भेगमा एउटा निर्माणाधीन बाँध भत्किँदा कम्तीमा २० जनाको ज्यान जानुका साथै सयौँ मानिसहरु हराइरहेका बताइएको छ।

बाँधको पानी बगेर डुबानमा परेका गाउँका मानिसहरू घरका छतहरूमा चढेर उद्धारको प्रतीक्षा गरिरहेका भिडिओ र तस्बिरहरू प्रकाशित भएका छन्।

हालैको ठूलो वर्षाका कारण यो विपद्को घटना भएको हुनसक्ने बताइएको छ। लाओस सरकारले सहायताका लागि आह्वान गरेको छ।

अत्तापेउ प्रान्तस्थित एउटा जलविद्युत् परियोजनाका लागि निर्माणाधीन बाँध सोमवार भत्किँदा अचानक आएको बाढीबाट नजिकैको छवटा गाउँहरु डुबानमा परेका लाओ समाचार एजेन्सीले जनाएको छ।

उक्त एजेन्सीका अनुसार छ हजार मानिसहरू घरबारविहीन हुन पुगेका छन्।

सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडिओ तथा तस्बिरहरूमा मानिसहरू आफ्नो घरको छानामा अलपत्र परिरहेको र उनीहरूलाई डुङ्गामार्फत् उद्धार गरिएको देख्न सकिन्छ।

जलविद्युत् आयोजना

अन्य दृश्यहरूमा भत्किएका सडक तथा पुलहरू हुँदै तीव्र गतिमा हिलाम्मे पानी बगिरहेको देखिन्छ।

से-पियान से-नामनोय नामक उक्त बाँध दक्षिण कोरियाली तथा थाई कम्पनीहरूले निर्माण गरिरहेको जलविद्युत् आयोजनाको हिस्सा थियो।

तस्वीर कपीराइट .

सन् २०१३ मा निर्माण सुरु गरिएको सो जलविद्युत् आयोजनाले अर्को वर्षबाट विद्युत् उत्पादन कार्य सुरु गर्ने भनिएको थियो।

हाल से-पियान से-नामनोय पावर कम्पनी लिमिटेड तथा सम्बन्धित निकायहरूले बाँध भएको क्षेत्रवरपर रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको एक विज्ञप्तिमा जनाइएको छ।

वातावरणको क्षेत्रमा काम गर्ने समूहहरूले यसअघि नै लाओसको जलजविद्युत् कार्यक्रम र बाँधभन्दा तल रहेका समुदाय तथा जैविक प्रणालीमाथि पुग्न सक्ने सम्भावित असरबारे चिन्ता व्यक्त गरेका थिए।

सरकारी सञ्चारमाध्यमका अनुसार लाओसका प्रधानमन्त्री थोङ्लुन सिसोलिथले सरकारी बैठकहरू स्थगन गरेका र वरिष्ठ अधिकारीहरूसँग उद्दार कार्य अनुगमन गर्न सनमसे जिल्लास्थित प्रभावित क्षेत्रमा पुगेका छन्।

स्थानीय अधिकारीहरूले पीडितहरूलाई कपडा, खानेकुरा, खानेपानी तथा औषधि जस्ता आपत्‍कालीन सहयोग प्रदान गर्न सरकारी निकाय तथा अन्य समूहहरुलाई आग्रह गरेका छन्।

सम्बन्धित सामग्री