तालेबानविरुद्ध अफगान सरकारको नयाँ रणनीति

  • 29 जुलाई 2018
सैनिक तस्वीर कपीराइट AFP
Image caption अफगान रक्षा मन्त्रालयले सुरक्षाफौजलाई नगर तथा शहरहरुको सुरक्षाअवस्था बलियो पार्न परिचालन गरिने जनाएको छ

तालेबान लडाकूहरूविरुद्धको कारबाहीमा नयाँ रणनीति लागू गर्न लागेको अफगानिस्तानको सरकारले बीबीसीलाई जनाएको छ।

नयाँ रणनीति अन्तर्गत विकट तथा जनघनत्व निकै कम भएका क्षेत्रहरूबाट सैनिकहरू फिर्ता बोलाइनेछ र शहरी क्षेत्रहरूको सुरक्षाका लागि उनीहरूलाई खटाइनेछ।

अफगानिस्तानमा ठूलो क्षेत्रमा फैलिएका ग्रामीण भेगहरूमा तालेबानको बलियो प्रभाव छ र राजनीतिक समाधानमार्फ देशभित्रको हिंसालाई सम्बोधन गर्ने नयाँ प्रयासस्वरुप पछिल्लो कदम चालिएको बताइएको छ।

हाल सो नयाँ रणनीति अफगानिस्तानका सातवटा प्रान्तहरूमा कार्यान्वयन गरिएको र अब त्यो चाँडै देशका अन्य भागहरूमा पनि लागू गरिने अफगान रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बताए।

चिन्ता

अफगान रक्षा मन्त्रालयका अनुसार विकट क्षेत्रहरूबाट सुरक्षाफौजलाई फिर्ता बोलाइने कदमपछि अब उनीहरुलाई नगर तथा शहरहरुको सुरक्षाअवस्था बलियो पार्न परिचालन गरिनेछ।

धेरैजसो अफगान नागरिकहरू ग्रामीण भेगमा बसोबास गर्ने गर्छन् र सुरक्षा एउटा चिन्ताको विषय रहँदै आएको छ।

ती क्षेत्रमा रहँदै आएका जाँचचौकीहरूमाथि पनि लडाकुहरुले प्रायः जसो हमला गर्ने गरेका छन्।

अफगान सरकारले सुरक्षा कार्यमा प्रहरीलाई सघाउनका लागि नयाँ अर्धसैन्य बल गठन गरिने जनाएको छ।

रक्षा मन्त्रालयअन्तर्गत हुने त्यस्तो अर्धसैन्य बललाई अफगान सरकारले क्षेत्रीय सेना भनी व्याख्या गरेको छ।