जिम्बाब्वे: संसदीय निर्वाचनमा सत्ताधारी दललाई दुईतिहाइ

  • 1 अगस्ट 2018
जिम्बाब्वे चुनाव तस्वीर कपीराइट AFP/Getty

जिम्बाब्वेमा भएको संसदीय निर्वाचनमा सत्तारूढ जानु पीएफ दलले दुईतिहाइ बहुमत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

तर विपक्षी दल एमडीसीले निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ।

मुगाबेपछिको चुनाव

लामो समयदेखिका शासक रोबर्ट मुगाबे सत्ताच्युत भएपछि सोमवार भएको पहिलो निर्वाचनमा राष्ट्रपति इमर्सन मनाङ्गाग्वाको पार्टीले संसद्‌मा उल्लेखनीय बहुमत जितेको देखिएको छ।

यसअघि विपक्षी एमडीसी गठबन्धनले निर्वाचनमा अनियमितता भएको र खासमा आफ्ना उम्मेद्वार नेल्सन चामिसा विजयी भएको जनाएको थियो।

सरकारी सञ्चारमाध्यम जेडबीसीका अनुसार जिम्बाब्वेको निर्वाचन आयोगले जानु-पीएफले धेरै स्थानमा जितेको घोषणा गरेको छ।

सोमवारको निर्वाचनमा ७० प्रतिशत मतदाता सहभागी थिए।

एकजना बीबीसी सम्वाददाता भन्छन् मतदानमा धाँधली भएको भन्दै विपक्षी दलका समर्थकहरूले राजधानी हरारेमा प्रदर्शन गरेका छन्।

पर्यवेक्षकको टिप्पणी

तस्वीर कपीराइट .

अफ्रिकन युनियनले भनेको छ- निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा भएका छन्। उसले जिम्बाब्वेमा राजनीतिक सङ्क्रमणका बेला निर्वाचन हुनुलाई एउटा महत्त्वपूर्ण क्षण भनेको छ।

दक्षिणी अफ्रिकन विकास समुदाय एसएडीसीको पर्यवेक्षक समूहको एउटा प्रारम्भिक प्रतिवेदनले निर्वाचन शान्तिपूर्ण र विधिसम्मत सम्पन्न भएको जनाएको छ।

एसएडिसीका प्रतिनिधि एङ्गोलाका विदेशमन्त्रीले निर्वाचनलाई जिम्बाब्वेको इतिहासमा भएको एउटा महत्त्वपूर्ण राजनीतिक क्षण भनेका छन्।

युरोपेली युनियनले भने मिश्रित प्रतिक्रिया दिएको छ। उसले राजनीतिक वातावरणमा सुधार आएको तर समान अवसर उपलब्ध नभएको भनेको छ।

आफ्नो प्रारम्भिक प्रतिवेदनमा युरोपेली युनियनको पर्यवेक्षक समूहले निर्वाचन अभियान शान्तिपूर्ण भए पनि सरकारी स्रोतको दुरुपयोग भएकाले निर्वाचनमा सबैले समान अवसर नपाएको उल्लेख गरेको छ।

गत १६ वर्ष यता पहिलो पटक जिम्बाब्वेको सरकारले ईयूलाई त्यहाँको निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको हो।

पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको ईयूसँग नराम्रो सम्बन्ध थियो।