नेपाल पहिलो एकदिवसीयमा पराजित

  • 1 अगस्ट 2018
नेपाली खेलाडीहरू तस्वीर कपीराइट Cricket Association of Nepal
Image caption छ दशक लामो इतिहास बोकेको नेपाली क्रिकेटले पहिलो एकदिवसीय खेल खेलेर नयाँ युगको आरम्भ गरेको छ

ओपनर ज्ञानेन्द्र मल्लले जिम्मेवारी पारी खेल्दै शानदार अर्धशतक बनाएपनि नेपाल नेदर्ल्यान्ड्ससँगको पहिलो एकदिवसीय खेलमा ५५ रनले पराजित भएको छ।

नेदर्ल्यान्ड्समा भएको खेलमा आयोजक राष्ट्रलाई १८९ रनमा रोकेपछि सहज मानिएको चुनौती पूरा गर्न आएको नेपाल १३४ रनमा धरासायी हुन पुगेको थियो।

मुख्य खेलाडीहरूले अपेक्षानुरूप खेल्न नसकेपछि नेपालले ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हात पार्ने अवसर गुमाउनु परेको हो।

यद्यपि स्थापनाको छ दशक लामो इतिहास बोकेको नेपाली क्रिकेटले पहिलो एकदिवसीय खेल खेलेर नयाँ युगको आरम्भ गरेको छ।

सीमित

टस जितेर पहिलो फिल्डिङ पाएको नेपालले आयोजक नेदर्ल्यान्ड्सलाई ४७.४ ओभरमा अल आउट गर्दै १८९ रनमा सीमित पारेको थियो। आयोजक टोलीका लागि मिचेल रिप्पोनले सर्वाधिक ५१ रनको योगदान दिएका थिए।

बलिङतर्फ कप्तान पारस खड्काको चार विकेट तथा सोमपाल कामीको तीन विकेटको मदतले नेपालले विपक्षीलाई खुलेर खेल्नबाट रोकेको थियो।

सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले एक-एक विकेट लिएका थिए।

प्रत्युत्तरमा आएको नेपालले उत्कृष्ट सुरुवात गर्‍यो।

तर पहिलो विकेटको पतनसँगै टोलीका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै नराम्ररी असफल हुनपुगेका थिए।

ओपनर ज्ञानेन्द्र मल्ल र अनिल शाहको जोडीले पहिलो ओभरको लागि ५८ रनको बलियो साझेदारी गरेका थिए।

ज्ञानेन्द्रले ६१ बलमा ८ चौकाको मदतले ५१ रन बनाएका थिए भने अनिल शाहले २१ रन।

आउट

तर त्यसपछि नेपालको खेल असम्यमित हुन थाल्यो। कप्तान पारस १२ रन बनाएर आउट भए।

दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाए पनि आरिफ शेख, सोमपाल कामी, वसन्त रेग्मी र करण केसीले खाता खोल्न सकेनन्।

पहिलो इनिङ्समा फिल्डिङ गर्ने क्रममा घाइते भएका शरद भेषावकर अन्तिम खेलाडीका रूपमा मैदानमा आए। उनले ४ रन मात्र बनाए। सन्दीप लामिछानेको खातामा १ रन बन्यो।

नेपाली राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलिरहेका शक्ति गौचन नौ रनमा अविजित रहे।

नेपाली टोली ४१.५ ओभरमा अलआउट भएको थियो।

नेपालले अब शुक्रवार नेदर्ल्यान्ड्ससँगै दोस्रो एकदिवसीय खेल खेल्नेछ।

सम्बन्धित सामग्री