नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह

  • 6 अगस्ट 2018
बाढी तस्वीर कपीराइट RSS
Image caption तुलसीपुर–घोराही सडकखण्डको ग्यार खोलामा आइतवार साँझ आएको बाढीले बगाएको बस निकाल्ने प्रयास गरिँदै

केही दिनयता नेपालभरि मध्यमदेखि ठूलो स्तरको वर्षा भएका कारण सरकारले नदीको किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार विपद्सँग जुध्न सुरक्षाको उच्च सतर्कता अपनाइएको छ।

सोमवार खासगरी पश्चिमी भाग र काठमाण्डू उपत्यकामा धेरै वर्षा भएको भन्दै यो क्रम बुधवारबाट कम हुने मौसमविद्हरूले बताएका छन्।

क्षति

विपद् व्यवस्थापन महाशाखाका अनुसार सोमवारको वर्षाका कारण साँझसम्म कतै ठूलो क्षतिको खबर आएको छैन।

तर लगातार वर्षा भइरहेकाले सर्वसाधारणलाई सचेत रहन महाशाखाले आग्रह गरको हो।

महाशाखाका प्रमुख रहेका सहसचिव केदार न्यौपानेले भने, "विपद् व्यवस्थापन गर्ने निकाय तथा सुरक्षा निकायलाई तयारी हालतमा बस्नका लागि भनिएको छ। जनतालाई जोखिमयुक्त नदी किनारमा नजान र जोखिमयुक्त गतिविधि पनि नगर्न अपिल गर्न चाहन्छु।"

विशेषगरी नदीहरूमा धेरै पानी भएको बेला हिँडडुल गर्न वा गाडी लैजान खोज्दा बगाएर धेरै घटना भएका हुनाले त्यसो नगर्न उनले आग्रह गरेका छन्।

राहत

आइतवार जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गामा गएको पहिरोमा परेर हराइरहेका एक जनाको खोजी सोमवार पनि जारी रहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार जिल्ला दैवीप्रकोप समिति तथा प्रदेश सरकारको पहलमा आइतवार मृत्यु भएका आठ जनाको परिवारलाई प्रतिमृतक सवा लाख रुपैयाँ दिइँदैछ।

यो वर्ष हालसम्म प्राकृतिक प्रकोपका कारण सात सयको हाराहारीमा मानिसहरूको ज्यान गइसकेको गृह मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

तस्वीर कपीराइट RSS
Image caption निरन्तर वर्षापछि उर्लिएको बाग्मती नदी

ठाउँठाउँमा बाढी र पहिरोका खबरहरूका माझ सोमवार संसद्‌मा सांसदहरूले पीडितको राहतका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

जाजरकोटकी सांसद सत्या पहाडीले भनिन्, "केही दिन यताको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट जाजरकोटसहित थुप्रै जिल्लामा जनधनको क्षतिका साथै जनजीवन कष्टकर बनेको छ। पीडितलाई उचित राहत र विस्थापितलाई आवश्यक व्यवस्थापनको निम्ति आग्रह गर्दछु।"

मौसममा सुधारकहिले?

जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूका अनुसार हाल भइरहेको वर्षाको क्रममा सुधार आउन बुधवारसम्म पर्खनुपर्ने हुनसक्छ।

मौसमविद् मीन अर्याल भन्छन्, "समग्र देशभरि नै हलुकादेखि मध्यम वर्षा भइरहेको स्थिति छ। विशेषगरी न्यून चापीय रेखा अहिले नेपालको पश्चिम र मध्य भाग नजिकै रहेको छ।"

"पर्सि बुधवारबाट मौसममा सुधार हुनसक्छ। तर वर्षायाम भएकाले हलुका र मध्यम वर्षा त भइहन्छ। ठूलो वर्षामा चाहिँ कमी आउँछ।"

उनका अनुसार सोमवार सबभन्दा धेरै पानी पश्चिमको सुर्खेत र नेपालगन्जनजिकैको क्षेत्रमा पर्‍यो।

काठमाण्डू उपत्यकामा पनि धेरै पानी पर्नुका साथै स्थानीय नदीहरूमा पानीको स्तर बढेको छ।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार