प्राचीन भारतका हिन्दू साँच्चै सहिष्णु थिए?

हिन्दू

तस्बिर स्रोत, Getty Images

प्राचीन एवम् मध्यकालीन भारतीय इतिहासका जानकार द्विजेन्द्र नारायण झाले 'मिथ अफ द होली काउ' नामक किताब लेखेका छन्। त्यसमा उनले प्राचीन भारतमा गाईको मासु खाने गरिन्थ्यो भन्ने प्रमाणित गर्न खोजेका छन्। हालै प्रकाशित आफ्नो किताब 'अगेन्स्ट द ग्रेनः नोट्स अन आइडेन्टीटी, इन्टलरेन्स एण्ड हिस्ट्री' मा झाले प्राचीन भारतमा रहेको असहिष्णुता लगायतका विषयमाथि प्रकाश पारेका छन्, जुन विषयको सामना भारतले अहिले राजनीतिक, सामाजिक तथा सांस्कृतिक स्तरमा गरिरहेको छ। उनको किताब र भारतसँग जोडिएका समसामयिक विषयमा बीबीसी भारतीय भाषा सेवाकी सम्पादक रूपा झाले ईमेलमार्फत प्रश्नहरू सोधेकी थिइन्।

हिन्दुत्वका विचारकहरू प्राचीन भारतलाई स्वर्ण युग भन्छन्, जसमा सामाजिक सद्‌भाव थियो। जबकि मध्यकालीन भारतलाई उनीहरू आतङ्कको कालखण्ड भन्छन्, जसमा मुस्लिम शासकहरूले हिन्दूमाथि अत्याचार गरेका थिए। ऐतिहासिक तथ्यहरूले यसबारे के भन्छन्?

प्राध्यापक डीएन झाः ऐतिहासिक तथ्यहरूका अनुसार भारतमा कुनै स्वर्ण युग नै थिएन। प्राचीनकाललाई हामी सामाजिक सद्‌भाव र सम्पन्नताको कालखण्ड मान्न सक्दैनौँ। प्राचीन भारतमा कडा जातीय व्यवस्था रहेको कुराको पर्याप्त प्रमाण छन्।

गैरब्राह्मणहरूमाथि सामाजिक, कानूनी र आर्थिक रूपले कमजोर बनाउने कैयौँ प्रतिबन्ध लगाइन्थ्यो। खासगरी शूद्र अथवा अछूत त्यसको शिकार थिए। जसका कारण प्राचीन भारतीय समाजमा कटुता थियो।

अहिलेका अम्बानी वा अडानी जस्तै त्यतिबेलाका उच्च जातिका मानिसहरू, सामन्त र जमिन्दारहरू सम्पन्न र खुशी थिए। त्यस्ता मान्छेका लागि त सधैँ स्वर्ण युग रहिआएको छ।

प्राचीन भारतमा स्वर्ण युग थियो भन्ने धारणा १९औँ शताब्दीको अन्त्यतिर आएको हो।

२०औँ शताब्दीको शुरूतिर इतिहासकारहरूले गुप्त राजवंशले राष्ट्रवादलाई ब्युँताएको भन्न थाले। गुप्त शासकहरूको शासनकालमा स्वर्ण युग भएको बताइन्छ।

तर डीडी कोसांबीको शब्दमा भन्नुहुन्छ भने गुप्त राजवंशले राष्ट्रवादलाई पुनर्जीवित गरेको होइन। बरू राष्ट्रवादले गुप्त राजवंशलाई पुनः शक्तिशाली बनाएको हो।

खासमा इतिहासकारहरूले सामाजिक सद्‌भाव र सम्पन्नतासहिको स्वर्ण युगको परिकल्पनाको भारतमा मात्रै नभइ संसारभरि दुरूपयोग गरेका छन्।

जहाँसम्म मध्यकालीन मुस्लिम शासकहरूको आतङ्क र अत्याचार भएको शासनको कुरा छ, मुस्लिम शासकहरूलाई दानवको रूपमा प्रस्तुत गर्ने क्रम पनि १९औँ शताब्दीको अन्त्यतिरै शुरू भएको हो।

तस्बिर स्रोत, Getty Images

किनकि त्यसबेलाका केही सामाजिक सुधारक र प्रभावशाली मानिसले मुस्लिमहरूको छवि बिगारेर पेश गर्ने कलाको आफूमा विकास गरेका थिए।

उदाहरणका लागि दयानन्द सरस्वती (१८२४-१८८३) ले आफ्नो किताब सत्यार्थ प्रकाशको दुईवटा अध्याय इस्लाम र ईसाइ धर्मलाई नराम्रो देखाउनमा समर्पित गरेका छन्।

त्यसैगरी विवेकानन्द (१८६३-१९०२) ले लेखेका छन्, "प्रशान्त महासागरदेखि एट्लान्टिकसम्म पाँच सय वर्ष पूरै विश्वमा रगत बगिरह्यो। यही हो इस्लाम धर्म।"

मुस्लिम शासकहरूलाई नराम्रो देखाएर, उनीहरूको छवि बिगारेर, उनीहरूलाई अत्याचारी साबित गर्ने सिलसिला त्यतिबेलै शुरू भयो र त्यो क्रम अहिले पनि जारी छ।

हिन्दुत्वका विचारक र अनुयायीहरू मुस्लिम शासकलाई षड्यन्त्रकारी र हिन्दू धर्म परिवर्तन गराउने बताउने गर्छन्, ती शासक जसले मन्दिर भत्काए अनि हिन्दू महिलाहरूमाथि बलात्कार गरे।

तर मध्यकालीन भारत र मुस्लिम शासकहरू बारेका यस्ता धारणालाई ताराचन्द, मोहम्मद हबीब, इरफान हबीब, शीरीन मूसवी, हरबंश मुखिया, आड्रे ट्रस्क र अरू केही इतिहासकारले चुनौती दिएका छन्।

उनीहरूले अनुसन्धानबाट प्रमाणित गरेका छन् कि मुस्लिम शासकहरूको ज्यादतीलाई निकै बढाइचढाइ गरी प्रस्तुत गरिएको छ।

मुस्लिम शासकहरूले त्यतिबेला गरेको दमन राजनीतिक आवश्यकता भएको उनीहरूले तर्क गरेका छन्।

साम्राज्यवादभन्दा पहिला हिन्दू र मुस्लिमबीच खासै कटुता रहेका धेरै प्रमाण भेटिँदैन। वास्तविकता के हो भने मुगलहरूको शासनकालमा संस्कृतसहितको संस्कृति निकै फस्टायो।

तपाईँले आफ्नो नयाँ पुस्तक 'अगेन्स्ट द ग्रेनः नोट्स अन आइडेन्टीटी, इन्टलरेन्स एण्ड हिस्ट्री' मा ब्राह्मणवादीहरूले बौद्ध धर्मलाई कहिल्यै स्वीकार नगरेको भन्नुभएको छ। त्यसको अर्थ के हो? अहिले जसरी दलितहरूले आक्रामकताको सामना गर्नुपरिरहेको छ, त्यसलाई कसरी हेर्नुहुन्छ?

प्राध्यापक डीएन झाः हिन्दुत्ववादी असहिष्णुताबारे मैले पहिला पनि चर्चा गरेको छु। त्यसको आधारमा यो स्पष्ट हुन्छ कि ब्राह्मणहरू सधैँ बौद्धमार्गीका विरोधी रहिआएका छन्।

वर्तमान समयमा खासगरी बौद्धमार्गी दलितहरूलाई जस्तो व्यवहार गरिँदैछ, त्यसको जड हिन्दू धर्मको जाति व्यवस्थामा छ।

तस्बिर स्रोत, Getty Images

हिन्दू वर्ण व्यवस्थामा दलित सबैभन्दा पुच्छारमा हुन्छन्। त्यसको एउटा कारण उनीहरू गाईको मासु खान्छन्, जुन कार्य उच्च जातिका हिन्दूहरूको मान्यता विपरीत हो।

त्यही कारणले गाईको मासु खाने वा बेचबिखन गर्नेहरूमाथि भिडले पछिल्लो समय जुन आक्रमणहरू गरिरहेका छन्, त्यसमा उग्र हिन्दूवादीहरूको संलग्नता रहेको देखिन्छ।

हिन्दू धर्म सहिष्णु भएको कैयौँ उदाहरण दिइन्छ। तपाईँ सहिष्णु मान्नुहुन्छ?

प्राध्यापक डीएन झाः मेरो नजरमा सबै धर्मले मान्छेलाई विभाजित गर्ने काम गर्छन्। यो मामिलामा हिन्दू धर्म पनि कम छैन।

उदाहरणका लागि ब्राह्मणवादी र श्रमणवादी धर्म (जैन र बौद्ध) बीच प्राचीनकालदेखि मध्यकालसम्म लामो द्वन्द्व रहिआएको छ।

प्राचीनकालीन ग्रन्थहरूमा पनि यी दुईबीच कटुता रहेको प्रमाण भेटिन्छन्। जस्तो कि पतञ्जलीले आफ्नो ग्रन्थ महाभाष्यमा ब्राह्मण र श्रमणबीच सर्प र न्याउरी मुसोको जस्तै शत्रुता रहेको लेखेका छन्।

ब्राह्मणवाद र बौद्ध धर्मबीच स्थायी शत्रुताको झल्को दुवै धर्मका ग्रन्थमा हामी पाउन सक्छौँ।

तस्बिर स्रोत, AFP

त्यसबाहेक कैयौँ तथ्यले पनि त्यो शत्रुतालाई इङ्गित गर्छन्, जसबाट बौद्ध सम्पदालाई भत्काइएको र त्यसमाथि कब्जा गरिएको पुष्टि हुन्छ।

भारतबाट बौद्ध धर्म हराउनुको सबैभन्दा ठूलो कारण ब्राह्मणवादीहरूले आफ्नो शत्रु मान्नु र उनीहरूप्रतिको आक्रामक रवैया हो।

ब्राह्मणवादीहरूले बौद्ध धर्मको सत्यतालाई स्वीकार्न सकेनन्। अतः हिन्दू धर्म अति सहिष्णु छ भन्नु गलत हुनेछ।

भारत बारेको अवधारणा कसरी र कहिले आयो?

प्राध्यापक डीएन झाः हिन्दुत्वका विचारकहरूले भारत अनन्तकालदेखि थियो भन्ने प्रचार लगातार गर्दै आएका छन्।

तर भौगोलिक भारतको उल्लेख वैदिक ग्रन्थमा पनि पाइँदैन, जुन भारतका सबभन्दा पुराना साहित्यिक कृतिहरु हुन्।

तर वेदमा कैयौँ ठाउँमा भारतका कबिलाबारे चर्चा गरिएको छ।

भारतवर्षको पहिलो प्रमाण ईसापूर्वको पहिलो शताब्दीमा राजा खारवेलाको भ्रमणक्रमको एक शिलालेखमा देख्न पाइन्छ।

हामी भन्नसक्छौँ भारतवर्षको अर्थ आजको उत्तर-भारत थियो होला। तर त्यसमा मगध सामेल थिएन।

महाभारतमा जुन भारतको उल्लेख छ त्यो ठूलो क्षेत्रमा फैलिएको थियो। तर त्यसमा पनि दक्कन र सुदूर दक्षिणी भारतबारे उल्लेख गरेको पाइँदैन।

पुराणमा कैयौँ पटक भारतवर्ष उल्लेख गरिएको छ। तर हरेक पटक यसको दायरा फरक फरक बताइएको छ।

कुनै पुराणमा यसलाई चन्द्रमाको आकारको बताइएको छ र कैयौँ ठाउँमा यसको आकार तीनकुने बताइएको छ।

कुनै ठाउँमा यसलाई नमिलेको चतुर्कोणको आकारको बताइएको छ। केही पुराणमा यसलाई धनुषजस्तै बताइएको छ।

तर ध्यान दिनुपर्ने कुरा के छ भने प्राचीनकालमा कुनै पनि भारतीय ग्रन्थमा भारतलाई मातृभूमि या भारतमाता भनिएको छैन।

भारतलाई स्त्री रूप या भारतमाता भनेको पहिलोपटक बंगाली लेखक द्विजेन्द्र रायको एउटा कवितामा देखिन्छ। त्यसपछि बंकिम चटर्जीको आनन्दमठमा भारतमाता उल्लेख गरिएको छ।

भारतलाई मानवीय स्वरूपमा सन् १९०५ मा अवनीन्द्रनाथ टैगोरले बनाएको चित्रकलामा देख्न पाइन्छ।

जसमा भारतमातालाई हिन्दू वैष्णव सन्यासिनीको रूपमा प्रस्तुत गरिएको छ।

भारतमाताको पहिलो नक्शा वाराणसीमा सन् १९३६ मा बनेको भारतमाता मन्दिरमा देख्न सकिन्छ।

अहिलेको समयमा हिन्दुत्वको पहिचानलाई तपाईँले कसरी हेर्नुहुन्छ?

प्राध्यापक डीएन झाः हिन्दुत्व यो देशमा लामो समयदेखि चल्दै आएका तमाम मान्यता, परम्परा, आस्था र कर्मकाण्डको संयोजन हो।

तर अहिलेका हिन्दुत्ववादीहरू यसलाई एक प्रकारको मान्यता, आस्था र कर्मकाण्डी मानिसको धर्म बनाउन लागिपरेका छन्।

यो धर्मको विविधतालाई नकारेर यसलाई एकै प्रकारका मानिसले उग्र धर्मको रूपमा प्रस्तुत गरिरहेका छन्।

नयाँ हिन्दुत्वमा गाईको उपासनालाई सर्वोपरि बताउने गरिएको छ। भगवान् रामलाई सबै देवीदेउताभन्दा बढी पूज्य, उपल्लो कोटीको र रामायणलाई सबैभन्दा उत्तम शास्त्र बताउने गरिएको छ।

तस्बिर स्रोत, Getty Images

मैले त केही समय पहिले यो पनि सुनेँ कि केही हिन्दुत्ववादी संगठनले मनुस्मृतिलाई आजको समय सान्दर्भिक बनाउन फेरि लेख्ने कोशिश गरिरहेका छन्।

यसबाट देखिन्छ कि आज हिन्दुत्वको एउटा बनावटी पहिचान बनाइँदैछ जुन पहिले थिएन। फलस्वरूप भारत आज अन्धो युगतर्फ धकेलिँदैछ, जहाँ धार्मिक सांस्कृतिक र राजनीतिक परिचर्चा विषाक्त बनेको छ।

तपाईँका अनुसार कुन समयदेखि गाई भावनात्मक सांस्कृतिक पहिचानको रूपमा आयो? अहिले यो पहिचानको उपयोग कसरी गरिँदैछ?

प्राध्यापक डीएन झाः त्यसो त मासु बेचबिखनविरुद्ध भावनात्मक माहोल प्राचीनकाल र मध्यकालमै बनाउन थालिएको थियो। तर भारतमा इस्लाम धर्म आएपछि त्यसविरुद्ध माहोल थप आक्रामक बन्यो।

रमाइलो कुरा त के छ भने जुन ब्राह्मणले वैदिककालमा गाईको मासु खान्थे उनैले मुस्लिमलाई गाईको मासु खाने भन्ने छवि बनाइदिए।

मध्यकालीन भारतमा गाई एक विशेष सांस्कृतिक प्रतीकको रूपमा स्थापित भएकोमा कुनै शङ्का छैन।

गाईको यो छवि मराठीहरू सत्तामा आएपछि झन् मजबुत बन्यो।

मराठा राजा शिवाजीलाई त भगवान्‌कै अवतार मानिन्थ्यो। उनको जन्म ब्राह्मण र गाईको सेवाकै लागि भएको थियो।

गाईको नाममा एकजुट हुने पहिलो ठूलो प्रयत्न पञ्जाबमा भएको थियो। सन् १८७० को दशकमा सिखहरूको कूका आन्दोलनका बेला गाईलाई राजनीतिक लाइनका लागि उपयोग गरिएको थियो।

त्यसैबेला दयानन्द सरस्वतीले सन् १८८२ मा पहिलो गोरक्षिणी सभा गठन गरे। गोरक्षाका लागि चलाइएको आन्दोलनले तीव्रता लिने क्रममा गाई माता बनिन्।

तस्बिर स्रोत, Getty Images

भारतलाई भारतमाता बनाइरहेका बेला त्यसै तरिकाले यो पनि भइरहेको थियो। अहिले एउटा नयाँ शब्द राष्ट्रमाता सुन्न पाइएको छ।

यो नाम मलिक मोहम्मद जायसीको पद्‌मावत ग्रन्थको एउटा पात्र पद्‌मिनीलाई दिइएको छ। यी सबै कुराले भारतको सामाजिक संरचनालाई नोक्सान पुर्‍याइरहेको छ।

सन् २०१९ को चुनावभन्दा पहिले राममन्दिरको राजनीति फेरि अगाडि आउनेछ। तपाईँले किताबमा १७औँ-१८औँ शताब्दीसम्म उत्तर भारतमा कतै राममन्दिर हुने गर्थ्यो भनेर लेख्नुभएको छ नि।

हो मध्य प्रदेशमा १२औँ शताब्दीमा बनेका एक-दुईवटा राम मन्दिर भेटिए।

साँच्चै भन्ने हो भने अयोध्या जैन र बौद्ध धर्मको ठूलो केन्द्र थियो। सन् १५२८ मा मीर बाकीले त्यहाँ मस्जिद बनाउन लगाए, जहाँ कुनै राममन्दिर थिएन।

तपाईँका अनुसार भारतलाई सबैका लागि राम्रो देश बनाउन इतिहासले कति ठूलो भूमिका खेल्न सक्छ?

प्राध्यापक डीएन झाः भारतलाई एउटा असल देश बनाउन इतिहासकारहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। अहिलेसम्म इतिहासकारहरूले ओजिला शब्द मात्र भएका किताब धेरै लेखेका छन्।

प्राविधिक लवजमा जोड दिइएको छ। यस्ता किताब आममानिसले बुझ्न सक्दैनन्।

तस्बिर स्रोत, Getty Images

यदि इतिहासकारले अंग्रेजीका साथै क्षेत्रीय भाषामा पनि किताब लेखे भने त्यसले सर्वसाधारणलाई इतिहास बुझ्न मद्दत पुग्ने थियो।

उनीहरूले ऐतिहासिक घटनालाई बढी तार्किक ढंगले हेर्न सक्थे।

धर्मप्रति तार्किक बुझाइ हुने हो भने समाजमा मिलजुल बढ्नेछ।

बेतुकको सोचेले समाजमा दुर्भावना मात्रै बढाउँछ।