जर्मनीः यौन दुराचारीलाई छोरा बेच्ने जोडी जेलचलान

  • 7 अगस्ट 2018
दोषीहरु तस्वीर कपीराइट Getty Images

दक्षिण जर्मनीमा आफ्नो छोरामाथि यौन दुर्व्यवहार गरेको तथा इन्टरनेटमार्फत् अन्य बाल यौन दुराचारीहरूलाई छोरा बेचेकी एकजना महिलालाई १२ वर्षको सजाय सुनाउँदै जेल चलान गरिएको छ।

फ्राइबर्ग अदालतले ती महिलाका पुरुषसाथीलाई पनि समान १२ वर्षको जेलसजाय सुनाएको छ।

गत जून महिनामा सो मुद्दासम्बन्धी सुनुवाइ सुरु हुँदा ती बालक ९ वर्षका थिए।

'बाल यौन दुराचारको गन्तव्य बन्दै नेपाल'

'बाल यौन दुर्व्यवहार राष्ट्रिय पीडा'

गत वर्ष एउटा गोप्य सूचनाका आधारमा ती दुई जनालाई पक्राउ गरिएको थियो। उनीहरू त्यस्तो कार्य गरेको स्वीकार गरिसकेका छन्।

दोषी

अहिले १० वर्ष लागेका ती बालकमाथि उनकी आमा र आमाका पुरुषसाथीले दुई वर्षसम्म दुर्व्यवहार गरेका थिए।

डार्क नेट भनिने मूलधारका सर्च इन्जिनहरूको पहुँच भन्दा बाहिर रहेको इन्टरनेट क्षेत्रमा उनीहरूले ती बालकमाथि यौन दुर्व्यवहार गरिएको भिडिओहरू राखेका थिए।

ती बालकमाथि दुर्व्यवहार गरेका अन्य कैयौँ मानिसहरूविरुद्ध पनि हालैको महिनामा जेल सजाय सुनाइएको छ।

बलात्कार, बालबालिकामाथि चरम यौन शोषण, बाल यौन दुराचारसम्बन्धी अश्लील भिडिओहरु वितरण गरेको र जबर्जस्ती त्यस्तो कार्यमा लगाएको अभियोगमा उनीहरू दोषी भेटिएका थिए।

अब ती बालकसहित उनीहरूको दुर्व्यवहारमा परेकी अर्की एकजना तीन वर्षीया बालिकालाई उनीहरूले ४९ हजार २०० डलर क्षतिपूर्तिस्वरूप दिनुपर्नेछ।

प्रभाव

हाल ती बालक कानुनी रुपमा तोकिएको उनका नयाँ अभिभावकसँग बसिरहेका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
तारक धितालसँगको कुराकानी

ती बालकमाथि भएको दुर्व्यवहार रोक्न असफल भएको भन्दै ब्याडेन-वोरटम्बर्गस्थित बालकल्याण अधिकारीहरूको आलोचना भएको जर्मन समाचार विवरणहरूमा जनाइएको छ।

ती बालकलाई केही समयका लागि उनकी आमा र उनका पुरुषसाथीबाट सामाजिक कार्यकर्ताहरूले अलग गराएका थिए तर पछि पुनः फिर्ता गरेका थिए।

स्पीगल समाचार वेबसाइटका अनुसार बालकल्याण अधिकारीहरूले अघिल्लो घटनासम्बन्धी सूचना आदानप्रदान गरिदिएको भए उनीहरूले गरेका अपराधसम्म पुग्न सकिने थियो।

घटना हेरिरहेका एकजना मनोविश्लेषकलाई उद्भृत गर्दै सो बेवसाइटले ती महिलाले आफ्नो छोरामाथि दुर्व्यवहार गर्दा आफ्नो पुरुषसाथीको प्रभावमा परेर भनेर पेश गरेको दाबी झुटो भएको बताएको छ।