अमेरिका: अन्तरिक्ष फौज गठन गर्ने प्रस्ताव प्रस्तुत

  • 10 अगस्ट 2018
डोनल्ड ट्रम्प

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले नयाँ स्पेस फोर्स अर्थात् अन्तरिक्ष फौजबारेका विवरणहरू सार्वजनिक गर्दै अब उनकै शब्दमा "नयाँ युद्धभूमि"को तयारीमा जुट्ने बेला आएको बताएका छन्।

उनले सन् २०२० सम्ममा सेनाको छैठौँ शाखाको निर्माण गर्न र पाँच वर्षको लागि आठ अर्ब डलर लगानी गर्ने प्रस्ताव पारित गर्न अमेरिकी कङ्ग्रेसलाई आग्रह गरेका छन्।

अन्तरिक्षमा उत्पन्न हुन थालेका खतराहरूको चर्चा गर्ने क्रममा उनले चीन र रुसले अन्तरिक्षको कक्ष नजिकै आफ्ना भूउपग्रह ल्याउन थालेको बताए। उत्तर कोरिया र इरानबाट समेत खतरा उत्पन्न हुनसक्ने उनको भनाइ छ।

त्यस्ता क्रियाकलापका कारण अमेरिकी अन्तरिक्ष प्रणालीहरूमाथि अन्तरिक्षमा अभूतपूर्व खतराहरू सिर्जना भइरहेको उनले बताए।

तस्वीर कपीराइट TRUMP 2020

योजना

सेनाको छैठौँ शाखा गठनका लागि योजनाहरू बनाउँदै उपराष्ट्रपति पेन्सले संसद्लाई अन्तरिक्ष सुरक्षा प्रणालीका लागि अर्को पाँच वर्षमा आठ अर्ब डलर लगानी गर्ने प्रस्ताव पारित गर्न आह्वान गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तरिक्ष फौज गठन गर्ने आफ्नो आशय रहेको बेलाबेला बताउँदै आएका छन्। अहिले उपराष्ट्रपति माइक पेन्सले पेन्टागनमै गएर त्यसबारे प्रशासनको दृष्टिकोणबारे बोलेका हुन्।

उनले आफ्नो योजना नयाँ पुस्ताको नयाँ प्रविधिमा आधारित निष्क्रिय पार्न नसकिने ठाउँको पहिचान गर्ने (जीपीएस) र सञ्चार भूउपग्रहको निर्माण गर्ने रहेको बताएका हुन्।

त्यसका साथै उनले सानो क्षेप्यास्त्रको सूचना दिने कौशलको विकास गर्ने आफ्नो योजनामा रहेको बताएका छन्।

चुनौती

पेन्सले अमेरिकाका प्रतिद्वन्द्वीहरूले पहिला नै अन्तरिक्षलाई लडाइँ गर्ने युद्ध क्षेत्रमा परिणत गरिसकेको बताउँदै अमेरिका यो चुनौतीबाट पछि नहट्ने बताएका हुन्।

अमेरिकाको नयाँ स्पेस फोर्स योजनाबारे कङ्ग्रेसमा बहस हुन बाँकी छ।

अहिलेको योजनानुसार नै भए सेना, नौसेना, वायुसेना, विशेष फौज, तटरक्षकसहित अन्तरिक्ष फौज छैठौँ सैन्य सेवा हुनेछ।

तर स्पेस फोर्स योजनाका आलोचकहरूका अनुसार त्यो कार्य अहिले नै अमेरिकी एअर फोर्सले कुशलतापूर्वक गरिरहेको छ र नयाँ आयोजनाले प्रशासनको खर्च झनै बढाइदिनेछ।