मोन्सान्टोलाई २९ करोड डलर हर्जाना तिर्न आदेश

  • 11 अगस्ट 2018
विषादी तस्वीर कपीराइट AFP

विश्वभरि नै विवादास्पद रहेको बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर हर्जाना तिर्न आदेश जारी भएको छ।

एकजना व्यक्तिले ग्लाइफोसेट नामक झारनाशक विषादीले आफूलाई क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दामा मोन्सान्टोलाई दण्डात्मक हर्जना तिर्न आदेश दिइएको हो।

एउटा ऐतिहासिक मुद्दामा क्यालिफोर्नियाको जुरीले मोन्सान्टो कम्पनीका राउन्ड अप र रेन्जरप्रो लगायतका झारनाशक विषादीहरू खतरनाक रहेको र त्यसबारे उपभोक्तालाई सचेत गराउन उक्त कम्पनी विफल भएको जनाएको हो।

ग्लाइफोसेट नामक विषादीले क्यान्सर हुनसक्छ भन्ने खालको अदालतमा पुगेको यो पहिलो मुद्दा हो।

उजुरी

मोन्सान्टोले भने ग्लाइफोसेटले क्यान्सर हुनसक्छ भन्ने कुरा अस्वीकार गरेको छ र अहिलेको आदेशविरुद्ध पुनरावेदन गर्ने जनाएको छ।

"जुरीले यसलाई गलत रूपमा लिएको छ," सान फ्रान्सिस्कोस्थित अदालतबाहिर उक्त कम्पनीका उपाध्यक्ष स्कट प्याट्रिजले भने।

किसान किन विषादी प्रयोग गर्न वाध्य छन्?

तरकारी: 'विषादीबारे अझै ढुक्क हुन सकिन्न'

यो मुद्दाका उजुरीकर्ता डिवेन जनसन मुद्दा हाल्ने अमेरिकाभरिका करिब ५ हजारमध्येका एक हुन्।

क्यालिफोर्नियाले गरेको यो आदेशले मोन्सान्टोविरुद्धका अरू सयौँ उजुरीको प्रतिनिधित्व गर्ने सञ्चारकर्मीले बताएका छन्।

तस्वीर कपीराइट AFP

सन् २०१४ मा जनसनलाई एक प्रकारको क्यान्सर लागेको देखिएको थियो।

उनका वकिलहरूले उनले क्यालिफोर्नियाको बेनिसियास्थित विद्यालयमा काम गर्दा निरन्तर रूपमा रेन्जरप्रो नामक झारनाशक विषादी प्रयोग गर्ने गरेको बताएका छन्।

सहानुभूति

शुक्रवार न्यायाधीशहरूले मोन्सान्टो कम्पनीको झारनाशक विषादीले जनसनलाई अहिले जस्तो रोगी बनाउन उल्लेख्य भूमिका खेलेको बताएको हो।

ग्लाइफोसेटको प्रयोग लामो समयदेखि विवादमा पर्दै आएको छ।

संयुक्त राष्ट्रसंघको एउटा अध्ययनले पनि यो विषादीले क्यान्सर लगाउनसक्ने जनाएको छ। तर अन्य केही वैज्ञानिकहरूले चाहिँ यो प्रयोग गर्न सुरक्षित नै हुने बताएका छन्।

तस्वीर कपीराइट AFP

आठ साता लामो सुनुवाइपछि न्यायाधीशहरूले कृषिसम्बन्धी बहुराष्ट्रिय कम्पनीलाई सबै गरेर करिब २९ करोड डलर दण्डात्मक हर्जाना तिराउने आदेश दिएका हुन्।

एउटा विज्ञप्तिमा मोन्सान्टोले जनसन र उनको परिवारप्रति आफ्नो सहानुभूति रहे पनि आफ्नो उत्पादनको बचाउमा जोडदार रूपमा लाग्ने जनाएको छ।