‘जदौ’: हेपिएकाहरूको समर्थनमा, सामन्ती संस्कारविरुद्ध

  • 11 अगस्ट 2018
दाहाल यज्ञनिधि तस्वीर कपीराइट facebook/dahalyagyanidhi

साहित्यकार दाहाल यज्ञनिधिको इच्छा अनुसार उनको शब महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बुझाइएको छ। उनको शुक्रबार निधन भएको थियो। स्वर्गीय दाहालबारे करिब ४५ वर्ष उनीसँग संगत गरेका लेखक पुरुषोत्तम दाहाल लेख्छन्:

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो

इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो

कविशिरोमणि लेखनाथ पौड्यालको कालजयी कालमहिमा कविताले भनेजस्तै गरी दाहाल यज्ञनिधिलाई पनि कालले टप्प टिपेर लगेको छ।

झण्डै २० वर्षअघि दुवै मिर्गौला फेरेका उनी ६ वर्षदेखि फेरिएका मिर्गौला समेत बिग्रेर जीवनगतिलाई धानिरहेका थिए।

छन्दलाई लोकप्रिय

वि.सं. २०३४ सालबाट रेडियो नेपालमा 'साहित्य संसार' र 'हाम्रो संस्कृति' कार्यक्रमदेखि एचबिसि एफएम हुँदै केही समययता रेडियो अन्नपूर्ण नेपालमा सुनिरहेको साहित्यिक अभिवादन 'जदौँ' आफैमा परिचय बनेको छ दाहाल यज्ञनिधिको।

उनले जदौँका निबन्धहरु प्रकाशित गरेका छन् भने जदौंको जीवनी लेख्ने रमेश शुभेच्छुकले उनका विविध आयामहरु खोतल्ने काम गरेका छन्।

दाहाल यज्ञनिधि ६५ वर्ष अगाडि पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेलस्थित खाल्लेको सामान्य परिवारमा जन्मेर धरान र त्यसपछि काठमाण्डूको वाल्मिकि क्याम्पसमा अध्ययन गर्दैगर्दा साहित्यतर्फ उन्मुख भएका हुन्।

नेपाली साहित्यमा छन्द विधालाई उनको वाचनकलाले अत्यन्त लोकप्रिय बनाउन पुग्यो।

त्यतिबेलाको एक मात्र विद्युतीय संचारमाध्यम रेडियो नेपाललाई आमनागरिकमा अझ प्रिय बनाउन साहित्य संसारले छुट्टै भूमिका निर्वाह गर्‍यो भने अनेक साहित्यकारहरूका लागि प्रेरणा बन्यो।

एकातिर शिक्षण पेशा, अर्कातिर साहित्य लेखनीको दोहोरो जिम्मेदारी लिँदा पनि उनले आफूलाई अब्बल बनाए।

कुसंस्कारविरुद्ध

नेपाली समाजमा हेपिएकाहरूले प्रयोग गर्ने 'जदौँ' अभिवादनलाई दाहाल यज्ञनिधिले ती हेपिएकाहरूको समर्थनमा र सामन्ती चिन्तन तथा संस्कारविरुद्ध प्रयोग गरे। कुसंस्कारविरुद्ध उनको चर्को आवाज हुन्थ्यो। कुरीतिविरुद्ध उनले शब्दप्रहार गरे, स्वतन्त्रताका पक्षमा आफूलाई स्थापित गराए, सरल जीवनले उनी परिचित भए।

निर्दलीयकालमा स्वतन्त्रता आन्दोलनका नेता एवम् साहित्यकार बिपी कोइरालाबारे रेडियोमा सामाग्री प्रसार गर्ने, बहुदलकालमा शासकहरूको समेत कठोर आलोचना गर्ने दाहाल यज्ञनिधिले लोकभाका, लोकचिन्तन, विपन्न वर्गको पक्षपोषण जति गरे त्योभन्दा बढी नेपाली साहित्यको उत्थान, नेपाली संस्कृतिको परिमार्जनमा सहयोग पुर्‍याए।

उनले सामन्ती ढर्रा, अन्धविश्वास, भेदभाव, छुवाछुत सबैबाट मुक्ति खोज्न साहित्यको सेवा पनि गरे।

दाहाल यज्ञनिधि प्रतिआज मात्र श्रद्धाञ्जलिमा कवि प्रह्लाद पोख्रेलले लेखेका छन्:

ऊर्जायुक्त बनेर जो अघि सर्‍यो संकल्प बोकी नयाँ

योद्धा जागृतिपूर्ण जीवन दिने थाकेन कैल्यै यहाँ

त्यो योद्धासित गाँसियो हृदयको सद्भावनाको चुली

हे दाहाल जदौँ छ हार्दिक बनी स्वीकार श्रद्धाञ्जलि