पाण्डे नेपालका, गुप्ता भारतका, पीडा उस्तै
- विष्णु पोखरेल
- सम्वाददाता, बीबीसी न्युज नेपाली

तस्बिर स्रोत, RSS
भारतको राजधानी दिल्लीमा सुरक्षा गार्डको काम गर्ने अर्घाखाँचीका कृष्णप्रसाद पाण्डे र नेपालको राजधानी काठमाण्डूमा सडक व्यापार गर्ने भारत विहारस्थित मोतिहारीका सुरेन्द्रकुमार गुप्ताबीच चिनजान छैन।
तर, दशैँ-तिहार वा छठजस्ता मुख्य चाडपर्वका बेला स्वदेश फर्कँदा उनीहरूले भोग्ने पीडा भने उस्तै छ।
हरेक वर्ष नेपाल आउने बेला पाण्डेले सीमा नाकामा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहारको सामना गर्ने गरेको बताउँछन्, भने गुप्ताले भारत जाँदा नेपाली सुरक्षाकर्मीबाट।
हाल दिल्लीमा रहेका पाण्डेले खासगरी दशैँजस्ता चाडपर्वमा घर आउँदाको सीमामा समस्या भोग्नुपर्ने दुखेसो टेलिफोनमा सुनाए।
गुनासो
उनले भने, "पुलिसहरू आउँछन्, यसमा के राखेको छ भन्दै लौराले घोचेर झिलिझाम्टी तानेर कच्याककुच्चुक पारिदिन्छन्। सय दुई सय झारिहाल्छन्। नदिने हो भने झन् हैरानी गर्छन्। केही बोल्ने हो भने कुटाइसम्म खानुपर्छ।"
भारत बिहारका गुप्ताको भोगाइ पनि मिल्दोजुल्दो छ।
काठमाण्डूको हाँडीगाउँमा ठेलागाडामा खाजा बिक्री गर्ने गुप्ता छठ पर्वका बेला घर फर्कँदा पाण्डेको जस्तै पीडा भोग्नुपर्ने बताउँछन्।
उनी भन्छन्, "पैसा माग्छन्, दुई सय, तीन सय, पाँच सय जत्ति पनि माग्छन्, अनि लिएर छोड्छन्। नेपाल भारत सरकार मिलेर जाने र आउने बेलामा सजिलो बनाउनु पर्यो।"
नेपाल-भारत सीमा नाकामा पाण्डे र गुप्ताको जस्तो गुनासो गर्ने थुप्रै भेटिन्छन्।
र, यो समस्या अहिलेको मात्र भने होइन।
तस्बिर स्रोत, EMBASSY OF NEPAL
तर, दुवै देशका अधिकारीको गत शुक्रवार दिल्लीमा सम्पन्न सुरक्षा सहयोग बैठकले लामो समयदेखिका यस्ता गुनासा सम्बोधन गर्ने निर्णय गरेको जनाएका छन्।
सहयोग
तेस्रो सुरक्षा सहयोग सम्बन्धी उक्त बैठकमा नेपाली टोलीको नेतृत्व गरेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले भने, "नेपाल र भारतका नागरिकलाई विशेष चाडहरूमा आवतजावत गर्दा उनीहरूलाई सहयोग गर्नका लागि दुवै पक्षबाट हामीले सहायता कक्ष राख्ने निर्णय गरेका छौं। अब केही समस्या आए हामी मिलेर समाधान गर्छौं।"
सहमति अनुसार चाडै नै नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलले नाकाहरूमा दुवैतर्फ यस्तो कक्ष स्थापना गर्ने बताइएको छ।
झन्डै १८ सय किलोमिटर लामो खुल्ला सीमा रहेको नेपाल र भारतबीच सन् १९५० मा भएको मैत्री सन्धिअनुसार दुवै देशका नागरिक एक-अर्को देशमा निर्वाध रूपमा जान, बस्न र काम गर्न पाउँछन्।
तर, वर्षौदेखि दुवै देशका नागरिकले सुरक्षाकर्मीको दुर्व्यवहार र ठगिने गरेका घटना भोग्ने गरेको बताउने गरेका छन्।
सीमा क्षेत्रमा नागरिकले पाउने यस्तो सास्तीलाई समाधान गर्न दुई देशका उच्च अधिकारीबीच छलफल भएको यो पहिलो पटक हो।