सिरियाः हतियार भण्डारमा विस्फोट, ३९ को मृत्यु

भवन

तस्बिर स्रोत, AFP/GETTY IMAGES

सिरियाको पश्चिमोत्तर प्रान्त इड्लिबमा एउटा भवनमा एउटा विस्फोटन हुँदा कम्ती ३९ जना मारिएका छन्। मारिनेमध्ये १२ जना बालबालिका छन्।

विद्रोहीको नियन्त्रणमा रहेको इड्लिबको सार्मदा नगरस्थित सो भवनमा एकजना हतियार तस्करको अस्त्रभण्डार रहेको ठानिएको छ।

पर्यवेक्षकहरूले अझै पनि दर्जनौँ मानिस हराइरहेको बताएका छन्।

भग्नावशेष

हालैका महिनाहरूमा सिरियाली सरकारले सिरियास्थित कैयौँ विद्रोही इलाकामा कारवाहीलाई तीव्र पारेको छ।

इड्लिब कैयौँ विद्रोही तथा जिहादी समूहहरुको पकडमा रहेको अन्तिम क्षेत्र हो। सोही कारण रुस तथा इरानको समर्थन पाएको सिरियाली सरकारको अर्को निशाना इड्लिब हुन सक्ने बताइएको छ।

टर्कीको सीमानजिकै रहेको सार्मदा नगरमा रहेको सो भवनको भग्नावशेष हटाउन र त्यसमा फसेका मानिसलाई निकाल्न बुलडोजरहरूको प्रयोग गर्नु परेको एएफपी समाचार संस्थाका सम्वाददाताले बताएका छन्।

मानिसहरूले भरिएका सो भवन भग्नावशेषमा परिणत भएको विवरणमा जनाइएको छ।

कारण

यूकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले हराइरहेका दर्जनौँ मानिसको खोजी तथा उद्धार भइरहेको जनाएको छ।

केही विवरणहरूका अनुसार मृतकको सङ्ख्या अझ बढ्न सक्नेछ।

सो भवनमा आश्रय लिइरहेकामध्ये अधिकांश सिरियाको होम्स प्रान्तबाट विस्थापित भएर आएका सिरियाली नागरिकहरू रहेको विश्वास गरिएको छ।

विस्फोटको वास्तविक कारण थाहा भइसकेको छैन।