चिकित्सकहरू भन्छन्, "अपराधी ठानिए बिरामी कसरी जाँच्ने?"

  • 14 अगस्ट 2018
चिकित्सक संघ तस्वीर कपीराइट NMA

डाक्टरहरूलाई अपराधीसरह व्यवहार गरिएको कानुन लागु गर्न खोजेको भन्दै आन्दोलन घोषणा गरेको नेपाल चिकित्सक सङ्घले त्यसमा संशोधनको प्रतिबद्धता आए आन्दोलनमा पुनर्विचार गर्ने जनाएको छ।

मुलुकी ऐन विस्थापित गर्न ल्याइएको फौजदारी कसुरसम्बन्धी ऐनका केही प्रावधानले बिरामी जाँच्नै डरलाग्दो अवस्था सिर्जना गरेको भन्दै चिकित्सक सङ्घले आपत्ति जनाएको हो।

कानुनमा 'बदनियत चिताएर उपचार गर्न नहुने' र त्यसो गर्दा 'कसैको ज्यान गएमा ज्यान मारेसरह' सजाय हुनेजस्ता प्रावधान राखिएका छन्।

पर्खिने

चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भन्छन्, "ज्यानमारासरह व्यवहार गर्ने हो भने डाक्टरले कसरी बिरामी जाँच्ने, किन जोखिम उठाउने?"

उनका अनुसार त्यस्ता शब्द राख्नु भनेको 'बिरामी नजाँच' भनेजस्तै हो।

कानुन संशोधन नगरिए चिकित्सक दर्ता प्रमाणपत्र फिर्ता गर्ने घोषणा चिकित्सक सङ्घले गरेको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
चिकित्सक विनाको जाँच?

तर मङ्गलवार महान्यायाधिवक्ता र स्वास्थ्य मन्त्रीसँगको छलफल सकारात्मक भएको बताउँदै सङ्घकी कोषाध्यक्ष डा. रक्षा श्रेष्ठ भन्छिन्, "हामीलाई शब्दमा आपत्ति हो। त्यसमा संशोधन गर्ने प्रतिबद्धता आएमा त संसद्को प्रक्रिया पर्खिनै पर्छ।"

चिकित्सक सङ्घले मङ्गलवार कानुन मन्त्री भानुभक्त ढकालसँग छलफल गर्ने जनाएको छ।

संसद्‌मा बोल्दै मन्त्री ढकालले चिकित्सकहरूको मागबारे भने, "उहाँहरूको माग सम्बोधन गर्न सरकारलाई अप्ठेरो छैन। सम्बन्धित पक्षसँग कुरा गरेर कानुनलाई पूर्णता दिन सक्छौँ।"

चर्को विरोध

ऐनका कतिपय प्राविधिक विषयमा संशोधन प्रक्रिया चलिरहेको बेला उनी राष्ट्रिय सभामा बोल्दै थिए।

जहाँ विपक्षी दल कांग्रेसका सांसद तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले दुवै पक्षलाई सहमतिको विन्दु खोज्न सुझाव दिएका थिए।

उनको भनाइ थियो, "कानुनका प्रावधान के कारणले उचित छ? अन्तर्राष्ट्रिय प्रचलन के छ? भन्ने जवाफ सरकारले सन्तुष्ट हुने गरी दिनुपर्छ। र, चिकित्सकहरू पनि तयारीका साथ छलफलमा आउनु पर्छ।"

तस्वीर कपीराइट .

पत्रकार, महिला अधिकारकर्मीसहित चिकित्सक सङ्घबाट असन्तुष्टि व्यक्त गरिएको कानुन झन्डै वर्ष दिनअघि जारी भएको हो।

तर कार्यान्वयन हुने दिन भदौ १ गते नजिकिँदै गर्दा त्यसका प्रावधानहरूबारे चर्चा चल्न थालेपछि विरोधका स्वरहरू चर्किएका हुन्।