पाकिस्तानः इमरान खान प्रधानमन्त्रीमा चयन

खान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

राजनीतिमा प्रवेश गरेको झण्डै दुई दशकपछि खान देशको प्रमुख कार्यकारी पदमा पुग्न सफल भएका हुन्।

साना दलको समर्थनसँगै राजनीतिमा प्रवेश गरेको झण्डै दुई दशकपछि खान पाकिस्तानको प्रमुख कार्यकारी पदमा पुग्न सफल भएका हुन्।

पाकिस्तानको संसदले भूतपूर्व क्रिकेट खेलाडी इमरान खानलाई देशको २२औँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको छ।

गत जुलाईमा भएको चुनावमा खानको पीटीआई पार्टीले अत्यधिक सिटहरू जितेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

क्रिकेटका नायकबाट राजनीतिज्ञ: इमरान खानको यात्रा

साना दलको समर्थनसँगै राजनीतिमा प्रवेश गरेको झण्डै दुई दशकपछि उनी देशको प्रमुख कार्यकारी पदमा पुग्न सफल भएका हुन्।

खानले शनिवार शपथ लिनेछन्।

'नयाँ पाकिस्तान'

पैसठ्ठी वर्षीय खानले पदमा पुगेसँगै चुलिँदो आर्थिक संकटको सामना गर्नुपर्नेछ।

खानले, उनकै शब्दमा, नयाँ पाकिस्तान निर्माण गर्ने वाचा पनि गरेका छन्।

सन् १९९२ मा भएको विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानी टोलीको नेतृत्व गर्दै खानले जित दिलाएका थिए।

आफ्नो पुरानो 'सेलेब्रिटी प्लेब्वाई' को छविलाई त्यागेका खानले अहिले आफूलाई धार्मिक, जनप्रिय र विपन्नताविरोधी सुधारकका रूपमा चिनाउँछन्।

भ्रष्टाचारविरोधी

चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार विरोधी समाज निर्माण गर्ने भन्दै देशका गरीब जनताको जीवनस्तर सुधार्ने प्रतिबद्धता जनाएका थिए।

शुक्रवार भएको मतदानमा खानले राष्ट्रिय सभाका १७६ जना सदस्यहरूको समर्थन पाएका थिए भने विपक्षी पाकिस्तान मुस्लिम लिग नवाज- पीएमएल-एन का प्रमुख शहबाज शरीफले ९६ मत पाएका थिए।

मतदान हुनुअघि बीबीसीसँग कुरा गर्दै खानले उनी निर्वाचित भएमा उनको पहिलो प्राथमिकता भनेको अर्थतन्त्रको सुधार रहेको बताएका थिए।

गत वर्ष पाकिस्तानी मुद्राको मूल्य एकदमै खस्किएको थियो। त्यहाँ मूल्यवृद्धि भइरहेको छ भने व्यापार घाटा बढ्दो छ।

विश्लेषकहरू भन्छन्, पाकिस्तानको नयाँ सरकारले देशको अर्थतन्त्रलाई जोगाउनका लागि सन् २०१३ पछि दोस्रो पटक अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयोग माग्नुपर्ने हुनसक्छ। त्यस्तो सहयोग मागिए कल्याणकारी कार्य गर्न अप्ठेरो पर्न सक्छ।

कश्मिर विवाद

गत जुलाई २५ मा भएको चुनावपछि खानले कश्मिर क्षेत्रको विवादका सम्बन्धमा समाधान खोज्न भारतसँग वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

छिमेकी देश अफगानिस्तानमा सक्रिय रहेका आतंकवादीहरूका लागि पाकिस्तान सुरक्षित आश्रयस्थल भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानलाई दिँदै आएको सहायता रकममा हालै कटौती गरेका थिए।

गत महिना भएको चुनावमा विपक्षीहरुले धोकाधडी भएको दाबी गर्दै आएका भए पनि संसद्‍मा उपस्थित हुन भने उनीहरू सहमत भएका थिए।