सिसी क्यामेरा छन्, प्रयोग छैन

सिसी क्यामेरा

तस्बिर स्रोत, Sita Niraula

सुरक्षा निगरानीका लागि लाखौं खर्चिएर जडान गरिएका पूर्वी नेपालका सिसी क्यामेरा बिग्रिएर प्रयोगविहीन हुन थालेका छन्।

सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने शहरका मुख्य सडक र चोकहरूमा जडान गरिएका सिसी क्यामेरा चट्याङ, अनियमित विद्युत आपूर्ति र मर्मत सम्भारको अभावले प्रयोगविहीन बनेका हुन्।

प्रविधिको प्रयोगले सुरक्षा अवस्था निगरानी गर्ने उद्देश्यका साथ प्रहरी र स्थानीयबासिको सहयोगमा लाखौं खर्चिएर जडान गरिएका ताप्लेजुङका १३ वटा सिसी क्यामेरा मध्ये आधाजसो सिसी क्यामेरा अहिले बिग्रिएर प्रयोगविहीन अवस्थामा छन्।

अपराध नियन्त्रण र प्रमाण सकंलनको भरपर्दो माध्यमका रुपमा प्रयोग भइरहेका सिसी क्यामेराहरू बिग्रिँदा सुरक्षा चुनौती बढ्दै गएको ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

लापरबाही

"सिसी क्यामरा हुँदा हामीलाई दुर्घटना गराएर भाग्नेहरूलाई समाउन धेरै सजिलो भएको थियो। हामीले यसरी भागेकाहरूलाई सिसी क्यामेराको सहायताले नियन्त्रणमा लिन सफल भएका थुप्रै उदाहरणहरू पनि छन्। यो सँगै सिसीटिभी हुँदा कुनै पनि घटनाको अनुसन्धान,विश्लेषण गर्न सिसीटिभी रेकर्डेड छ भने धेरै कुरामा सहयोग पुग्छ। सिसीटिभीमा नहुँदा त अहिलेको प्रविधिमैत्री दुनियाँमा धेरै गाह्रो हुन्छ।"

ताप्लेजुङ मात्र नभइ पूर्वका मुख्य शहरहरू इटहरी, धरान, बेलबारी,पथरीलगायतका मुख्य शहरका राजमार्गमा जडान गरिएका अधिकांश सिसी क्यामेरा मर्मत सम्भारको अभावमा खिया लागेर थोत्रिन थालेका छन्।

यातायातका साधनको बढ्दो चापलाई मध्यनजर गरी जडान गरिएका सिसी क्यामेरा बिग्रिएसँगै सार्वजनिक यातायातका साधनको लापरबाही समेत बढ्न थालेको प्रहरीले जनाएको छ।

सिसी टिभी बिग्रिएको वर्षौं बितिसक्दा पनि यसको मर्मत सम्भार नहुँदा दिनदहाडै चोरी लुटपाट र डकैतीका घटनाहरू हुन थालेको पूर्वकै व्यस्त शहर इटहरीका एकजना व्यवसायी प्रकाश कोइराला बताउँछन्।

चुनौतीपूर्ण

"चार महिना अगाडि इटहरीको सुन पसलमा हतियार बोकेका केही व्यक्ति आएर दिउँसै सुन पसल लुटेको अवस्था पनि छ। कहिले मोबाइल पसल चोरी हुन्छ, कहिले खाद्यान्न पसल चोरी हुन्छ। त्यो पनि दिनदहाडै। अहिले त मोटरसाइलको पनि अत्यधिक मात्रामा चोरी हुने र महिनौंसम्म पनि कसले चोर्यो भनेर पत्ता नलाग्ने भएको छ। यदि सिसी टिभी भइदिएको भए रेकर्डेड हुन्थ्यो।"

सिसी क्यामेराको दीर्घकालीन व्यवस्थापन कुन स्रोतबाट कसरी गर्ने भन्ने योजना बिना सिसी क्यामेराहरू जडान गरिएका कारण मर्मत सम्भारमा समस्या उत्पन्न भएको ताप्लेजुङस्थित सिसी टिभी सञ्चालन तथा मर्मत सम्भार समितिका संयोजक तारानाथ घिमिरेले बताए।

"एउटा चट्याङ पर्ने वित्तिकै चारवटा क्यामेरा बिग्रिन्छ त्यो मर्मत गर्नुपर्दा दुइ चार लाख रूपैयाँ खर्च भइहाल्छ। सबैसँग समन्वय गरेर यसलाई व्यवस्थित गर्ने सोचमा छौं।"

लाखौं खर्चिएर जडान गरिएका सिसी क्यामेरा बिग्रिँदा सुरक्षा चुनौती बढेको ठहर गर्दै पटक पटक आफूहरूले स्थानीय तहलाई मर्मत सम्भारमा सहयोग गर्न आग्रह गरिरहेको प्रदेश एकका स्थानीय बासिन्दा बताउँछन्।

तर स्थानीय तहका जनप्रतिनिधीहरूले भने सिसी क्यामेराको नियमित मर्मतमा लाखौं रूपैयाँ खर्चिनुपर्ने भएकोले सिसी क्यामेराको दिगो व्यवस्थापन कार्य आफूहरूको लागि पनि चुनौतीपूर्ण बनिरहेको प्रतिक्रिया दिने गरेका छन्।