नियान्डर्थल आमा, डेनिसोभन बुवाकी छोरी

  • 25 अगस्ट 2018
साइबेरियास्थित डेनिसोभा गुफा तस्वीर कपीराइट B VIOLA, MPI-EVA
Image caption साइबेरियास्थित डेनिसोभा गुफा

प्राचीन कालमा रुसको एउटा गुफामा पृथक् पुर्ख्यौली भएका आदिमानवका एक महिला र एक पुरुषको भेट भयो।

झन्डै ५० हजार वर्षपछि वैज्ञानिकहरूले उनीहरूबाट एउटी छोरी जन्माएको पुष्टि गरेका छन्।

गुफामा भेटिएको हड्डीको टुक्राबाट निकालिएको डीएनएबाट उनकी आमा नियान्डर्थल र बुवा डेनिसोभन भएको पत्ता लाग्यो।

'नेचर' जर्नलमा प्रकाशित सो अध्ययनले आधुनिक मानवसँग नजिकैका सम्बन्ध भएका प्राचीन आदिमानवबारे दुर्लभ जानकारी दिन्छ।

नियान्डर्थल र डेनिसोभन पनि हामी जस्तै मानव थिए, तर फरक प्रजातिका।

जर्मनीस्थित माक्स प्लान्क इन्स्टिट्युट फर इभ्युलिश्नरी एन्थ्रोपोलजीका अनुसन्धानकर्ता भिभिएन स्लोन भन्छिन्, "पुराना अध्ययनबाट नियान्डर्थल र डेनिसोभन मानवहरूले आक्कलझुक्कल बच्चा जन्माएको हामीलाई थाहा थियो।"

तस्वीर कपीराइट B VIOLA, MPI-EVA

"तर ती दुई प्रजातिका सन्तान हामीले नै फेला पारौँला भन्ने मैले सोचेकी पनि थिइनँ।"

नियान्डर्थलको अंश कति?

अहिले अफ्रिकी मूल भएकाबाहेक अरू मानवमा आदिमानव नियान्डर्थलको डीएनएको सानो अंश छ।

अफ्रिकी मूल नभएका अन्य केही समूहका मानवमा पनि स्थानानुसार एशियामा बस्ने डेनिसोभन आदिमानवको केही अंश छ।

जिन सयौँ पुस्ता सर्दै आएको तथ्यले अन्तर्प्रजातीय प्रजनन भएको सङ्केत गर्छ।

तर साइबेरियाको आल्टाई पर्वतमालास्थित डेनिसोभा गुफामा मात्र डेनिसोभन र नियान्डर्थल आदिमानवका जीवावशेष सँगैसँगै पाइएको छ।

अनि २० भन्दा कम प्राचीन मानव (आधुनिक मानव 'होमो सेपिअन्स' बाहेक अन्य प्रजाति) को जिन सिक्वेन्सिङ गरेर अध्ययन भएको छ।

त्यति थोरै सङ्ख्याबाट पनि दुई प्रजातिबाट जन्मिएको एउटा सन्तान भेटिएको डा. स्लोनले बीबीसी न्यूजलाई बताइन्।

उनका अनुसार अरू अध्ययनहरूका आधारमा पनि हाम्रो क्रमविकासक्रो इतिहासमा मानवहरू एकार्कासँग सधैँ मिसिएको देखिन्छ।

नियान्डर्थल र डेनिसोभनको समय

नियान्डर्थल र डेनिसोभन आदिमानवहरू युरेशियामा सँगसगै भएको मानिन्छ।

दुवै प्रजातिका मानवहरू ४० हजार वर्षअघिसम्म अस्तित्वमा थिए। नियान्डर्थलहरू पश्चिममा बस्थे भने डेनिसोभनहरू पूर्वमा।

नियान्डर्थलहरू पूर्वतिर जान थालेपछि उनीहरूको भेट डेनिसोभन र आधुनिक मानवका पुर्खाहरूसँग भयो।

"नियान्डर्थल र डेनिसोभनको भेट हुने पर्याप्त अवसरमा नभएको हुनसक्छ," माक्स प्लान्क इन्स्टिट्युट फर इभ्युलिश्नरी एन्थ्रोपोलजीका निर्देशक स्वान्त पेबो बताउँछन्।

"तर भेट हुँदा उनीहरूको बारम्बार समागम भएको हुनुपर्छ, पहिले ठानिएकोभन्दा बढी नै।"

बालिका र उनको परिवारबारे

रुसी पुरातत्त्वविद्हरूले धेरै वर्षपहिला डेनिसोभा गुफाबाट एउटा हड्डीको टुक्रा भेटेका थिए। त्यसकै आधारमा ती बालिकाको कथा सुरु भयो।

तस्वीर कपीराइट B VIOLA, MPI-EVA
Image caption डेनिसोभा गुफा

जिनको अध्ययन गर्न त्यो हड्डी लाइप्जिग ल्याइयो।

"यो टुक्रा लामो हाडको एउटा टुक्रा हो, र ती बालिका कम्तीमा पनि १३ वर्षकी हुनुपर्ने हामी अनुमान गर्नसक्छौँ," युनभर्सिटी अफ टोरन्टोकी बेन्स भायोला बताउँछिन्।

अनुसन्धानकर्ताहरूले ती बालिकाकी आमा डेनिसोभन गुफामा बस्ने एउटा नियान्डर्थलभन्दा पश्चिम युरोपमा बस्ने नियान्डर्थलहरूसँग आनुवंशिक रूपमा बढी नजिक रहेको निष्कर्ष निकाले।

यसको अर्थ नियान्डर्थलहरूले आफ्नो अस्तित्व मेटिनुभन्दा दशौँ हजार वर्षपहिला पश्चिम र पूर्वी युरोप एवम् एशियामा बसाइँसराइ गरेका थिए।

जेनेटिक परीक्षणले ती बालिकाका डेनिसोभन बुवाको वंशवृक्षमा कम्तीमा पनि एक पुर्खा नियान्डर्थल भएको देखियो।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
२,५०० वर्ष पुरानो कङ्काल

सम्बन्धित सामग्री

सम्बन्धित समाचार