शंख फुकेर न्यायको माग

  • 25 अगस्ट 2018
प्रदर्शन तस्वीर कपीराइट RSS

पश्चिम नेपालको कञ्चनपुर जिल्लामा एक बालिकालाई बलात्कारपछि गरिएको हत्याका मुख्य दोषीलाई पक्राउ नगरिएको र त्यसको विरोध गर्ने स्थानीयवासीलाई सरकारले दमन गरेको भन्दै शनिबार राजधानी काठमाण्डूमा समेत विरोध प्रदर्शन भएको छ।

'जनताको भेला' भनिएको उक्त प्रदर्शनमा 'निर्मलाका लागि न्याय' भन्ने लेखिएका प्लेकार्ड र ब्यानर बोकेर नागरिकहरू सहभागी भएका थिए।

कुनै पनि राजनीतिक दल वा सामाजिक संघसंस्थाको आयोजनामा नभई स्वतस्फूर्त रूपमा विरोध प्रदर्शन गरिएको सहभागीहरूले बताए।

Image caption काठमाण्डूमा भएको विरोध।

काठमाण्डूको माइतीघरबाट सु्रु भएको विरोध प्रदर्शन बानेश्वर पुगेर सकिएको थियो।

माग

मौन रूपमा निकालिएको उक्त जुलुसमा केही नाट्यकर्मीहरूले बलात्कारप्रति सरकारी बेवास्तामाथि व्यंग्य गर्दै सडक नाटक समेत देखाएका थिए।

केही दिनदेखि सामाजिक सञ्जालमा चलाइएको 'निर्मलाका लागि न्याय' भन्ने ह्यासट्याग अभियानबाटै मानिसहरू उक्त विरोधमा सहभागी हुन आएको अभियान सु्रु गर्ने मध्येकी एक अमृता लम्सालले बताइन्।

उनले भनिन्, "यहाँ सबैजना स्वतस्फूर्त रूपमा आउनु भएको छ, हामीले रातरातभर नसुती सामाजिक सञ्जालमा चलाएको अभियानमा पु्रुषहरूको समेत ठूलो सहभागीता हुनु खुशीको कुरा हो।"

विरोधमा सहभागी नाट्यकर्मीहरूले भने एकोहोरो शंख फुकेर विरोध जनाएका थिए।

शैली

Image caption बानेश्वरमा तोकिएको निषेधित क्षेत्र।

सरकारले दण्डहीनता नदेखेको र पीडितको आवाज नसुनेकाले शंख फुकेर यस्तो विरोध जनाउनु परेको उनीहरूले बताए।

अपेक्षा

शनिबारै बिहान बसेको सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीको आकस्मिक सचिवालय बैठकले पनि बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरि कारबाही गर्न सरकारलाई आग्रह गरेको थियो।

उक्त निर्णय लगत्तै गृह मन्त्रालयले घटनाको अनुसन्धानमा संलग्न कञ्चनपुरका प्रहरी उपरिक्षकलाई निलम्बन गरेको जनाएको छ।

महेन्द्रनगरमा बसेका सर्वपक्षिय बैठकहरूले भने दोषीलाई खोजी गरि पक्राउ गरेर कारबाही गर्ने माग गरेपछि दुईदिनदेखि तनावग्रस्त रहेको उक्त स्थान शान्त हुने अपेक्षा गरिएको छ।

बैठकले चार बुँदे सहमति गरेको छ।

सरकारको कार्यक्रम 'महिला मुद्दामा फितलो'

पार्टी नेतृत्वमा महिला नपरेकोमा असन्तुष्टि

बैठक

बालिका बलात्कारपछि हत्या गरिएको घटनाका वास्तविक दोषीलाई पक्राउ नगरिएको भन्दै सुरु भएको आन्दोलनका क्रममा कञ्चनपुरमा एक जनाको ज्यान जानुका साथै तीन जना गम्भीर घाइते भएका थिए।

बैठकले शु्क्रबार प्रहरीको गोली लागि मारिएका शनि खुनालाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गर्ने निर्णय गरेकाले कञ्चनपुरको अवस्था सहज हुने एकजना महिला अधिकारकर्मी शारदा चन्दले बताइन्।

उनले भनिन्, "अन्य सहमतिसँगै एउटा सद्भाव र्‍याली समेत निकाल्ने निर्णय भएको छ। यसले अब शान्तिपूर्ण रूपमा समस्या समाधान होला भन्ने आशा छ।"

बैठकले आन्दोलनका क्रममा क्षति पुर्‍याइएकाहरूलाई उचित क्षतिपूर्ति दिने र अंगभंग भएकाहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको बताइएको छ।

निर्णय

बैठकको निर्णयलाई सकारात्मक रूपमा लिएको आन्दोलनरत संघर्ष समितिकी संयोजक मीना भण्डारीले बताइन्।

उनले भनिन्, "निर्णयको अक्षरश: पालना भए कञ्चनपुरमा शान्ति र सद्भाव कामय हुनेछ। छानबिन समितिले पनि सत्यतथ्य बाहिर ल्याए निर्मलाको आत्माले शान्ति पाउनेछ।"

सरकारी अधिकारीहरूले सर्वदलिय र सर्वपक्षिय बैठकपछि स्थिति सामान्य हुने र शान्ति सुरक्षाको अवस्था हेरी कर्फ्यु हटाइने जनाएका छन्।

कञ्चनपुर घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरिय समितिले पनि आफ्नो काम थालिसकेको संयोजक हरीप्रसाद मैनालीले बताए।

अनुन्धान

उक्त घटनालाई लिएर प्रहरीले हत्या गरिएकी बालिकाकी एकजना साथी र उनकी दिदीलाई समेत अनुसन्धानका लागि हिरासतमा लिएको जनाएको छ।

यससँगै ती बालिका बलात्कार र हत्या घटनाको नयाँ कोणबाट अनुसन्धान सुरु हुने अधिकारीहरूको भनाइ छ।

यसैबीच विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत सामाजिक सञ्जाल ट्विटरमार्फत् उक्त घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

यस्ता घटनाका दोषीलाई कारबाही गर्न देउवाले 'फास्ट ट्र्याक कोर्ट' स्थापना गर्न समेत माग गरेका छन्।