रुपियाँको भाउ ओरालो तर भारतको अर्थतन्त्र उकालो

भारु र डलर

तस्बिर स्रोत, Getty Images

गत दुई वर्षयताकै सबभन्दा तीव्र वेगमा भारतीय अर्थतन्त्र वृद्धि भइरहेको छ। जतिबेला भारतीय रुपियाँ चाहिँ उत्तिकै तीव्र दरमा अवमूल्यन भइरहेको छ।

जुन महिनासम्मको त्रैमासिक आर्थिक आँकडा बमोजिम भारतको कुल गार्हस्थ उत्पादन ८.२ प्रतिशतले वृद्धि भएको छ।

सो आँकडा अघिल्लो वर्ष उही अवधिमा केबल ५.५ प्रतिशत थियो।

कारण?

यो तीव्र आर्थिक वृद्धि दरसहित भारत विश्वकै सबभन्दा तीव्र गतिमा फैलिरहेको अर्थतन्त्रमध्ये परेको छ।

भारतको अर्थतन्त्रको आकार २.६ ट्रिलियन डलरको मानिन्छ।

यसको वृद्धिका कारणमा उपभोक्ता गर्ने खर्चमा भएको वृद्धि तथा उत्पादन क्षेत्रको प्रगति देखिएका छन्।

तर यदि भारतीय रुपियाँको कुरा गर्ने हो भने यो अवधिमा भारु अमेरिकी डलरको तुलनामा निकै घटेको छ।

लगातार पाँच महिनादेखि अवमूल्यन भइरहेको भारुको भाउ अगस्ट महिनामा मात्र ३.६ प्रतिशतले घट्यो।

अन्य उदाउँदा अर्थतन्त्रहरूमा जस्तै भारतमा मुद्राको अवमूल्यन खासगरी अमेरिकाले चिनियाँ वस्तुहरूमा थप शुल्क लगाउने अनुमानका कारण भएको ठानिन्छ। सन् २०१८ को सुरुदेखि यता मात्रै भारुले १० प्रतिशत अवमूल्यन बेहोरिसक्यो।

यसका अन्य कारणमा बढ्दो व्यापार घाटाप्रतिको चिन्ता अनि बढ्दो इन्धन तथा उपभोग्य सामग्रीको मूल्य रहेका छन्।

कुल गार्हस्थ उत्पादनको वृद्धि दर राम्रो मानिए पनि कतिपय जानकार भन्छन्, यो वृद्धि दर लामो समय नजान सक्छ।