बेरोजगारीविरुद्ध पोखियो सडकमा आक्रोश

  • 2 सेप्टेम्बर 2018
प्रदर्शन तस्वीर कपीराइट Getty Images

इराकको दक्षिणी शहर बास्रामा सयौँ प्रदर्शनकारीहरूले मुख्य राजमार्गहरू अवरुद्भ पार्दै विरोध गरेपछि सो शहर वरपर ताजा तनाव उत्पन्न भएको छ।

रोजगारीको अभाव तथा सरकारी सेवाहरू निकै प्रभावहीन भएकोप्रति ती प्रदर्शनकारीहरू रुष्ट छन्।

विद्युत आपूर्ति तथा खानेपानीजस्ता अत्यावश्यक सेवाहरूको वितरणको अवस्था पनि निकै कमजोर रहेको भन्दै उनीहरूले असन्तुष्टि पोखेका छन्।

बढ्दो भ्रष्टचारको उच्च दरप्रति पनि प्रदर्शनकारीहरूले पनि आक्रोश व्यक्त गरेका छन्।

बाटो बन्द

पछिल्लो प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले राजधानी बग्दादतर्फ जाने एउटा मुख्य सडक बन्द गरिदिएको बीबीसीका मध्यपूर्व विश्लेषक एलन जन्सटन बताउँछन्।

बास्राबाट नजिकै रहेको इरानसँगको सीमा क्षेत्रतर्फ जाने अर्को बाटो पनि ती प्रदर्शनकारीहरूले बन्द गरिदिएका छन्।

एउटा तेलखानीको प्रवेशद्वारमा पनि प्रदर्शनकारीहरू जम्मा भएका छन्।

बास्रा क्षेत्रभर ठूलो संख्यामा सुरक्षा फौज परिचालित गरिएको छ।

बास्राका बासिन्दाहरूले स्वच्छ पिउने पानी तथा बिद्युत कटौती समस्याको सामना गर्दै आएका छन्।

जीवनयापनका लागि कठिनाइहरूको सामना गर्नुपरेपछि र सरकारी अधिकारीहरूको काम गराईप्रति असन्तोष व्यक्त गर्दै दक्षिणी इराकमा कैयौँ हप्तादेखि विरोधप्रदर्शनहरू भइरहेका छन्।

सम्बन्धित सामग्री