'घरधन्दा गर्नु कि छोराछोरीलाई स्कूल जान खोला तारिदिनु'

  • 4 सेप्टेम्बर 2018
पैराडी खोला तस्वीर कपीराइट Rajendra Saud

निर्मला रावल दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित लटिनाथ आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्छिन्।

घरबाट विद्यालय पुग्न उनलाई दुई घण्टा लाग्छ।

विद्यालय पुग्नुअघि आधा बाटोमै पर्छ, पैराडी खोला।

बर्खामा विद्यालय पुग्न गाउँका थुप्रै बालबालिकालाई त्यही खोला तर्न सकस हुन्छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
चेपाङ विद्यार्थीहरू किन पढ्छन् पाँच कक्षामै तीन चोटि

खोला तर्नै समस्या

साना बालबालिका बर्खामा खोला तर्न नसकेर विद्यालयसम्म जान सक्दैनन्।

११ वर्षीया निर्मलालाई चाहिँ प्रत्येक दिन विद्यालय जाँदा र फर्किँदा उनका बुवा वा आमा त्यो खोला तारिदिन आउँछन्।

खोला तर्ने कहरकै कारण उनको विद्यालय नछुटोस् भनेर उनका बुवा आमाले समेत आधा बाटो आउजाउ गर्नुपर्छ बर्खामा।

तर त्यो भेगका सबै अभिभावकले आफ्नो घरधन्दा छोडेर निर्मलाका बुवाआमाले जस्तै छोराछोरीलाई विद्यालयसम्म पुर्‍याउने समय दिन सक्दैनन्।

कतिका बुवा त रोजगारीका लागि भारत गएका छन्, आमाले अरू साना सन्तान घरमा छोडेर विद्यालय जानका लागि खोला तारिदिन भ्याउँदैनन्।

निर्मला, लक्ष्मी साउद, निरज साउदलाई बुवाआमाले प्रत्येक दिन पैराडी खोला तारिदिन आउँछन् र उनीहरूको बर्खामा विद्यालय छुट्दैन।

"हामीलाई त बुवाआमाले छोडिदिनुहुन्छ र विद्यालय जान पाउँछौं," निर्मला रावलले भनिन्, "हाम्रा गाउँका हामीभन्दा साना भाइबहिनीलाई त खोला तारिदिन उनीहरूको आमाबाले सक्नुहुन्न। त्यसैले खोलामा धेरै पानी आएको बेला उनीहरूको पढाइ सधैँ छुट्छ।"

तस्वीर कपीराइट Rajendra Saud

पुल नै छैन

निर्मलाका अर्को गाउँका साथी वीरेन्द्र साउद र फुलमा साउदका बुवा आमाले घरको कामधन्दा नभ्याएर खोला तारिदिन आउन भ्याउँदैनन्। त्यही कारणले विद्यालय जान उनीहरूले खोलाको पानी कहिले घट्छ भनेरै कुर्नुपर्छ।

यो विद्यालय पढ्ने विद्यार्थीको मात्रै होइन यो भेगका अन्य थुप्रै विद्यार्थीको पनि विद्यालय जानका लागि खोलामा पुल नहुनु नै समस्या भएको छ।

कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भनेर सरकारले प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियान चलाउँछ।

तर त्यसरी भर्ना भएका विद्यार्थीहरू सरकारले बनाइदिनुपर्ने पुल जस्ता भौतिक पूर्वाधार नबन्दा विद्यार्थीहरूको पढाइले निरन्तरता पाउन सकेको छैन।

दार्चुला जिल्लाको विभिन्न क्षेत्रका विद्यार्थीहरूले शिक्षा आर्जनका लागि २/३ घण्टाको उकालो ओरालो बाटो हिँड्नुपर्छ भने ठूला-ठूला खोलाहरू तर्नुपर्ने बाध्यता छ।

त्रिदेशीय सामरिक महत्त्व बोकेको दार्चुला जिल्ला भौगोलिक हिसाबले निकै विकट छ।

सडक सञ्जालले सदरमुकामलाई छोएको भए पनि ग्रामीण भेगमा पुग्नलाई सदरमुकामबाट घण्टौँको यात्रा लगायत हप्तौँ दिन लाग्ने गर्दछ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का न्याउटे र चुवाड बस्तीका विद्यार्थीहरू विद्यालयसम्म आइपुग्नका लागि खोला तर्नुपर्ने बाध्यता रहेको छ ।

बर्खाको समयमा खोलामा पानीको सतह बढेसँगै बाटोघाटो पनि चिप्लो हुन्छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
विद्यालय चलाउने जुक्ति

प्रयास जारी

उक्त क्षेत्रमा पुल भएको भए सहज हुने एकजना अभिभावक ईश्वरी रावलले बताइन्।

"पुल भइदिएको भए हाम्रा छोराछोरी वर्षभरि नै विद्यालय जान सक्थेँ। पुल नभएपछि भ्याएको बेला पुल तारिदिन आउँछौँ नभ्याएको बेला विद्यालय छुट्छ।"

दार्चुलामा ३ सय ४३ सरकारी विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाई समिति दार्चुलाले जनाएको छ।

चुवाङ र न्याउटेका बस्तीका विद्यार्थीहरू विद्यालय नै नआउने लगायत पठनपाठनमा समस्या हुने गरेको श्री लटिनाथ आधारभूत विद्यालय बरमुडेका प्रधानाध्यापक दिङ्करप्रसाद शाह बताउँछन्।

"यो विद्यालय आउने २० देखि २५ जना साना बालबालिकाले बर्खाको समयमा विद्यलाय छुटाउने गरेका छन्," शाहले भने।

"पुलको आवश्यकता सम्बोधन गर्न नसक्दा यो समस्या देखिएको छ। हामीले गत वर्ष पाँचवटा र यो वर्ष तीनवटा पुल बनाउनका लागि पहल गरेका छौँ तर बन्न सकेको छैन," शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मदन सिंह रावलले भने।

शिक्षाबाट बालबालिकालाई वञ्चित गर्न नहुने भन्दै सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहँदा ग्रामीण क्षेत्रमा पुल जस्ता आधारभूत संरचना समेत नबन्दा बालबालिकाहरूले निरन्तर शिक्षा पाउन सकेका छैनन्।

सम्बन्धित सामग्री