म्यानमारमा दुईजना पत्रकारलाई किन जेल

  • 3 सेप्टेम्बर 2018
म्यानमार तस्वीर कपीराइट EPA

म्यानमारको एउटा अदालतले गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको अभियोगमा समाचार संस्था रोयटर्सका दुईजना पत्रकारलाई सात वर्ष जेल सजाय सुनाएको छ।

रोहिंज्यामाथिको हिंसाबारे अनुसन्धान गर्ने क्रममा उनीहरूले गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको अदालतको ठहर छ।

प्रहरी अधिकारीहरूले दिएका दस्तावेज लिइरहेका बेला पत्रकारद्वय वा लोन र ज स ऊलाई पक्राउ गरिएको थियो।

निर्दोष भएको भन्दै दुवैजनाले आफूहरूलाई प्रहरीले फसाएको बताएका छन्।

परीक्षण

उक्त मुद्दालाई म्यानमारमा प्रेस स्वतन्त्रताको एउटा परीक्षणको रूपमा हेरिएको छ।

अदालतको आदेशपछि पत्रकार वा लोनले भने, "मलाई कुनै डर छैन। मैले केही गलत गरेको छुइनँ। म न्याय, लोकतन्त्र र स्वतन्त्रतामा विश्वास राख्छु।"

तस्वीर कपीराइट Reuters

परिवारमा स-साना बच्चा भएका ती दुवै पत्रकार सन् २०१७ को डिसेम्बरदेखि जेलमा छन्।

रोयटर्सका प्रधान सम्पादक स्टेफन एड्लरले भने, "आज म्यानमार, रोयटर्सका पत्रकारहरू वा लोन र ज स ऊ तथा प्रेस स्वतन्त्रताका लागि एउटा दुःखद दिन हो।"

प्रमाण

दुवैजना म्यानमारका नागरिक हुन्, जसले अन्तर्राष्ट्रिय समाचार संस्थाका लागि काम गर्दै आएका छन्।

तस्वीर कपीराइट Reuters

फैसला सुनाएका रङ्गुनस्थित अदालतका न्यायाधीशले दुवै पत्रकारले राज्यको हितमा असर पुर्‍याउन चाहेको बताए।

उनले भने, "र, त्यो कारणले उनीहरू राज्यको गोपनीयतासम्बन्धी कानून अनुसार दोषी पाइएका हुन्।"

३२ वर्षीय वा लोन र २८ वर्षीय ज स ऊले उत्तर रखाइन राज्यमा पर्ने एउटा गाउँमा सेनाले १० जना पुरुषको हत्या गरेकोबारे प्रमाण सङ्कलन गरिरहेका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कसले जलाउँदैछन् रोहिंज्या बस्ती?