संसारकै महँगो चित्रकला कहिले सार्वजनिक होला

आबुधाबीस्थित लुभ्र सङ्ग्रहालयले लियोनार्दो दा भिन्चीले बनाएको ठानिएको संसारकै सबैभन्दा महँगो साल्भाटोर मुण्डी नामक चित्र सार्वजनिक गर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको छ।
येशु ख्रिष्टलाई साल्भाटोर मुण्डी अर्थात संसारका उद्धारकका रुपमा प्रस्तुत गरिएको उक्त चित्र एकजना अज्ञात खरिदकर्ताले गत नोभेम्बरमा ४५ करोड डलरमा किनिदिएपछि सो सङ्ग्रहालयले उक्त चित्रकला पाएको थियो।
उक्त चित्रकला सार्वजनिक गर्न ढिलाइ गर्नुको कारण सङ्ग्रहालयले खुलाएको छैन।
यसअघि साल्भाटोर मुण्डी नामक उक्त चित्र लियोनार्दो दा भिन्चीका चेलाहरूले बनाएको ठानिएको थियो।
खरिदकर्ता
गत वर्ष खुलेको लुभ्र आबुधाबी सङ्ग्रहालयले सेम्टेम्बर १८ मा साल्भाटोर मुण्डी चित्र सार्वजनिक गर्ने बताइएको थियो।
संयुक्त अरब एमिरेट्स सम्बद्ध पत्रिका द न्याश्नलले आबुधाबीको संस्कृति तथा पर्यटन विभागलाई उद्धृत गर्दै चित्रकला सार्वजनिकीकरणको नयाँ मिति घोषणा भइनसकेको बताएको छ।
तस्बिर स्रोत, Twitter
सङ्ग्रहालयले ११ नोभेम्बरमा पर्ने आफ्नो पहिलो वार्षिकोत्सवको प्रतीक्षा गरेको हुनसक्ने सो पत्रिकाले जनाएको छ।
लियोनार्दो दा भिन्चीले बनाएको संसारकै सबैभन्दा महँगो उक्त साल्भाटोर मुण्डी चित्रकलाको वास्तविक खरिदकर्ताबारे व्यापक चर्चा भएको थियो।
अस्तित्व
अमेरिकी सञ्चारमाध्यमहरूले शुरुमा उक्त चित्रकलाको अज्ञात खरिदकर्ता साउदी राजकुमार मोहम्मद बिन सलमान रहेको बताएका थिए।
तर पछि उनका एकजना आफन्त साउदी राजकुमार बदर बिन अब्दुल्लाह बिन फरहानले आबुधाबीको संस्कृति तथा पर्यटन विभागको लागि सो चित्रकला खरिद गरेको दस्तावेजहरूमा भेटिएको रोयटर्स लगायतका सञ्चारमाध्यमले जनाएका थिए।
मिथिला यादव
लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो।
हाल उनका २० वटाभन्दा कम चित्रकला अस्तित्वमा रहेको बताइन्छ।