तालिबानले 'महान् लडाकु' भनेको जलालुद्दिन हक्कानी को थिए?

तस्बिर स्रोत, AFP
अफगानी तालिबानले धेरै वर्षदेखि बिरामी परेका हक्कानी विद्रोही सञ्जालका संस्थापकको निधन भएको घोषणा गरेको छ।
जलालुद्दिन हक्कानी अफगानिस्तानका एक महत्त्वपूर्ण विद्रोही नाइके थिए।
उनको तालेबान र अल-कायदा दुवैसँग नजिकको सम्बन्ध रहेको थियो।
आक्रमण
सन् २००१ मा हक्कानीका छोराले उक्त सञ्जालको नेतृत्व लिएको विश्वास गरिन्छ।
पछिल्ला वर्षमा अफगान र नेटो सैन्यमाथि भएका थुप्रै समन्वयकारी आक्रमणहरू हक्कानी सञ्जालले गराएको बताइन्छ।
तालिबानले जारी गरेको वक्तव्यमा हक्कानीको निधनको मिति वा स्थानबारे विस्तृत विवरण उल्लेख गरिएको छैन।
अफगान तालिबानको एउटा वक्तव्यमा हक्कानीले आफू जवान र स्वस्थ रहेका बेला 'अल्लाहको धर्मका' लागि ठूलो कठिनाइ सहनुपरेको जनाइएको छ।
पछिल्ला वर्षहरूमा उनले लामो समयसम्म रोगसँग जुध्न परेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।
छापामार
हक्कानीको निधनबारे वर्षौंदेखि हल्लाहरू फैलिएका थिए।
सन् २०१५ मा उक्त समूहसँग नजिक रहेका स्रोतहरूले कम्तीमा एक वर्ष पहिलेनै उनको निधन भएको बीबीसीलाई बताएका थिए।
तर त्यसको पुष्टि भएन।
सन् १९८० मा सोभियत सैन्यले अफगानिस्तान कब्जा गरेका बेला लडाइँ गरेका जलालुद्दिन हक्कानी अफगानी छापामर नेता थिए।
त्यति बेला उनले अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएको निम्ति काम गरेको अमेरिकी अधिकारीहरूले स्वीकार गरेका छन्।
सन् १९९६ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि उनले तालेबानसँग गठबन्धन गरेका थिए।
वक्तव्यमा तालिबानले जलालुद्दिन हक्कानी 'महान् लडाकु' भएको र यस युगको महान् जिहादी व्यक्तित्वहरूमध्ये रहेको उल्लेख गरिएको छ।
अफगानिस्तानमा अमेरिकी नेतृत्वको सैन्य अभियानपछि अफगान-पाकिस्तान सीमामा रहेको जनजातीय क्षेत्रमा सक्रिय थुप्रै लडाकु समूहहरूमध्ये हक्कानी सञ्जाल पनि थियो।
पाकिस्तानबाट सञ्चालन भइरहेको भनी आरोपित सञ्जालमाथि सन् २०१७ मा अफगानिस्तानको काबुलमा १५० जनाको ज्यान जाने गरी भएको एउटा ट्रक बम विस्फोटसहित केही ठूला आक्रमणहरू गराएको आरोप छ।