रुसी लडाकु विमानहरूद्वारा इदलिब प्रान्तमा 'गोलाबारी'

  • 4 सेप्टेम्बर 2018
सिरिया तस्वीर कपीराइट AFP

रुसी लडाकु विमानहरूले सिरियास्थित विद्रोहीको कब्जामा रहेको अन्तिम पकड क्षेत्र इदलिब प्रान्तमा गोलाबारी गरेको विवरणहरूमा जनाइएका छन्।

पुष्टि भएमा ती हवाइ हमलाहरू तीन हप्ता लामो संघर्षविरामपछि भएका पहिलो हमलाहरू हुनेछन्।

सिरियाली राष्ट्रपति बसर अल-असदपक्षीय सैन्य फौजले सो क्षेत्रमा एउटा ठूलो हमला गर्न लागेको ठानिएको छ।

पश्चिमी इदलिबमा भएका श्रृंखलाबद्ध हवाइ हमलाहरूका क्रममा पहाडका टुप्पाहरू तथा गाउँहरू लक्षित हमला भएको जनाइएको छ।

सिरियामा लडाकु हमलामा चार रुसी सैनिकको मृत्यु

सिरिया, रुस र इरानलाई ट्रम्पको कडा चेतावनी

'साढे दुई लाखभन्दा बढी सिरियाली विस्थापित'

'गैरजिम्मेवारपूर्ण हमला'

यूकेस्थित पर्यवेक्षण समूह 'सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्स' ले रुसी लडाकु जेट विमानहरूले पश्चिमी इदलिबस्थित विद्रोहीको कब्जामा रहेका १६ स्थानहरूमा हमला गरेका थिए।

टर्कीको समर्थन पाएका विपक्षी समूहरू तथा अलकायदा सम्बन्धित लडाकुहरूले सरकारी फौज विरुद्ध लड्ने जनाएका छन्।

तस्वीर कपीराइट AFP

सामाजिक संजाल, ट्वीटर, मा एउटा सन्देश राख्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इदलिबमा गैरजिम्मेवारपूर्ण हमला नगर्न सिरियाली राष्ट्रपति असदलाई चेतावनी दिएका छन्।

सो क्षेत्र लडाइँतर्फ धकेलिए लाखौँ मानिसहरूको ज्यान जान सक्ने ट्रम्पले बताए।

तर क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोफले त्यस्तो चेतावनीलाई अस्वीकार गर्दै सिरियाली सेनाले इदलिबबाट आतंकवादलाई निर्मूल पार्ने तयारी गरिरहेको बताए।

'मानवीय संकट'

इदलिबमा बलियो प्रभाव भएका अल-कायदाआबद्ध जिहादीहरूले सिरियामा रहेका रुसी सैन्य अखडाहरूको सुरक्षास्थितिलाई जोखिममा पारेको तथा त्यहाँ जारी गृहयुद्धको समाधान रोकेको पेश्कोफले जनाएका छन्।

सो प्रान्तमा तीस लाख जति मानिस रहेका छन्। तीमध्ये धेरैजसो सिरियाका अन्य स्थानहरूबाट विस्थापित भएर वा अन्यत्र जाने ठाउँ नभएर त्यहाँ आइपुगेकाहरू रहेका छन्।

संयुक्त राष्ट्रसंघले इदलिबमा पूर्ण युद्ध भए मानवीय संकट निम्तिन सक्ने भन्दै हमलामा ढिलाइ गरिने वा त्यसलाई सीमित पारिने आशा गरिरहेको छ।

आठ लाखसम्म मानिसहरू विस्थापित हुनसक्ने र सहायता चाहिने मानिसहरूको संख्या नाटकीय रुपमा बढ्नसक्ने राष्ट्रसंघका अधिकारीहरूले बताएका छन्।