चोरिएको १३ वर्षपछि माणिकजडित चप्पल फेला परेपछि

बरामद

तस्बिर स्रोत, Getty Images

अमेरिकी अभिनेत्री जुडी गार्लन्डले 'द विजर्ड अफ ओज' नामक चलचित्रमा लगाएको माणिकजडित एक जोडी चप्पल चोरिएको १३ वर्षपछि बरामद गरिएको छ।

सन् २००५ मा मिनिसोटास्थित एउटा सङ्ग्रहालयबाट राति झ्याल फुटाएर कसैले ती चप्पलहरू चोरेका थिए।

सन् १९३९ मा सो चलचित्रमा अभिनेत्री गार्लन्डले लगाएका अरू तीन जोडी चप्पल भने अझै छन्।

एक चोटि अज्ञात व्यक्तिले चोरिएका चप्पलको अवस्था र चोरको नाम बताउनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेका थिए।

अनुसन्धान

यद्यपि चप्पल चोरी भएको १० वर्ष पुगेपछि पुरस्कार दिने त्यो घोषणाको समयावधि सकिएको थियो।

गोप्य सूचनाका आधारमा ती चप्पलहरू फेला पारिएको हो कि हैन त्यो भने स्पष्ट भएको छैन।

तस्बिर स्रोत, Getty Images

मङ्गलवार अपराह्न आयोजित एउटा पत्रकार सम्मेलनमा चाहिँ चोरिएका चप्पलहरू कहाँ र कसरी फेला पारियो भन्ने विषयमा केही बताइएन।

सङ्घीय अनुसन्धान निकाय एफबीआईकी अधिकारी जोआन स्यान्बर्नले अझै अनुसन्धान जारी रहेको सङ्केत गरिन्।

मूल्य

उनले भनिन्, "हामीले यो विषयमा थुप्रै जानकारी सङ्कलन गरेका छौँ। हामीलाई आशा छ कि यसबारे दिनुपर्ने थप कुरा पनि छन्।"

चलचित्र इतिहासमा चप्पलहरू रङ्गमञ्चका निकै महत्त्वपूर्ण सामग्रीह मानिन्छन्।

ती चप्पलहरूको १० लाख डलर बराबरको बीमा गरिएको थियो। तर विज्ञहरूका अनुसार त्यसको मूल्य सो रकमको दोब्बर हुन सक्छ।

अभिनेत्री गार्लन्डको जन्मस्थान ग्र्यान्ड र्‍यापिडस्थित जुडी गार्लन्ड सङ्ग्रहालयले माइक श नाम गरेका सङ्कलनकर्ताबाट ती चप्पलहरू लिएको थियो।