काठमाण्डूका सडक सुधार्न प्रचण्डले छलफल गर्ने

हालै सम्पन्न बिम्स्टेक सम्मेलनका लागि भन्दै केही ठाँउका सडक टालटुल गरिए, तर समस्या ज्यूँकात्यूँ रहेको सर्वसाधारण बताउँछन्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र उनी बसेर केही महिना भित्रै राजधानीको धुलो र हिलो समाप्त पार्ने योजना तयार पारिरहेको बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूले भने मेलम्ची खानेपानी आयोजनाको पाइपलाइनको पूर्ण परीक्षण नगरिएसम्म सडकहरूको सामान्य मर्मतबाहेक दिगोरूपमा कालोपत्रे हुन नसक्ने बताएका छन्।
सिन्धुलीमा एउटा कार्यक्रममा बोल्दै प्रचण्डले एक वर्षभित्र देशभर आशा सञ्चार गर्ने गरी विकास निर्माणको काम गर्ने संकल्प गरिएको समेत बताए।
पानी पर्नासाथ हिलोले भरिन्छन् भने घाम लाग्नासाथ धुलाम्मे हुने हुँदा सवारी साधनदेखि सडकका किनारमा हिँडडुल गर्नेहरूले लामो समय देखि सास्ती भोग्दै आएका छन्।
हालै सम्पन्न बिम्स्टेक सम्मेलनका लागि भन्दै केही ठाँउका सडक टालटुल गरिए, तर समस्या ज्यूँकात्यूँ रहेको सर्वसाधारण बताउँछन्।
योजना
प्रधानमन्त्रीले नै निर्देशन दिँदा पनि समाधान नभएको यो विषयमा प्रधानमन्त्री र आफूले बसेर योजना नै बनाएको नेकपा अध्यक्ष प्रचण्डले बताए।
उनले भने, "केही महिना भित्रै काठमान्डूको धुलो र हिलो समाप्त गर्ने नयाँ संकल्प सहित देशभर बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनका कामलाई गति दिएर आउने एक वर्ष भित्र जनतामा एउटा नयाँ आशा उत्साह भर्ने संकल्प हामीले गरेका छौं।"
भौतिक पूर्वाधारमन्त्री अनि मन्त्रालय र सडक विभागका उच्च अधिकारीहरू समेत सहभागी उक्त कार्यक्रममा उनले उक्त योजनाको पूर्ण व्याख्या भने गरेनन्।
प्रधानमन्त्री र आफू सरकार गठन भएको ६ महिना सम्म अपेक्षा अनुरूप काम हुन नसकेको गुनासोका बारेमा जानकार रहेको प्रचण्डले बताए।
समस्या
सडक सुधारको मुख्य समस्या मेलम्ची खानेपानी आयोजना रहेको भनाइ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूको छ।
उक्त आयोजनाको पाइपलाइनमा पानी परीक्षण गरेपछिमात्रै स्तरीय सडक बनाउन सकिने र त्यसको लागि कम्तिमा अर्को ६ महिना लाग्ने बताइएको छ।
यद्यपि सुधारको कामलाई गति दिने गरी समन्वयको सुरुवात गरि सकिएको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए।
उनले भने, "कार्यक्रम बजेट नभएर हैन, समन्वय नभएर काम हुन नसकेको हो। अहिले हामीले भौतिक पूर्वाधारमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयलाई समावेश गरेर काम गर्न शुरु गरिसकेका छौं। सडक सुधारको कामले गति लिन्छ।"
प्रचण्डले भनेको योजना पूर्ण रुपमा हेरे पछिमात्रै त्यसका बारेमा प्रतिकृया जनाउने पूर्वाधारविज्ञहरूको भनाइ छ।