कर्मशील हुँ, जुनसुकै जिम्मेवारी लिन तयार: खिलराज रेग्मी

कर्मशील हुँ, जुनसुकै जिम्मेवारी लिन तयार: खिलराज रेग्मी

दोस्रो संविधानसभाको चुनाव गराउन गठित अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष तथा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नाम आफूले प्रस्ताव नगरेको बताएका छन्।

तत्कालीन राष्ट्रपति रामवरण यादवले कार्कीलाई सिफारिस नगर्न आग्रह गर्दा रेग्मीले त्यसो नगरे चुनाव गर्न नसक्ने चेतावनीयुक्त जवाफ दिएको बताइएको थियो।

तर रेग्मीले उक्त कुरा अस्वीकार गर्दै भने, "मैले उहाँसँग त्यस्तो भनेकै होइन। त्यसरी प्रस्तुत गर्ने पूर्वराष्ट्रपतिको जुन भनाइ छ, त्यो गरिमायुक्त कुरा होइन।"

त्यति बेलाको उच्चस्तरीय राजनीतिक समितिमा भएको सहमतिअनुसार आफ्नो नेतृत्वमा रहेको संवैधानिक परिषद्ले कार्कीको नाम अघि बढाएको उनको भनाइ छ।

तर परिषद्को सिफारिसपछि दलका शीर्षस्थ नेता एवम् राष्ट्रपतिमाथि समेत कार्कीको नियुक्ति रोक्न ठूलो दबाव परेको थियो।

राष्ट्रपति बन्ने इच्छा?

बाहिर बिरोध भएपछि भने 'छलफल' भएको बताउँदै तत्कालीन अध्यक्ष रेग्मीले भने, "त्यसपछि के गर्ने भन्ने कुरा भयो अनि मैले प्रक्रिया यो हो, यताउता गर्न मिल्दैन भनेको हो।"

संविधानअनुसार त्यसमा पुनर्विचार गर्न नमिल्ने कुरा आफूले अवगत गराएको भने उनले स्वीकार गरेका छन्।

महत्त्वपूर्ण चुनाव गराएको मान्छे राष्ट्रपति बन्ने भित्री इच्छा होला नि? 'त्यो अस्वीकार गर्ने वा इच्छा छ भनेर अभियान चलाएर हिँड्ने कुरा' नभएको उनले बताए।

त्यसो भए जिम्मेवारी आए सम्हाल्न तयार हुनुहुन्छ त? भन्ने प्रश्नको उत्तरमा उनले भने, "कर्मशील मान्छे हुँ, आएको जे काम पनि गर्न तयार हुन्छु। देश र जनताको निम्ति त्यो बेला त गरियो भने अरू बेला नगर्ने त हुँदैन।"

भारतीय सूत्र

पहिलो संविधानसभाको विघटनपछि दलहरूले आफूहरूमध्येबाटै सरकारको नेतृत्वमा सहमति जुटाउन नसेपछि उनीहरूले नै रेग्मीको नाम अघि सारेको देखिएको थियो।

कतिपय उच्च नेताले 'प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भारतीय सूत्र भएको' बताउने गरेका छन्।

तर रेग्मीले बारम्बार आफूले राजनीतिक रूपमै समाधान खोज्न आफूले नेताहरूलाई प्रेरित गरेको बताए।

उनले भने, "बारम्बारको आग्रहपछि मैले नेतृत्व लिने प्रस्ताव स्वीकार गरेको हो। अरू नेताले कहाँ के भने त्यता नलागौँ। मैले त शीर्षस्थ नेताको कुरा सुनेको हो।"

रेग्मीको नेतृत्वमा अवकाशप्राप्त सचिव-मुख्य सचिवहरू रहेको सरकारले कतिपय दलको बहिस्कारका बीच चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गरेको थियो।

त्यसपछि उनले राजनीतिक दललाई सत्ता हस्तान्तरण गरेका थिए।