के कारण जोखिममा छन् नेपालका झन्डै २०० पुल

  • 7 सेप्टेम्बर 2018
पुल
Image caption फाइल फोटो

नियमित मर्मतसम्भारको अभाव, बालुवा र गिटीको लागि नदीको चरम दोहन र पुराना भइसकेका कारण देशभरि रहेका झन्डै दुई सयवटा पुल जोखिममा रहेको भन्दै तिनको तत्काल मर्मत गर्नुपर्ने सडक विभागका अधिकारीहरूले बताएका छन्।

कतिपय पुललाई तीन वर्षअघि गएको भूकम्पले समेत प्रभावित पारेको हुनसक्ने भन्दै त्यसको समेत अध्ययन हुनुपर्ने विज्ञहरूको धारणा छ।

विगतमा लामो समय त्यसमा वास्ता नगरिँदा अहिले विभागलाई एकैपटक जनशक्ति र स्रोतको अभाव भइरहेको जानकारहरूको मत पाइन्छ।

अर्कोतर्फ अहिले नै देशमा निर्माणाधीन १५ सय नयाँ पुलहरूको गुणस्तरको अनुगमन गने चुनौती टड्कारो छ।

मर्मत

पुलहरूको मुख्य मर्मतको काम वर्षा सकिएलगत्तै सुरु गर्न सरकारले यो वर्ष झन्डै ७० करोड रुपैयाँ विनियोजन गरेको छ। पुलका जोर्नी र रेलिङसम्बन्धी काम भने सुरु गरिसकिएको बताइएको छ।

सबैभन्दा मुख्य काम भने जगहरूमा असर परेका पुलहरूमा मर्मत गर्नुपर्ने रहेको अधिकारीहरूले बताएका छन्।

सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंग थापा भन्छन्, "काठमाण्डू उपत्यकादेखि तराईका नदीहरूमाथि रहेका पुलको जगलाई जोगाउन परिराखेको छ। जग नै कमजोर भएपछि पुल त जोखिममा पर्ने नै भयो।"

क्रसर उद्योगहरूकै कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने नवलपरासीको झरही र तुरिया, रूपन्देहीको तिनाउ, कपिलवस्तुको वाणगङ्गा, मोरङको गछिया, झापाको कन्काई, बाराको दुधौरा लगायतका नदीमा रहेका पुलले सबैभन्दा बढी जोखिम झेलिरहेको बताइएको छ।

व्यवस्थापन

मुख्य राजमार्गहरूमा रहेका पुलहरूको भारवहन क्षमतालाई समीक्षा गर्नुपर्ने अवस्था आइसकेको जानकारहरू बताउँछन्।

पुराना भइसकेका बेनी-जोमसोम सडक, मनाङ सडक र पथलैया-ढल्केबर सडकका अधिकांश पुलहरू अब विस्थापित गरिने योजनामा रहेको सडक विभागका अधिकारीहरू बताउँछन्।

सडक विभागमा लामो समय काम गरेका अवकाशप्राप्त सहसचिव उमेश झा भन्छन्, "हरेक पुलहरू चार-पाँच वर्षमा मर्मत गर्नुका साथै वैज्ञानिक मूल्याङ्कनसमेत गर्नुपर्छ। राजमार्गका थुप्रै पुलहरू ४०-४५ वर्ष पुराना भइसकेकाले र भारसमेत बढिरहेकोले अहिले त्यो झन् बढी महत्त्वपूर्ण भएको छ।"

वर्षामा रसुवागढीको घट्टेखोला पुलमा जग नै देखिने गरी सतहमा समस्या आएपछि प्रबलीकरण गरिएको थियो। अर्कोतर्फ बाह्रबीसेको साँधी खोलाको पुल बगाएको थियो।

कतिपय ठाउँमा पुलहरू भासिएको समेत पाइएपछि सरकारी अधिकारीहरूको ध्यान त्यसमा बढी आकर्षित भएको बताइन्छ।

नेपालमा अहिले झन्डै २२ सय पुलहरू छन्। नयाँ १५ सय थपिएपछि त्यसको व्यवस्थापनको चुनौती झन् बढी हुने जानकारहरू बताउँछन्।

निर्माण सम्पन्न गर्न नै थुप्रै वर्ष लाग्ने र भौगर्भिक अध्ययन समेत राम्ररी नगरिने हुनाले पुलहरू छिट्टै कमजोर हुनेगरेको समेत पाइएको विज्ञहरूको भनाइ छ।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार