वन्यजन्तु संरक्षण: अर्नाले बच्चा जन्माउँदा चितवनमा उल्लास

  • 7 सेप्टेम्बर 2018
अर्ना तस्वीर कपीराइट CNP
Image caption चितवन स्थानान्तरण गरी ल्याइएका दुई अर्नाले २ बच्चा जन्माएका छन्।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट चितवन स्थानान्तरण गरी ल्याइएको जङ्गली भैँसी अर्थात् अर्नाले दुईवटा बच्चा जन्माएको छ ।

ठूला वन्यजन्तुको वंश संरक्षण गर्ने उद्देश्यले स्थानान्तरण गरी ल्याइएको अर्नाले बच्चा पाउनुलाई संरक्षणमा सफलता भन्दै अधिकारीहरूले खुसी प्रकट गरेका छन्।

साउन ३१ गते एउटा अर्नाले पाडी पाएको थियो भने त्यसको एक हप्तापछि अर्को अर्नाले बच्चा जन्माएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन नुरेन्द्र अर्यालले बताए।

उनले भने "स्थानान्तरण गरी ल्याइएका १५ मध्ये सात पोथी र दुई भाले गरी नौवटा अर्ना बाँकी रहेकोमा दुईवटाले बच्चा जन्माएका छन्।"

स्थानान्तरण

उक्त अर्नाहरू कोशीटप्पु वन्यजन्तु आरक्षबाट २०७३ माघ ८ देखी माघ २५ सम्ममा स्थानान्तरण गरी ल्याइएको उनले बताए ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीन गरी १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरी ल्याइएकोमध्ये छवटाको मृत्यु भएको थियो ।

भर्खरै जन्मिएका अर्नाका बच्चाहरूको अवस्था राम्रो रहेको तर वर्षाको कारण अलि समस्या भएको अर्ना अनुगमन गर्दै आएकी चितवन राष्ट्रिय निकुञ्जकी रेन्जर स्मृति लामाले बताइन्।

उनले भनिन्म "अर्ना राखिएको स्थानमा पानीको कारण दलदल जस्तो भएको र अर्ना चरनको लागि समस्या भएको छ।"

संरक्षणमा सफलता

यसअघि पनि वंश संरक्षण गर्ने उद्देश्यले दुर्लभ एकसिङ्गे गैँडा बर्दिया र शुक्लाफाँटामा स्थानान्तरण गरिएका थिए।

तर खासै सफलता हासिल हुन सकेको थिएन।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट ल्याइएका अर्नाले बच्चा जन्माउनुलाई संरक्षणको क्षेत्रमा सफलता मिलेको मान्नु पर्ने बताइएको छ।

तस्वीर कपीराइट CNP

तर अर्नाको नयाँ पुस्ताले बच्चा जन्माउन नथालेसम्म यसको सङ्ख्या र संरक्षणमा चुनौती कायमै रहेको सहायक वार्डेन अर्याल बताउँछन्।

चितवनको पदमपुरमा ३० हेक्टर जङ्गलमा विद्युतीय तारबार गरी बनाइएको खुल्ला खोरमा पोषिलो खाना र पर्याप्त घाँसेमैदानको व्यवस्थासहित ती अर्नाहरू राखिएका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
चीनलाई गैँडा हस्तान्तरण