जापान: होक्काइडोमा भूकम्पपछि खोजी र उद्धारकार्य जारी

जापान भूकम्प

तस्बिर स्रोत, EPA

जापानको होक्काइडो टापुमा गएको शक्तिशाली भूकम्पमापरि ज्यान गुमाउनेहरूको संख्या बढेर १६ पुग्दा उद्धारकर्मीहरूले भग्नावशेषहरूमा बचेका हुनसक्नेहरूको खोजी जारी राखेका छन्।

६ दशमलव ७ म्याग्निट्यूडको भूकम्पका कारण पहिरो समेत गएपछि दर्जनौँ मानिसहरू हराइरहेका छन् र ति मध्ये केही भग्नावशेषहरूमा पुरिएका हुनसक्ने आशंका गरिएको छ।

होक्काइडोका झण्डै १६ लाख मानिसहरूका लागि विजुलीको आपूर्ति अवरुद्ध भएको छ।

पश्चिमी तटमा विनाशकारी समुद्री आँधीको मार बेहोरेको जापानमा यसै हप्ताको भूकम्प दोस्रो प्राकृतिक विपद हो।

तस्बिर स्रोत, Reuters

विहीवार विहान सवेरै गएको भूकम्पपछि मानिसहरूहरुले विभिन्न आश्रयस्थलहरूमा रात बिताएका थिए।

पहिरो

सबैभन्दा नराम्रो प्रभाव परेको आत्सुमा गाउँमा भूकम्पका कारण ठूलो पहिरो जाँदा सडक र घरहरू भत्किएका छन्।

प्रधानमन्त्री शिन्जो आबेले १६ जनाको ज्यान गएको, थुप्रै घाइते भएका र अझै २६ जना हराइरहेका बताएका छन्।

शुक्रवार बसेको मन्त्रिमण्डलको आपतकालिन बैठकलाई निर्देशन दिँदै उनले भने, "डरैडरमा अँध्यारो रात काटेका मानिसहरूप्रति सहानुभूति व्यक्त गर्नुहोला र सकेको सबै प्रयास गरेर विद्युत आपूर्ति सुरु गर्ने व्यवस्था मिलाउनु होला।"

तस्बिर स्रोत, Reuters

पातलको बस्ती भएको ग्रामिण इलाकामा विद्युत आपूर्ति पुन: सुरु गर्न कम्तीमा एक हप्ता लाग्ने अधिकारीहरूले बताएका छन्।

आगामी हप्ता मौसम खराब हुने पूर्वानुमानका माझ अधिकारीहरूले मानिसहरुलाई सावधान रहन र परकम्पका लागि तयार रहन आह्वान गरेका छन्।