चीनका बन्दरगाह प्रयोग गर्न यस्ता छन् चुनौती

तस्बिर स्रोत, MOICS NEPAL
नेपाललाई चीनका बन्दरगाहहरू प्रयोग गर्नका लागि, पूर्वाधारको अभाव र तेस्रो मुलुकसँगको कारोबारमा हुने प्रकृयागत झन्झट मुख्य चुनौती बन्नसक्ने विज्ञ तथा ढूवानी व्यवसायीहरूले बताएका छन्।
बिहीवार राती नेपाल र चीनका अधिकारीहरू एउटा महत्त्वपूर्ण मानिएको पारवहन सम्बन्धी सम्झौताको प्रोटोकल अर्थात् कार्यविधिको मस्यौदामा सहमत भएपछि उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।
अढाई वर्षअघि नेपालले चीनको बाटो तथा बन्दरगाहहरू प्रयोग गरि आयात-निर्यात गर्न पाउने गरि भएको उक्त पारवहन सम्झौताको प्रोटोकल तयार भएपछि अब चाँडै कार्यान्वयनमा आउने सरकारी अधिकारीहरूले बताएका छन्।
बीबीसी नेपाली सेवासँगको कुराकानीमा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा र बहुराष्ट्रिय ढुवानी व्यवसायमा संलग्न एकजना व्यवसायी राजन शर्माले चीनका बन्दरगाह प्रयोग गर्दा नेपालले भोग्नसक्ने केही चुनौतीहरूबारे बताए। ती केहीलाई तल प्रस्तुत गरिएको छ:
चुनौती
- प्रयोग गरिने भनिएका ६ वटा नेपाली नाकासम्म पुग्ने सडक वा रेल पूर्वाधार प्रभावकारी नभएकाले सहजै चीनबाट आयात निर्यात गर्न सक्ने अवस्था छैन।
- नेपालले हाल प्रयोग गरिरहेका भारतीय बन्दरगाहहरूको तुलनामा चीनका बन्दरगाहहरूको दूरी निक्कै टाढा छ। सबैभन्दा नजिकको भनिएको तियान्जेन बन्दरगाह पुग्न समेत करिब चार हजार किलोमिटर यात्रा गर्नुपर्छ।
- समुद्री ढुवानी सबैभन्दा सस्तो मानिन्छ। समुद्रीपछि रेल र त्यसपछि सडकबाट हुने ढुवानी मँहगा हुन्। चीनबाट आयात वा निर्यात गर्दा समुद्रको तुलनामा रेल र सडक धेरै प्रयोग गर्नुपर्छ। त्यसले आर्थिक भार बढाउन सक्छ।
- चीनले, तेस्रो मुलुकबाट आयात र निर्यात गर्दा नेपाली व्यवसायीले के- कस्ता प्रकृया पूरा गर्नुपर्ने प्रावधानहरू राख्छ त्यसमा पारवहनको सहजता निर्भर हुनेछ।
- भन्सार, ढुवानी र सामान हराउँदा दिइने क्षतिपूर्ती बारे चीनले परम्परागत पारवहन साझेदार भारतले जस्तो सहजीकरण नगर्न सक्छ।
- जापान र कोरिया बाहेक अन्यत्रबाट सामान ल्याउँदा वा पठाउँदा खासै सहज हुने जस्तो देखिदैन।
- नेपाली सवारी तथा व्यवसायीले अहिले चीनको भूमिमा सहज प्रवेश पाइरहेका छैनन्। यस्तै अवस्था जारी रहे यो सम्झौता कागजमै सीमित हुनसक्छ।
- हालसम्म प्रयोगात्मक रूपमा चीनतर्फको पारवहनको परीक्षण नै गरिएको छैन। त्यसले गर्दा कस्ता समस्या छन् भन्ने नै जानकारी नभएकाले तत्कालै ढुवानी सहज हुने देखिँदैन।
- समयका हिसाबले चीनबाट आयात गर्न किफायती हुने जस्तो देखिए पनि आर्थिक लागत भने बढी पर्ने सम्भावना छ।
- यसको रणनीतिक महत्त्व भएपनि व्यावहारिक हिसाबले भने धेरै खाले समस्या देखिन सक्छन्।