सङ्क्रमणकालीन सकसमा नेपाली क्रिकेट

  • निरञ्जन राजवंशी
  • सम्वाददाता, बीबीसी न्यूज नेपाली

एशिया कप छनोट क्रिकेट प्रतियोगितामा नमीठो हार बेहोर्दै फर्केका राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले टोलीको संरचनामा फेरबदल आवश्यकता भएको बताएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको रूपमा बढुवा भएपछि पहिलो ठूलो प्रतियोगिता खेल्दै गरेको नेपाली टोलीको अनपेक्षित हारपछि आलोचना खेपिरहेका खेलाडीहरूले परिवर्तन अपरिहार्य भइसकेको बताएका हुन्।

विश्लेषकहरूले यसलाई नेपालको वास्तविक अन्तर्राष्ट्रिय परीक्षाको शुरूवात मान्दै असफलताले ठूलो पाठ सिक्नुपर्ने औँल्याएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछिको पहिलो भ्रमणमा नेदरल्याण्ड्समाथिको प्रभावशाली विजयले एशिया कप छनोट खेल्न मलेसिया जानुअघि नेपाली टोलीसँग बेग्लै जोश थियो।

आमनेसामने

उपाधि जिते भारत र पाकिस्तानसँग इतिहासमै पहिलोपटक आमनेसामने हुने सुनौलो अवसर पाउँथ्यो।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतापछि नेपाल प्रतियोगिताको उपाधि जित्न सक्ने 'फेवरेट' टोली सूचीमा पनि थियो।

तर स्थिति ठीक विपरीत भयो।

ओमान, युएई र हङकङ जस्ता समान स्तरको मानिने प्रतिद्वन्द्वीसँग नमीठो हार बेहोरेपछि टोलीको सपना भताभुङ्ग मात्र भएन, कमजोरीका अनेक पाटाहरू छरपस्ट भएका छन्।

कप्तान पारस खड्काले त्यसलाई स्वीकारे र त्रिभुवन विमानस्थलमा ओर्लनासाथ भने, "हो हामीले क्षमताको ४० प्रतिशत पनि खेल्न सकेनौँ। एउटा कप्तान र खेलाडीका रूपमा म यो स्वीकार्छु। दोषी हामी आफैँ हौँ।"

दोष स्वीकार्नु एउटा विषय हो र आगामी यात्रामा हुनसक्ने सम्भावित चुनौतीको सामना गर्नु अर्को विषय।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताले नेपाली क्रिकेटको उचाइ त बढ्यो। तर के नेपाली खेलाडीहरू एकदिवसीय राष्ट्रहरूसँग भिड्न तयार छन्?

परीक्षा

विज्ञहरू भन्छन्, नेपाली टोली अब वास्तविक अन्तर्राष्ट्रिय परीक्षाका माझ उभिएको छ।

अब सो अनुरुप कदम चाल्नुपर्ने पूर्वकप्तान विनोद दासको भनाइ छ।

उनी भन्छन्, "यो त नमुना मात्र हो। अब हामी एकदिवसीय अन्तर्राष्ट्रियकै हैसियतमा तयार हुन सकेनौँ भने भोलिका दिन अझ कठिन बन्नेछ। अब पनि हामी खेल्छौँ र विपक्षीलाई जित्छौँ भन्ने जोश मात्र लिएर जाने हो भने राम्रो नतिजा आउन सक्दैन।"

भाग्य सधैँ दायाँ हुन सक्दैन। टेस्ट राष्ट्र छोड्ने हो भने पनि बाँकी वन डे राष्ट्रहरूको इतिहास कमजोर छैन।

नेपालीमाथि जित पाएका ओमान, यूएई र हङकङको तयारी विश्वस्तरीय भएको बताउँदै पूर्वकप्तान दासले थपे, "उनीहरु विपक्षीहरू कसरी आउट भएका छन्, कुन शैलीमा आउट भएका छन् भनेर अध्ययन गरेर बसिरहेका छन्। हामी जोश-जाँगर र टीमवर्कको कुरा गर्छौँ। अब हामी पनि त्यही अनुरुप तयारी गर्नैपर्छ।"

सुधार के मा त? जस्तै नेपालको ब्याटिङ सधैँ कमजोर मानिँदै आएको छ।

तर के त्यसमा प्रगति गर्ने प्रयास भएको छ?

राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक राजु बस्नेत भन्छन्, "विगत दुई वर्षमा नेपालले चारजना ब्याटिङ प्रशिक्षक बोलायो। तर त्यो दीर्घकालीन योजना वा प्रभावशाली नतिजा दिलाउने खाले भएन। यो समस्या हो। प्रशिक्षक लामो समयका लागि हुनैपर्छ।"

कमजोरी

ब्याटिङ त छँदैछ, समर्थकहरू भन्छन् एशिया कप छनोटमा त नेपाल हरेक क्षेत्रमा कमजोर देखिएको थियो।

जस्तै ठूलो रन रेट आवश्यक भइसकेको बेला मलेसिया र सिंगापुरको खेलमा प्रशिक्षक जगत टमाटा कतै हराए जस्तै देखिन पुगेको ठानियो।

झण्डै ४० प्रतिशत बल नेपालले 'डट' खेल्दा नेपाल फाइनल पुग्ने न्यून सम्भावनाबाट समेत टाढा हुन पुगेको स्पष्ट अनुमान गर्न सकिन्थ्यो।

आलोचना गर्नेहरू नेपाली टोलीको संरचनामा नै पुनर्विचार हुनुपर्ने समय आइसकेको बताउने गर्छन्।

नयाँ खेलाडीको आगमन स्वागत गर्दै पुरानामाथि मात्रै निर्भर हुने विगतबाट नेपाली क्रिकेट उम्किनुपर्ने उनीहरूको तर्क छ।

कप्तान पारसले विमानस्थलमा त्यसबारे स्पष्ट पार्ने खोज्ने क्रममा भने, "यो व्यक्ति होइन टीमको विषय हो। टीम बनाउनका लागि शायद नयाँ कप्तान नयाँ प्रशिक्षकको पनि आवश्यकता पर्नेछ। त्योबारे भोलि क्रिकेट बोर्ड बनेपछि कुरा होला। तर एउटा टीमको रूपमा अहिले कार्यशैलीमा केही परिवर्तन आवश्यक छ।"

५० ओभर

कतिपयको भनाइमा २० ओभरका केही उच्चस्तरीय प्रतियोगिताको घरमै आयोजना बढ्न थालेपनि ५० ओभरको प्रतियोगिताको खडेरी मुख्य समस्या हो।

भएका सीमित ५० ओभरको खेलमा पनि सिनियर खेलाडीहरू नखेल्ने जस्ता प्रवृत्ति देखिनुलाई अर्को समस्या मानिएको छ।

उनीहरु भन्छन्, अनुशासनका मामिलामा खेलाडीहरू दबाबमुक्त छन्। आधिकारिक निकाय नहुनुले यो प्रवृत्ति बढ्दो छ।

पूर्वकप्तान परेश लोहनीले भने, "पारस, ज्ञानेन्द्र, शरद जस्ता सिनियर खेलाडीले प्रधानमन्त्री कपलाई प्राथमिकता दिएको देखिएन। बहाना जे भए पनि यो राम्रो विषय हुन सक्दैन।"

प्रतिकूल परिस्थितिका बेला पनि नतिजा दिँदै विगतको क्रिकेट इतिहास दोहोर्‍याउनु खेलाडीहरूको बाध्यता हुनसक्छ।

एकदिवसीय अन्तर्राष्ट्रियको हैसियतमा पुग्ने यात्रा दौरान नेपालले बारम्बार त्यसलाई प्रमाणित गरिसकेको छ।

इतिहासमै रमाउने नभइ थप इतिहास रच्न आइसीसीको सीमित सहयोगमा अल्झिएको नेपाली राष्ट्रिय टोली अभिभावकविहीन स्वरुपबाट भने मुक्त हुनैपर्ने देखिन्छ।

रणनीति

र, विपक्षीभन्दा तगडा रणनीति बुन्नैपर्छ।

नेपाली टोलीसँग यो वर्ष ५० ओभरको ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू छैन।

अब हुने खेलहरू एकदिवसीय अन्तर्राष्ट्रिय अन्तरदेशीय खेलहरू मात्र हुनेछन्। जसको पक्का मिति तय भइसकेको छैन।

नेपालले अब २० ओभरको विश्वकप उपक्षेत्रीय छनोट प्रतियोगिता आगामी अक्टोबरको पहिलो हप्ता मलेशियमा नै खेल्दैछ।

त्यहाँ नेपालले एशिया समूह बी मा मलेशिया, भुटान, म्यान्मार, चीन, सिंगापुर र थाइल्याण्डसँग खेल्नेछ।

अनुमान गर्न सकिन्छ यी प्रतिद्वन्द्वीहरू नेपालका लागि सहज हुनेछन् र विजयी नतिजाले हालको नमीठो पराजय बिर्सिनेछन्।

र, जितसँगै नेपाली टोलीको वाहवाही फेरि शुरू हुनेछ।

तर टोलीलाई बेला-बेला सम्झाइरहनुपर्ने विषय के हो भने नेपाललाई जिल्याँउदै एकदिवसीय मान्यता गुमेको हङकङले एशिया कपमा भारत र पाकिस्तानसँग खेलेको छ।