‘हराएको हेलिकोप्टर धादिङमा हुनसक्छ’

बीबीसी

गोरखा जिल्लाबाट काठमाण्डू फर्कँदै गर्दा शनिवार बिहानैदेखि सम्पर्कविहीन भएको एल्टिट्युड एयरलाइन्सको हेलिकोप्टर धादिङ जिल्लामा भएको थाहा हुन आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बीबीसीलाई बताएका छन्।

बिहान सम्पर्कविहीन भएदेखि नै खोजी कार्य जारी राखिएको र त्यो क्षेत्रतर्फ खोजीका लागि एल्टिट्युड एयरलाइन्सकै अर्को हेलिकोप्टर पनि गएको क्षेत्रीले बताए।

"धादिङको सत्यवती गाउँपालिकामा उक्त हेलिकोप्टर छ भन्ने चाहिँ 'ट्रेसआउट' भएको छ," क्षेत्रीले बीबीसीलाई भने, "उक्त हेलिकोप्टरसँग बिहान ८ बजेर ५ मिनेटमा अन्तिम सम्पर्क भएको थियो।"

उक्त हेलिकोप्टरमा एक पाइलटसहित सातजना सवार थिए, जसमध्ये एक जापानी नागरिक भएको क्षेत्रीले बताए।

आशङ्का

धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले आशङ्का गरिएको क्षेत्रमा उद्धारका लागि सेना र प्रहरी गइसकेको बीबीसीलाई बताए।

"एल्टिट्युड एयरलाइन्सकै अर्को हेलिकोप्टर उद्धारका लागि जाँदा कुहिरोले खोजी कार्यलाई बाधा पुर्‍याइरहेको सुनिएको छ," उनले बीबीसीलाई भने।

"धादिङको सत्यवती गाउँपालिकामात्रै नभएर नुवाकोटको मियाङ गाउँपालिका १ मा पनि हो कि भन्ने आशङ्का गरिएको छ।"

शङ्का गरिएका दुवै क्षेत्रमा उद्धारका लागि सेना र प्रहरी गइसकेको पाण्डेयले बताए।