मन्त्री हेरफेर नहुने प्रधानमन्त्रीको सङ्केत

तस्बिर स्रोत, RSS
कतिपय मन्त्रीहरुको काम सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने खबरहरू आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको खण्डन गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकै एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत केही दिन अघि मात्र केही पत्रकारहरूसँगको भेटमा त्यस्तो जनाउ दिएको बताइएको थियो।
तर, काठमाण्डूमा शनिबार भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल फेरफेरको चर्चा सरकारलाई अलोकप्रिय बनाउने उद्देश्यले चलाइएको बताए।
जिल्ला समन्वय समिति महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले सरकारलाई अलोकप्रिय बनाउन विभिन्न हल्ला फिँजाइने गरेको बताए।
खण्डन
मन्त्रिमण्डल हेरफेर हुनसक्ने भनी आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्डले दिएको भनिएको अभिव्यक्तिको खण्डन हुने गरी ओलीले त्यसलाई हल्ला मात्र भएको बताए।
उनले भने, "मन्त्रीहरू निकालिदैँछन् भन्दै छन्। केही हुनेवाला छैन, मन्त्रीहरूले राम्ररी काम गर्नुभएको छ। यहाँ त भदौमा चर्को घाम लाग्यो, के भएको यो सरकार? भन्नेहरू पनि छन्।"
ओलीको अभिव्यक्तिलाई तत्कालै मन्त्री हेरफेर गर्ने सोचमा सरकार र सत्तारूढ पार्टी नरहेको सङ्केत ठानिएको छ।
तर, सरकारका केही मन्त्रीका काम कारबाहीमा प्रश्न उठाइँदै आएको छ। र, त्यसैलाई आधार बनाएर सिङ्गो सरकारको क्षमताबारे समेत सार्वजनिक रुपमा असन्तुष्टि प्रकट हुने गरेका छन्।
आश्वासन
प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा आउने गरेका त्यस्ता असन्तुष्टितर्फ लक्षित गर्दै वर्षौँदेखि हिलो र धूलोमा बसिरहेका जनताले अब त्यस्तो समस्या भोग्नुनपर्ने बताए।
तस्बिर स्रोत, RSS
यसै साता सिन्धुलीमा भएको एउटा कार्यक्रममा बोल्दै प्रचण्डले समेत प्रधानमन्त्रीसँग बसेर छलफल गरी चाँडै नै काठमाण्डूका सडकहरू मर्मत गर्ने योजना बनाइरहेको बताएका थिए।
आफ्ना आलोचकहरूविरुद्ध तिखो प्रहार गर्ने स्वभाव शैलीका प्रधानन्त्री ओलीले शनिवार पनि त्यस्तै टिप्पणी गरे तर, कतिपय मन्त्रीले गरेका भनिएका विवादित काम र कतिपयको प्रभावकारी हुन नसकेको कार्यसम्पादनबारे केही उल्लेख गरेनन्।