एक मुगल महारानी जो नारीवादकी प्रतीक भइन्

नुर

तस्बिर स्रोत, PENGUIN

साम्राज्ञी नुर जहाँ १७ औँ शताब्दीमा भारतमा सबैभन्दा शक्तिशाली महिला थिइन्। बृहत्तर मुगल साम्राज्य सञ्चालनमा उनले अभूतपूर्व भूमिका निर्वाह गरिन्। उनको नेतृत्व क्षमताको इतिहास बुझ्न अहिले किन आवश्यक छ भनी इतिहासविद् रुबी लालले वर्णन गरेका छन्।

जन्मिँदा उनको नाम मिर उन-निसा राखिएको थियो र पछि उनका मुगल सम्राट श्रीमान्‌ जहाँगीरले उनको नाम नुर जहाँ राखे। नुर जहाँको अर्थ हो- संसारको ज्योति।

उनको जन्म महारानी एलिजावेथ प्रथम जन्मेको केही दशकपछि भएको थियो। तर उनले आफ्नी ब्रिटिश समकक्षीले भन्दा अझ बढी विविधतायुक्त भूभागमा शासन गरिन्।

१६ औँ शताब्दीको शुरूतिर सत्तामा आएपछि मुगलहरूले भारतीय उपमहाद्वीपको धेरै स्थानमा ३०० वर्षभन्दा बढी समय वर्ष शासन गरे।

शक्तिशाली

त्यो भारतको सबैभन्दा ठूलो र शक्तिशाली वंश थियो।

मुगल वंशका धेरै सम्राट तथा नुर जहाँसहितका शाही महिलाहरू कला, संगीत र वास्तुकलाका संरक्षक थिए।

उनीहरूले ठूला शहरहरू बसाए र शाही किल्ला, मस्जिद र मकबरा अर्थात् चिहानहरू बनाउन लगाए।

र, मुगल वंशको एकमात्र शासक नुर जहाँको चर्चा भारत, पाकिस्तान र बांग्लादेशका लोकसाहित्यमा व्याप्त छ।

खासगरी नुर जहाँले शासन गरेको मुगलकालका दुई महत्त्वपूर्ण शहरहरू उत्तरी भारतको आगरा र उत्तरी पाकिस्तानको लहोरमा, घरमा र स्मारकहरू नजिक नुर जहाँ बारेका कहानीहरू व्याप्त छन्।

वृद्ध महिला तथा पुरुष, पथप्रदर्शक र इतिहासका प्रशंसकहरू सबैले नुर र जहाँगीरको भेट कसरी भयो र उनीहरू कसरी प्रेममा परे; कसरी उनले एउटा नरभक्षी बाघबाट एउटा गाउँलाई जोगाइन् (हात्तीमाथि सवार उनले आफ्नो आसनबाटै गोली हानेर त्यो बाघलाई मारिदिएकी थिइन्) भन्नेबारे कहानी सुनाउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

राजकुमारी डायना 'हृदयकी रानी'

नुर जहाँको प्रेमकथा, असामान्य कुरा, बहादुरीका कथा सुने पनि उनको बहुआयामिक दुनियाँ, राजनीतिक दूरदर्शिता र शक्तिशाली महत्त्वाकांक्षाबारे मानिसहरूले थोरै मात्र थाहा छ।

उनी एक चित्ताकर्षक महिला थिइन् जो असाधारण सम्भावनाका माझ शासन सम्हाल्न पुगिन्।

नुर एक कवयित्री थिइन्, एक अब्बल शिकारी र एक वास्तविक वास्तुविद् थिइन्।

असाधारण

आगरामा उनले दिएको आफ्ना आमाबुवाको चिहानको स्वरूपले पछि ताजमहल बनाउन अभिप्रेरित गर्‍यो।

पुरुषहरूको वर्चस्व रहेको संसारमा उदाएकी एक असाधारण नेत्री नुर राजघरानाबाट आएकी थिइनन्।

तथापि उनी सम्राटको महलको महिला कक्षबाट उठेर एउटा चलाख राजनीतिज्ञको रूपमा उदाइन्, जहाँगीरकी प्रिय पत्नी भइन् र सह-सम्प्रभु भएर बृहत्तर मुगल साम्राज्य सञ्चालन गरिन्।

सार्वजनिक जीवनमा महिलाले विरलै स्थान पाउने समयमा नुर जहाँ चाहिँ कसरी शक्तिशाली भइन् त?

नुर जहाँको हुर्काइबढाइबारे भन्नुपर्ने धेरै कुरा छन्, सहयोगी पुरुष र महिलामाझ बितेको उनको समय, जहाँगीरसँगको विशेष सम्बन्धमा उनी रमाएका कुरा, उनका महत्त्वाकांक्षा र उनको भूमि र त्यहाँका मानिसका कुरा।

अल-हिन्द (सिन्धु नदी परको भूभाग जसलाई अरब र पर्सियनहरूले त्यतिबेला उत्तरी भारत भन्थे) ‍को संयुक्त, सम्पन्न र सहिष्णु संस्कारले फरक अनुभवहरू, धर्म र सहअस्तित्व सिकायो।

तस्बिर स्रोत, RAMPUR RAZA LIBRARY

सन् १५७७ मा कान्दहारमा (जुन अहिले अफगानिस्तानमा पर्छ) एउटा चिरपरिचित पर्सियन उच्च परिवारमा नुर जहाँको जन्म भएको थियो।

साफाभिद वंश शासनमा रहेका बेला बढ्दो असहिष्णुताका कारण इरानबाट उनको परिवार बढी उदार रहेको मुगल शासनमा शरण लिन पुगेको थियो।

आफ्ना आमाबुवाको जन्मथलोको र उनीहरू पुगेको नयाँ ठाउँको मिश्रित रहनसहनमा हुर्केकी नुरले सन् १९९४ मा पहिलो पटक एक मुगल सरकारी अधिकारी तथा पूर्वसैनिक अधिकारीसँग बिहे गरिन्।

पूर्वी भारतको एउटा सम्पन्न प्रान्त बंगालमा उनी आफ्ना श्रीमान्‌सँगै त्यहाँ गइन्, जहाँ उनले आफ्नो एकमात्र बच्चाको जन्म दिइन्।

कलाप्रेमी

जहाँगीरविरुद्धको एउटा षड्यन्त्रमा संलग्न रहेको आशङ्कामा सम्राटले नुरको श्रीमान्‌लाई तत्कालीन आगरास्थित शाही अदालतमा उपस्थित गराउन बंगालका गर्भनरलाई आदेश दिए।

तर गर्भनरका मानिसहरूसँगको युद्धमा नुरका श्रीमान् मारिए। विधवा नुरलाई जहाँगीरको राजमहलस्थित महिला कक्षमा शरण दिइयो, जहाँ बिस्तारै उनलाई अरू महिलाले विश्वास र उनको प्रशंसा गर्न थाले।

सन् १६११ मा जहाँगीरसँग उनको विवाह भयो, उनी जहाँगीरकी २० औँ तथा अन्तिम श्रीमती भइन्।

सन् १६१४ अघिको जहाँगीरको संस्मरणमा नुरसँगको उनको विशेष सम्बन्धबारे उल्लेख छ।

र, जहाँगीरले एक संवेदनशील सहयात्री, एक उत्कृष्ट सेविका, एक निपुण सल्लाहकार, एक दक्ष शिकारी, एक कूटनीतिज्ञ र एक कलाप्रेमीको रूपमा प्रशंसा गर्दै नुरको एउटा चित्र बनाए।

धेरै इतिहासविद्‌हरूका अनुसार जहाँगीर एक बिरामी र जँड्याहा थिए, जसमा शासनसत्तामा ध्यान दिनसक्ने सामर्थ्य थिएन।

र, सोही कारण उनले नुरलाई राजकाज सुम्पिदिए। तर यो नै समग्र रूपमा सत्य होइन।

तस्बिर स्रोत, SM MANSOOR

हो, सम्राट जँड्याहा थिए र उनले अफिम सेवन गर्थे। हो, उनले आफ्नी श्रीमती नुरलाई औधी माया गर्थे। तर त्यही कारणले नुर चर्चा गर्न लायक शासक बनेकी होइनन्।

खासमा नुर र जहाँगीर एकअर्काका परिपूरक थिए र सह-सम्प्रभुका रूपमा आफ्नी श्रीमतीले प्रभाव बढाउँदै लग्दा सम्राटले कहिल्यै त्यसबाट असजिलो अनुभव गरेनन्।

बिहेको थोरै समयपछि नुरले कामदारहरूको भूमि अधिकारको रक्षासम्बन्धी पहिलो शाही आदेश जारी गरिन्।

साहसिक

उनको हस्ताक्षरमा लेखिएको छ- नुर जहाँ पदशाह बेगम जसको अर्थ हुन्छ नुर जहाँ, महिला सम्राट। त्यो उनी सम्प्रभु र शक्तिशाली हुँदै गएको सङ्केत थियो।

सन् १६१७ मा एकापट्टि जहाँगीर र अर्कोपट्टि नुरको नाम भएका सुन र चाँदीका सिक्का प्रचलनमा आए।

अदालतका वक्ताहरूले, विदेशी कूटनीतिज्ञ, व्यापारी र आगन्तुकहरूले बिस्तारै नुरको पृथक हैसियतलाई ख्याल गर्न थाले।

राजसभामा उपस्थित एकजनाका अनुसार नुरले त्यतिबेला धेरैलाई आश्चर्यमा पारिन् जब पुरुषहरूका लागि छुट्टयाइएको विशेष स्थानमा उनी देखा परिन्।

तस्बिर स्रोत, SILVER

यो अवज्ञा मात्र गर्ने उनको कदम थिएन।

शिकार गरेर, शाही आदेश र सिक्काहरू जारी गरेर, सरकारी भवनहरूको स्वरूप तयार पारेर, गरीब महिलाहरूलाई सहयोग गर्ने कदमहरू चालेर अथवा अवसरबाट वञ्चितहरूका लागि काम गरेर नुर त्यतिबेलाका महिलाले भन्दा भिन्दै जीवन बाँचिन्।

सम्राटलाई बन्धक बनाइएका बेला उनलाई जोगाउन नुरले सेनाको नेतृत्व पनि गरिन्, एउटा साहसिक काम जसले उनको नाम मानिसको कल्पनामा र इतिहासमा सधैँका लागि कोरियो।

इतिहासविद् रुबी लाल मरी विश्वविद्यालयमा पढाउँछन् र उनको हालै 'इम्प्रेसः द एस्टोनिशिङ्ग रेन अफ नुर जहाँ' नामक पुस्तक प्रकाशित भएको छ।