हर्न निषेध नियम पालना नहुनुमा को जिम्मेवार?

  • 9 सेप्टेम्बर 2018
हर्न निषेध

सुरुवाती दिनमा काठमाडौं महानगरमा हर्न निषेधको नियम लागु भएको देखिए पनि पछिल्ला समय चालकको लापरवाहीका कारण सवारी साधनका हर्न प्रशस्त सुनिन थालेको ट्राफिक प्रहरीका अधिकारीहरूले बताएका छन्।

२०७४ साल वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा सवारी साधनका हर्न निषेध गरिएको थियो।

तर चालकहरु भन्छन् कुनै कुनै स्थानमा हर्न नबजाइ सुखै छैन।

काठमाडौं उपत्यकामा सवारी साधनका हर्न बजाउन नपाइने नियम लागेको करिब १७ महिना भयो।

नियम लागु भएको केही महिनासम्म सवारी साधनका हर्न कमै सुनिए। तर अहिले आएर सर्वसाधारण भन्छन् उक्त नियम खासै पालना भएको पाइँदैन।

निषेधको १७ महिना

सर्वसाधारणका अनुसार विशेषगरि सार्वजनिक सवारी साधनले ज्यादा हर्न बजाइरहेका हुन्छन्।

सडक छेउछाउका अस्पतालहरूमा समेत हर्नको चर्को आवाजको प्रत्यक्ष असर बिरामीहरूमा परिरहेको अस्पतालका कर्मचारीहरू बताउँछन्।

एकजना सर्वसाधारण पूर्णमाया थापा मगर आफ्नै कोठासम्म सवारी साधनका हर्न सुनिँदा दिक्क लाग्ने गरेको बताउँछिन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
ध्वनी प्रदुषणप्रति चिन्ता

थाहा हुन गाह्रो

उनले भनिन्, 'गाडीका हर्नले एकदम अप्ठेरो बनाउँछ। फोन गर्न पाइँदैन। कोठासम्म आवाज आइपुग्दा झन् समस्या हुन्छ।'

तर हर्न कुन सवारी साधनले बजाइरहेको छ भनेर थाहा पाउन पनि गाह्रो हुने गरेको एकजना ट्राफिक प्रहरी निरीक्षक निरु दुवाल बताउँछिन्।

दुवाल भन्छिन्, 'हामीलाई कठिन हुन्छ। ट्राफिक व्यवस्थापनका लागि अर्को पट्टि फर्केका बेला हर्न बजाइराखेका हुन्छन्।'

सवारी साधनका चालकहरूले चाहिँ हर्न बजाउनका आफ्नै बाध्यता सुनाउने गरेका छन्।

चालकको लापरवाही

एकजना माइक्रोबसका चालक छविलाल श्रेष्ठ भन्छन्, 'घुम्तीमा हर्न बजाउनुपर्छ। कुनैबेला बाइकहरूले संकेत नदिँदा पनि हर्न बजाउनुपर्छ।'

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हर्न निषेधको नियम लागु भए यता काठमाडौंमा करिब २६ हजार सवारी साधनलाई कारबाही गरिएको छ।

तर पनि हर्न निषेध पालना पूर्ण रुपमा नहुनुमा चालकको लापरवाही ठान्छन् काठमाडौंका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्त।

उनले भने, 'हर्न निषेध केका लागि भन्ने कुरा थाहा नपाउनेले बजाउँछन्। यसका बारेमा सामान्य ज्ञान नभएकाहरूले बजाइरहेका हुन्छन्। एकजनाले बजाएपछि अरुले बजाउने परम्परा पनि छ।'

कारबाही स्वरुप ट्राफिक प्रहरीले हर्न बजाए वापत पाँचसय रुपैयाँ जरिवाना गरेर छोडिदिने गरेको छ।

सम्बन्धित सामग्री